लामो समय देखिको खडेरीले माछा पोखरीमा गरिएको लगानी डुब्ने जोखिम बढेर गएको छ।
अन्तिम विकल्पको रुपमा भूमिगत जलस्रोतको प्रयोग गरेर जसोतसो माछा बचाई रहेका व्यवसायीको पोखरीमा गरेको लगानी ‘बालुवामा पानी’ सरह हुने देखिएको छ।
पानी तात्ने मोटर प्रयोग गरेर माछा पोखरीमा खन्याए पनि अत्याधिक तापक्रमले पोखरी सुक्दै जाँदा माछा छटपटिएर मर्न थालेका छन्।विज्ञले माछा बचाउन पुरानो पानी फालेर चिसो पानी खन्याउन सुझाए पनि लामो खडेरीले असम्भव जस्तै भएको छ।
जिल्लामा किसानले अधिकांश ठाउँमा माछा पालनका लागि लगानी गरे पनि बढैयाताल गाउँपालिकालाई नेपाल सरकारले माछा जोनको रुपमा विस्तार गरेको छ । पम्प र कुवा सुक्दा जारको पानी किनेर गुजारा चलाउन बाध्यता भएका स्थानीयलाई माछा पोखरीमा पानी हाल्न त अति समस्या हुने गरेको स्थानीय पत्रकार ज्ञानेन्द्र पोखरेलले बताउँछन्।
‘टाढा टाढाबाट टेम्पो वा अटो रिक्सा भाडामा लिएर पानी किन्न आउने किसानको संख्या बढेको देखिन्छ,’उनले भने,‘यस्तै रहे पानीको हाहाकार मच्चिने सम्भावना बढेर गएको छ।’मौसम पूर्वानुमान शाखाको बुलेटिनमा अझै तीन दिन पश्चिम तराईमा तातो हावा चल्ने र तापक्रम बढ्ने देखाएको छ।
दुई साता अघि देखि यहाँको तापक्रम रेर्कडमा ४२ देखि ४८ डिग्री मापन भइरहेको छ ।वैशाख दोस्रो साता देखि छिटपुट पानी समेत परेको छैन।
बर्दिया भएर बग्ने ठुला नदी बबई र कर्णालीमा पानीको सतह सुक्दै गएको आकलन गरिएको छ । असारे खेतीमा नदीको पानीको निर्भरमा रहेका नदी किनारका किसान बिलखबन्दमा परेका छन् ।नदीमा पानीको सतह घट्दै गएपछि नदीको पानीले सिँचाई गर्न सकिने अवस्था देखिएको छैन।
एक माछा पालक किसान भन्छन्,‘ पानी तात्ने मोटर चलाएर पानी हाल्दा ,हाते पम्प निर्भर ग्रामीण भेगका बासिन्दा झन् पीडित छन्,उनीहरूको धारा सुख्छ ।’भूमिगत जलस्रोतको प्रयोग गरेर खानेपानी प्रयोग गर्ने हुनाले मोटर चलाएर पोखरीमा पानी हाल्दा आम सर्वसाधारण मर्कामा परेको गुनासो छ।
बबई सिँचाई आयोजना प्रमुख सुशील देवकोटाका अनुसार नदीमा पानी नहुँदा नहर प्रणालीमा संचालन ल्याउन नसक्दा किसान मर्कामा परेका छन्।‘एक साता अघि नदीको पानी थुनेर भए पनि नहरमा पानी हाल्यौ,’उनले भने,‘बबई नदीमा पानी नहुँदा समस्या भइरहेको छ,किसानको माग यो बेला झन् बढी छ।’
प्रकाशित: ३ असार २०८१ १६:३४ सोमबार