गण्डकी प्रदेशमा साउनको पहिलो सातासम्म करिब ८४ प्रतिशत धान रोपाई सकिएको छ। गण्डकी प्रदेशमा साउन ६ गतेसम्ममा ८४.२६ प्रतिशत मात्र धान रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ।
गण्डकीमा ९६ हजार ५३ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म ८० हजार ९ सय ३२ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको निर्देशनालयका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए।गण्डकीमा कास्की र बागलुङमा सबैभन्दा धेरै समान ९५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ। त्यस्तै सबैभन्दा कम गोरखामा ५४.७३ प्रतिशत धान रोपाईं भएको सूचना अधिकारी शर्माले बताए।
उनका अनुसार तनहुँ र नवलपुरमा समान ९२ प्रतिशत, स्याङजामा ८५ प्रतिशत, पर्वतमा ८० प्रतिशत, लमजुङमा ७९ प्रतिशत र म्याग्दीमा ६९.३६ प्रतिशत धान रोपाई भएको छ। गण्डकीका धान हुने ९ जिल्ला मध्ये नवलपुरमा १७ हजार २ सय १८ हेक्टर, कास्कीमा १५ हजार ४ सय ९ हेक्टर, स्याङजामा १२ हजार २ सय ३२ हेक्टर, लमजुङमा ९ हजार ३ सय ८१ हेक्टर, तनहुँमा ७ हजार ६० हेक्टर, पर्वतमा ६ हजार २० हेक्टर, गोरखामा ५ हजार ५ सय ५८ हेक्टर, बागलुङमा ५ हजार ४ सय २२ हेक्टर र म्याग्दीमा २ हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको निर्देशनालयकी कृषि अधिकृत रन्जना पोखरेलले जानकारी दिईन्। गण्डकीका ११ जिल्लामध्ये हिमालपारीका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन।
प्रकाशित: ७ श्रावण २०८१ १७:२४ सोमबार