१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

इलामका आठ पालिकाले गरे बजेट पारित

इलामको माइजोगमाई गाउँपालिकाको गाउँ सभा।

इलामका १० मध्ये आठ पालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन्। दुई पालिकाले निर्धारित समयमा बजेट पेस गरी छलफल गरिरहेका छन्।

कानुनअनुसार असार १० भित्र सभामा बजेट पेस गर्नुपर्ने भएपछि सबै पालिकाले बजेट पेस गरे। इलाम, देउमाई, माई, सूर्याेदय नगरपालिका तथा रोङ, माइजोगमाई, चुलाचुली, माङ्सेबुङ गाउँपालिकाले भने निर्धातिर समयअघि नै बजेट, नीति र कार्यक्रम पारितसमेत गरिसकेका छन्। सन्दकपुर र फाकफोकथुम गाउँपालिकाले पेस भएको बजेट, नीति र कार्यक्रममा छलफल गरिरहेका छन्।

सूर्योदय नगरपालिकाले एक अर्ब ४१ करोड ४६ लाख रुपैयाँको आय–व्यय पारित गरेको छ। नगरसभाको १५ औं अधिवेशनको पाँचौँ बैठकले वार्षिक बजेट, नीति र कार्यक्रम पारित गरेको नगर प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिए।

उपमेयर दुर्गाकुमार बरालले पेस गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सभाले पारित गरेको हो। नगरपालिकाले क्षेत्रगत रूपमा आर्थिक विकासको क्षेत्रमा १० करोड ५७ लाख ५७ हजार, सामाजिक विकास क्षेत्रमा ४९ करोड ३७ लाख २२ हजार, पूर्वाधार विकासको क्षेत्रमा २६ करोड ४१ लाख २९ हजार, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा छ करोड ८० लाख तीन हजार तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १६ करोड ३० लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ।

नगरपालिकाले गरेको विनियोजनमध्ये चालु खर्चतर्फ ६४.२८% र पूँजीगत खर्च तर्फ ३५.७२% अनुमान गरिएको छ। राजस्व असुलीबाट छ करोड ८७ लाख ५० हजार, राजस्व बाँडफाँटबाट १८ करोड ३९ लाख ७६ हजार, संघीय सरकारबाट ६३ करोड २१ लाख ११ हजार, प्रदेश सरकारबाट चार करोड ४१ लाख ८२ हजारसमेत गरी ९२ करोड ९० लाख १९ हजार रुपैयाँ प्राप्त हुने अनुमान नगरको छ।

माई नगरपालिकाको १५औं अधिवेशनले ६० करोड ९२ लाख एक हजार रुपैयाँको आय–व्यय पारित गरेको छ। नगर सभा अध्यक्ष तथा मेयर खम्बासिंह लिम्बूले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपमेयर हिमा भण्डारीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिन्।

सभाले आर्थिक आयतर्फ संघीय समानीकरणमा ११ करोड ४८ लाख, प्रदेशतर्फ ७० लाख ८९ हजार, राजस्व बाँडफाँट सङ्घमा ११ करोड ७२ लाख, प्रदेशमा ६० लाख ८४ हजार, समपूरक सङ्घमा ५५ लाख, प्रदेशमा एक करोड ३० लाख अनुमान गरेको छ।  ससर्त संघतर्फ २३ करोड ६७ लाख ५८ हजार, प्रदेशतर्फ एक करोड ३५ लाख तीन हजार र आन्तरिक नौ करोड ४३ लाख ६६ हजार गरी ६० करोड ८३ लाख एक हजार आय अनुमान गरेको छ।

सभामा आगामी वर्षको व्ययतर्फको क्षेत्रगत अनुमानित विनियोजन बजेटअन्तर्गत आर्थिक विकासतर्फ शिक्षा, पशु, सहकारी, उद्योग, पर्यटन क्षेत्र विकासका लागि दुई करोड ५५ लाख ५० हजार, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लक्षित समूह विकासतर्फ पाँच करोड ६३ लाख ४० हजार रुपैयाँ अनुमानित छ।

पूर्वाधार विकासतर्फ सडक, झोलुङ्गे पुल, सिँचाइ, भवन आदिका लागि नौ करोड १६ लाख ४० हजार, वन, वातावरण, तथा विपद् व्यवस्थापनतर्फ सामुदायिक वन, भू–संरक्षण तथा जलाधार संरक्षण, फोहोर मैला व्यवस्थापन, प्रकोप नियन्त्रण, आदिका लागि एक करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

रोङ गाउँपालिकाले पनि ५५ करोड ५२ लाख ४५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ। १७औं गाउँ सभामा उपाध्यक्ष विष्णुमाया खवासले आउँदो वर्षको बजेट र कार्यक्रम पेस गरिन्। रोङ गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायतको खेतीसहित कृषिमा अनुदानका कार्यक्रमसहितको बजेट ल्याएको छ।

