२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन बाह्रमासे हुन नसक्नुमा सरकार जिम्मेवार

पछिल्लो समय देखिएको आर्थिक मन्दीले पर्यटनसम्बद्ध व्यवसाय क्रमशः ओरालो लागिरहेको बेला ‘अफ सिजन’ले पर्यटन व्यवसायीहरू थप मारमा परेका छन्।

नेपालमा वसन्त ऋतु (मार्च, अप्रिल र मे) र शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) बाहेक गृष्म ऋतु (जुन, जुलाई, अगस्ट) र शिशिर ऋतु (डिसेम्बर, जनवरी, फेब्रुअरी)मा विदेशी पर्यटकहरू खासै भित्रिँदैनन्। मुलुकमा पर्यटक नभित्रिएपछि गृष्म र शिशिर ऋतुमा पर्यटन क्षेत्र सम्बद्ध व्यवसाय निस्क्रिय रहन बाध्य हुन्छन्।

नेपाल सानो तर पर्यटनका दृष्टिले प्रशस्त संभावना भएको देश भए पनि यसतर्फ नीतिनिर्माताहरूले ध्यान दिन नसकेका कारण पर्यटन क्षेत्र थप मारमा परेको व्यवसायीको बुझाइ छ। अहिले वर्षा ऋतु भएका कारण त्यतिसाह्रो पर्यटक नआउने बताउँदै होटल एसोसियसन नेपालका सचिव तथा पर्यटन व्यवसायी साजन शाक्यले यस्तो समयमा समेत घुम्न मिल्ने मनप्रिय परिदृश्य भएका ठाउँहरू नेपालमा प्रशस्त रहेको भएको बताए।

‘सिजनमा थामिनसक्नु पर्यटक आएझैं गरी सरकार ‘अफ सिजन’ भनेर ढुक्क भएर बसेको छ, यता व्यवसाय भने चौपट भइसकेको छ’, उनले भने, ‘समर सिजनका पर्यटकीय स्थानहरूलाई पहिचान गरेर प्रचारप्रसार गर्नुपर्‍यो नि ! सरकारको ध्यान त्यता छँदैछैन्।’

वर्षा ऋतुमा लङ ट्रेकिङ रूट र हिमालय क्षेत्रहरू कम चल्ने भए पनि छोटो दूरीका पदमार्ग, उपत्यका भित्रैका सम्पदा क्षेत्रहरू, समर सिजनमा हुने कार्यक्रमहरू सम्मिलित नयाँ नयाँ विकल्पसहितको योजना ल्याएर विश्वमा प्रचारप्रसार गरी देशमा बाह्रै मास पर्यटक भित्र्याउनु आजको आवश्यकता रहेको उनले बताए।

पर्यटन क्षेत्रको योगदान मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत मात्र देखिए पनि वास्तवमा अप्रत्यक्ष रूपमा १० प्रतिशतसम्म योगदान रहेको दाबी गरे। ‘सरकारको ध्यान टिकट बुकिङ, र होटल बसेका पर्यटकमा मात्र केन्द्रित छ। जबकि प्रत्यक्ष राजस्वमा देखिने तर पर्यटकले खाने, डुल्ने, सामान किन्ने जस्ता गतिविधिमा गरेका खर्चहरूको प्रत्यक्ष रेकर्ड हुँदैन्।’

उनले भने, ‘होटलमा बसेको भन्दा १० गुणा बढी त पर्यटकले बाहिर निस्किँदा खर्च गरिरहेका हुन्छन्।’ सरकारले नै पर्यटन क्षेत्रलाई वेवास्ता गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको बुझाइ छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विश्वको गोलार्धमा क्षेत्रफलको हिसाबले नेपाल सानो मुलुक भए पनि भौगोलिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधताले नेपाल एकदमै धनी भएको बताउँदै यी सबै विविधतालाई पर्यटन प्रबद्र्धनको लागि सरकारले प्रयोग गर्नुपर्ने बताए। ‘मुलुकको सुन्दरता र विविधताबाट हामीले कत्ति पनि फाइदा लिन सकेका छैनौं ।’ सरकारलाई पर्यटनको शक्तिबारे ज्ञान नभएको वा अरू झिना मसिना कुरामै अल्झिएको हो? उनले प्रश्न गरे।

