२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

ताप्लेजुङका स्थानीय तहहरूले ल्याए समयमै बजेट

ताप्लेजुङका ९ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि समयमै नीति कार्यक्रम र बजेट ल्याएका छन्। ९ मध्ये फक्ताङलुङ गाउँपालिकाले असार ८ गते, मैवाखोला गाउँपालिकाले असार ९ गते र बाँकी ७ स्थानीय तहले असार १० गते बजेट ल्याएका हुन्। 

सिरिजङ्गा गाउँपालिकाले भने जेठ १० गते आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। सो पारित भएपछि उसले असार १० गते बजेट ल्याएको हो।

फुङलिङ नगरपालिकाको बजेट ६७ करोड

फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६६ करोड ७६ लाख ७३ हजारको बजेट पेस गरेको छ। चालुतर्फ ४६ करोड ८ लाख ८२ हजार अर्थात ६९ प्रतिशत र पुँजीगततर्फ २० करोड ६७  लाख ९१ हजार अर्थात ३१ प्रतिशत खर्च हुने गरी बजेट प्रस्ताव गरेको हो। नगरपालिका उपप्रमुख भीमादेवी ओझाले पेस गरेको बजेटमा सामाजिक विकासतर्फ ३६ करोड ३५ लाख, पूर्वाधार विकासतर्फ १० करोड ५५ लाख, आर्थिक विकासतर्फ २ करोड १३ लाख, सुशासन र अन्तरसम्बन्धित क्षेत्रतर्फ १७ करोड ७२ लाख विनियोजन गरिएको उल्लेख छ। नगर सभामा नगरप्रमुख अमिर मादे नले नीति तथा कार्यक्रम पेश गरेका थिए। 

मेरिङदेनको बजेट ४० करोड बढीको

मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ४० करोड बढीको बजेट ल्याएको छ। उपाध्यक्ष दुर्गाप्रसाद श्रेङ चोङवाङले ४० करोड २० लाख ३० हजार रुपैयाँको बजेट हुन्। जसमा वित्तीय समानीकरण अनुदान संघीय सरकारतर्फ १० करोड १ लाख, सशर्त अनुदान संघीय सरकार चालुतर्फ १७ करोड ९० लाख,संघीय सशर्त पुँजीगत अनुदान ७४ लाख, संघीय विशेष अनुदान ५० लाख,राजश्व बाँडफाड संघीय विभाज्यकोषमा ७ करोड ९७ लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ।

वित्तीय समानीकरण अनुदान प्रदेशतर्फ ६१ लाख ८६ हजार, सशर्त अनुदान प्रदेशतर्फ ५२ लाख ८३ हजार, प्रदेश सरकार समपूरक अनुदान ९६ लाख सवारीसाधन कर बाँडफाड ३३ लाख ६१ हजार, गत आर्थिक वर्षको मौज्दात १२ लाख, आन्तरिक स्रोत ५२ लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ। उक्त बजेटको व्ययतर्फ सामाजिक विकासका लागि २ करोड ४४ लाख ५० हजार, आर्थिक विकासतर्फ ३५ लाख, पूर्वाधार विकासतर्फ ९ करोड २३ लाख ३६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

त्यस्तै प्रशासनिक, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ८ करोड ३० लाख ६१ हजार, संघीय सशर्त चालुतर्फ १७ करोड ९० लाख, संघीय सशर्त पुँजीगततर्फ १ करोड २४ लाख, प्रदेश सशर्त चालुतर्फ १७ लाख ८३ हजार, प्रदेश सशर्त पुँजीगततर्फ ३५ लाख, प्रदेश समपूरकतर्फ ९६ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ। सभामा पालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

मिक्वाखोला गाउँपालिकाको बजेट ३७ करोड

मिक्वाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३७ करोड बढीको बजेट गाउँ सभामा पेश गरेको छ। उपाध्यक्ष डण्डु लामाले ३७ करोड ४७ लाख ३२ हजार रुपैँयाको बजेट गाउँ सभामा पेश गरेका छन्। जसमा चालुतर्फ ८ करोड ५२ लाख ८९ हजार, सशर्त अनुदानतर्फ १३ करोड ५६ लाख ७४ हजार रुपैँया रहेको छ । त्यस्तै पुँजीगततर्फ ८ करोड ६६ लाख १८ हजार, विशेष अनुदान २ करोड ९० लाख, समपूरक अनुदान २ करोड ३० लाख रुपैयाँ र आन्तरिक आय ३८ लाख रुपैयाँ हुने अनुमान गरिएको उपाध्यक्ष लामाले बताए। सभामा पालिका अध्यक्ष भक्तबहादुर कार्कीले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

पाथीभरा याङवरकको बजेट झण्डै ४७ करोडको 

पाथीभरा याङवरक गाउँपालिकाको १६ औं गाउँ अधिवेशनले कूल ४६ करोड ७७ लाख ९८ लाख रुपैयाँको बजेट ल्याएको छ। पालिका उपाध्यक्ष रनमाया गुरुङले  चालूतर्फ ३० करोड ४५ लाख १८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड ३२ लाख ८० हजार रुपैयाँको बजेट ल्याएकी हुन्। सभामा पालिका अध्यक्ष केशरकुमार सुब्बाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

सिदिङ्वाको बजेट ४२ करोड ६४ लाखको

सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१८२ का लागि ४२ करोड ६४ लाख १५ हजार सात सय २० रुपैयाँको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)ले उक्त बजेट पेश गरेकी छन्। गाउँपालिकाबाट विनियोजित १३ करोड ५७ लाख ६१ हजार ७ सय २० रुपैयाँ, संघीय अनुदान सशर्ततर्फ १७ करोड ३३ लाख ३४ हजार बजेट रहेको छ। सिदिङ्वाले संघीय सरकार विशेष अनुदानतर्फ एक करोड १० लाख,समपूरकतर्फ ९५ लाख, प्रदेश सरकार सशर्ततर्फ ९० लाख २० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ। पालिका अध्यक्ष मानबहादुर राईले सभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।  

प्रकाशित: ११ असार २०८१ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App