माइजोगमाई गाउँपालिकाले ४५ करोड ५१ लाख ६३ हजार रुपैयाँको आय–व्यय अनुमान पारित गरेको छ। १६औं गाउँ सभामा उपाध्यक्ष प्रविना राईले आउँदो वर्षको आय–व्यय अनुमान पेस गरिन्। राईका अनुसार आउँदो वर्षका लागि आर्थिक विकासतर्फ एक करोड छ लाख, पूर्वाधार विकासमा सात करोड ६७ लाख, सामाजिक विकासमा दुई करोड ३६ लाख रुपैयाँ विनियोजित छ। 

वन, वातावरण तथा विपद् व्यवस्थापनमा १० लाख, सामान्य सार्वजनिक सेवा, क्षमता विकास, सुशासन र सदृढीकरणतर्फ आठ करोड ३० लाख ७५ हजार, अन्य विविध कार्यक्रमतर्फ एक करोड २० लाख रुपैयाँ विनियोजित छ।

माङसेबुङ गाउँपालिकाले ४७ करोड सात लाख रुपैयाँको बजेट, नीति र कार्यक्रम पारित गरेको छ। गाउँ भाको १५ औँ अधिवेशनले बजेट, नीति  कार्यक्रम पारित गरेको हो। सभामा उपाध्यक्ष विनोदकुमार नेम्बाङले बजेट र कार्यक्रम प्रस्तुत गरेका थिए।

फाकफोकथुम गाउँपालिकाले ५९ करोड १० लाख रुपैयाँ बराबरको बजेट अनुमान गरेको छ। १६औं गाउँ सभामा अध्यक्ष दीपेन्द्र खनालले नीति तथा कार्यक्रम र उपाध्यक्ष कल्पना राईले बजेट प्रस्तुत गरे। विनियोजित बजेटमध्ये चालुतर्फ ३४ करोड १६ लाख र पुँजीगततर्फ २४ करोड ९४ लाख रुपैयाँ छ।

आउँदो वर्षको नीति तथा कार्यक्रममा पालिकाले पशु विकासको क्षेत्रगत कार्य योजनालाई अघि बढाई नस्ल सुधार, गोठ सुधार तथा पशु बिमा कार्यक्रमलाई सशक्त बनाउने उल्लेख गरेको छ। किसानको आयमा वृद्धि गरी पशुधनमा आउने विपद्बाट किसानलाई पर्नजाने क्षति व्यवस्थित गर्ने कामलाई प्राथमिकता दिइएको छ।

मागमा आधारित कृषि तथा पशु फार्म लक्षित कार्यक्रमलाई प्रोत्साहन गर्दै कृषिको आधुनिकीकरण, पकेट क्षेत्रको विकास, बीउ–बिजन उत्पादन  तथा व्यवसायीकरण र यान्त्रीकरण पनि पालिकाको प्राथमिकतामा छ। खाद्य बाली तथा रैथाने बालीको उचित संरक्षण तथा संवर्धन गर्दै स्थानीय तहमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग गर्ने, सडक, सिँचाइ, खानेपानी, विद्युत् संरचना निर्माण र स्तरोन्नति गर्ने पनि कार्यक्रममा उल्लेख छ।  शैक्षिक गुणस्तरमा सुधार, दिगो संरचना निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि, सामाजिक, आर्थिक विकासमार्फत जीवनस्तरमा वृद्धि, सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार तथा सुशासनमा जोड, रोजगारीका अवसर सिर्जना प्राथमिकतामा छन्।

महामारी रोकथाम तथा न्यूनीकरण, स्वास्थ्य सेवाको पहुँच गुणस्तरमा सुधार, नयाँ उद्यमी सिर्जना तथा प्रोत्साहन र दिगो विकासका लक्ष्यलाई स्थानीय करण गर्ने कार्यक्रमसमेतलाई प्राथमिकता दिएको पालिकाले जनाएको छ।

इलाम नगरपालिकाले एक अर्ब १३ करोड ५९ लाख रुपैयाँ बराबरको आय–व्यय पारित गरेको छ। १५औं नगर सभामा उपमेयर विष्णुकुमारी दाहाल लिम्बूले प्रस्ताव गरेको आर्थिक विधेयक सभाले पारित गरेको हो।

विनियोजित बजेटअनुसार सामाजिक विकासतर्फ ४९ प्रतिशत, पूर्वाधार विकासमा २६ प्रतिशत, चालु खर्च १४ प्रतिशत, आर्थिक विकासतर्फ छ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा तीन प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ दुई प्रतिशत बजेट विनियोजित छ। बजेटमा मौजुदा करको दरभन्दा दायरा बढाउने नीति लिइएको, राजस्व असुलीमा प्रभावकारिता कायम तथा सम्भावित चुहावट नियन्त्रण गर्दै राजस्व वृद्धि गर्ने रणनीति लिइएको उनले जनाइन्।

देउमाई र चुलाचुलीले केही दिनअघि नै बजेट, नीति र कार्यक्रम पारित गरेका छन् भने सन्दकपुर गाउँपालिकाको बजेट, नीति र कार्यक्रम छलफल क्रममा छ।

प्रकाशित: ११ असार २०८१ १७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App