७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना

मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ। नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो। सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको गुणस्तर सुधार गर्न भुवाको धुलो र फोहर झार्ने (डिडस्टिङ) औजार जडान गरिएको बताए।

‘किसानले सङ्कलन केन्द्रमा ल्याउने भुवालाई तत्कालै प्रशोधन गरेर काठमाडौँका उद्योगमा पठाउने व्यवस्था मिलाएका हौँ,’ उनले भने, ‘काठमाडौँ लगेर भुवा प्रशोधन गर्दा तौल घट्ने र झन्झटिलो थियो। अबदेखि किसानले आफै भुवा प्रशोधन गरेर केन्द्रमा बेच्न सक्छन्।’

भुवा प्रशोधन गर्ने उपकरणको उद्घाटन आइतबार नेपालका लागि बेलायती राजदूत रब फेनले गरेका हुन। नेपाली च्याङ्ग्राको भुवाबाट उत्पादन हुने पश्मिनालाई फार्मदेखि फेसनसम्मको मूल्यशृङ्खलामा ब्राण्डिङ गर्न प्रशोधन केन्द्रको उपकरणले सहयोग पुग्ने राजदूत फेनले बताए। नेपाली पश्मिनालाई बेलायतको बजारमा प्रवद्र्धनका लागि सघाउने प्रतिबद्धता उनले जनाए।

च्याङग्राको भूवा पश्मिनाका लागि(क) श्रेणीको कच्चापदार्थ हो। भेडा र चौंरीको तुलनामा च्याङ्ग्राको भूवा गुणस्तरीय मानिन्छ । प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन हुने पश्मिनाको माग विश्व बजारमै बढ्दो छ । राम्रो गुणस्तरको पश्मिनाका लागि आकर्षक मूल्य तिर्न खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक किसानले भुवाबाट राम्रो आम्दानी गर्न सक्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए।

नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक  तीन अर्बको पश्मिना निर्यात हुन्छ। वार्षिक एक सय ९५ टन पश्मिना बनाउन आवश्यक भूवाको धागो आयात गरिन्छ। विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भूवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले जानकारी दिए। सङ्घले मुस्ताङबाट वार्षिक दुई मेट्रिक टन भूवा सङ्कलन गरेर लैजाने गरेको छ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि च्याङ्ग्राको भुवा बेच्ने गरेका थिएनन्। भुवा निकाले पनि बिक्रिका लागि बजार नपाइने समस्या थियो। नेपाल फाइबर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ।

बैशाख–जेठ–असार महिना च्याङग्राको शरीरबाट भूवा निकाल्ने याम हो। मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले व्यावसायिक च्याङग्रापालन गरेका छन्। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएको छ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तर्गत नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा गुणस्तर परीक्षण गरी मुस्ताङी च्याङग्राको भूवा उपयुक्त भएको पुष्टि गरेको थियो।

नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष लामिछानेका अनुसार मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणबाट मुस्ताङी च्याङग्राको भूवाको गुणस्तर पश्मिनाको कच्चापदार्थको रुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन सार्वजनिक भइसकेको छ।

परीक्षणपछि नेपालमा च्याङ्ग्राको भूवा पाइने सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवाह भएको,च्याङ्ग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको लोमान्थाङका किसान छिरिङ वाङदी गुरुङले बताए।  

प्रकाशित: ३ असार २०८१ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App