‘अहिले देखिएको परिधिबाहिर चिहाएर हेर्न सके मुलुकमा सम्भावनाका खात छन्, त्यसको उपयोग गर्ने वातावरण नबन्दा व्यवसायी त मर्कामा परेकै छन्, सरकार पनि राजस्वका नयाँ क्षेत्र पहिल्याउन चुकेको छ’, शर्माले भने, ‘पानी पर्ने बेलामा सोही अनुसारका पर्यटक भित्र्याउनु कार्ययोजना बनाउनुपर्‍यो, समर सिजन भनेर ढुक्कले बस्ने होइन।’

उनले थपे, ‘हामीले गर्मीको समयमा हिमाल पुग्न चाहने पर्यटकका लागि कार्ययोजनाहरू बनाउनु पर्छ। जाडोमा तराईका पर्यटकीय क्षेत्रहरूको प्रबद्र्धन गर्नुपर्छ।’ नेपालको पर्यटनलाई अल सिजन बनाउन कार्ययोजना बनाएर सोही अनुरूप सरकारले काम गर्नुपर्छ। भौगोलिक विविधता रसास्वादन गराउन सक्ने गरी मुलुकको पर्यटनलाई ‘अल सिजन’ बनाउनुपर्छ।’

पर्यटन क्षेत्रले व्यापार, वैदेशिक मुद्रा आर्जन, कनेक्टिभिटी, आर्थिक वृद्धि, रोजगारी वृद्धि, जीवनस्तरमा सुधार, गरिबी न्यूनीकरण र दुर्गम स्थानमा बस्ने समुदायको जीवन रेखा परिवर्तन गर्न सक्षम बनाउँछ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी गर्न नसक्नु पनि मुलुकको पर्यटनलाई अल सिजन बनाउन नसक्ने अर्को कारण भएको बताए । उनले सातै प्रदेशमा हवाई कनेक्टिभिटी बढाउन सके मुलुक पर्यटनले नै धान्ने बताए।

‘हवाई यातायात बिना पर्यटन क्षेत्रको वृद्धि कल्पना गर्नु बेकार  । पर्यटकलाई द्रुत गतिमा र सहज घुमफिर गर्न हवाई यातायात विना सम्भव छैन । जति धेरै हवाई उडानहरू हुन्छन्। त्यति धेरै एक स्थानदेखि अर्को स्थानमा घुमघाम गर्न सहज हुन्छ।’

अध्यक्ष श्रेष्ठले भने, ‘हवाई यात्राले पर्यटन उद्योगमा महत्त्वपूर्ण प्रभाव पार्छ । पर्यटनक्षेत्रले जिडिपीको वृद्धि, र अन्तर्राष्ट्रिय व्यापारमासमेत योगदान पुर्‍याएको छ। आर्थिक विकासमा पनि यसको भूमिका निर्विवाद छ।

यसले पर्यटन उद्योगको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’ उनले भूकम्पअघि पर्यटन क्षेत्रमा हाइ सिजन र लो सिजन मात्र भएकोमा कोभिडपछि भने पर्यटन क्षेत्र धराशायी भएको हुन पुगेको बताउँदै पर्यटन क्षेत्र सिजन र अफ सिजनमा चल्न भएको बताए। यसैक्रममा उनले अहिलेको अफ सिजनमा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई केही राहत दिएको पनि बताए।

पर्यटनमा करिब १९ लाख रोजगारी हवाई मार्गबाट आउने पर्यटकले धानेको बताइन्छ। यसमा होटल, रेस्टुरेन्ट, होमस्टे, स्थानीय यातायात, कार भाडा लगायतका रोजगारीहरू समावेश छन्।

यस्तै एउटा सरकारको पालामा बनेको पर्यटन सम्बन्धी कार्ययोजना अर्को सरकारले निरन्तरता नदिने, मिलेर पर्यटन वृद्धि गर्नेभन्दा पनि  सरकार एकातिर निजी क्षेत्र अर्कोतिर भएकाले पर्यटन प्रबद्र्धनको काम गर्ने, सरकारी कामकारबाही एकदमै ढिलो गर्ने प्रवृत्ति, पर्यटन सम्बन्धी नीति नियम समयानुकूल नहुनु जस्ता विविध पक्षमा राज्य कमजोर भएका कारण मुलुकको पर्यटन अल सिजन हुन नसकेको व्यवसायीको बुझाइ छ।

प्रकाशित: १६ असार २०८१ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App