१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराको पर्यटन क्षेत्रको गुनासोः ‘ब्राण्डिङ’ नारा मिठो, तर, कार्यन्वयन फितलो

पोखरा फेवाताल र पर्यटकीय क्षेत्र लेकसाइड। तस्बिरः सन्तोष पोखरेल/नागरिक

गत चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियो। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरामा आगामि दिनमा थप आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा पर्यटन व्यावसायीको छ। राजधानी घोषणाले पोखराको आन्तरिक तथा बाह्यस्तरमा प्रर्वद्धन हुने पनि व्यावसायीको भनाई छ।  

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै गण्डकी प्रदेशको नीति तथा कार्यक्रमले पनि त्यसलाई समेटेको छ। गण्डकी प्रदेशको मंगलबार प्रस्तुत नीति तथा कार्यक्रमले ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम लागु गर्ने उल्लेख गरेको छ। त्यस्तै आन्तरिक पर्यटन प्रर्वद्धन गर्न ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम संचालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।  

नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहरणको प्रर्वद्धन, पर्यटक सेवा तथा सुविधा बिस्तार गर्ने पनि त्यसमा उल्लेख छ। त्यस्तै ‘राउन्ड फेवा, भ्यू, फेवा’ कार्यक्रमलाई कार्यन्वयन गर्ने र त्यसका लागि चंखपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा ट्रस ब्रीजको निर्माणमा पहल गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ। राउन्ड फेवा, भ्यू फेवा फेवातालपारिको रानीवन हुँदै हिडडुल गर्न सकिने पदमार्ग हो। पदमार्गको ड्यामसाइडदेखि अनदुसम्मको पदमार्गको पहिलो चरणको साढे ३ किलोमिटर खण्डको ट्रयाक खुला भएको छ।  

प्रदेश सरकारले नीति तथा कार्यक्रममा हरेक वर्ष पर्यटन क्षेत्रलाई कुनै न कुनै रुपमा सम्बोधन गरेपनि प्रर्वद्धनमा भने उत्तिसारो चाँसो नदिने गरेको गुनासो भने पर्यटन व्यावसायीको छ। पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन,‘प्रदेश सरकारको नीति र कार्यक्रममा ब्राण्डिङको नारा निकै नै राम्रो आउँछ। तर, जति नै सुकै नीति तथा कार्यक्रममा समेटिए पनि कार्यक्रम गर्ने बेलामा प्रदेश सरकारले समेट्दैन।’ ब्राण्डिङको नारा मिठो भएपनि कार्यन्वयन पक्ष तितो महसुस भएको उनले बताए।  

उनका अनुसार नीति तथा कार्यक्रममा आएपनि बजेटमा ती कार्यक्रममा लागि रकम विनियोजन हुँदैन। बजेट नभएपछि कार्यक्रम हुँदैनन्।

‘कार्यक्रम नभएपछि विनियोजित बजेटको पनि उपलब्धी कम हुन्छ। नारा सुन्दा राम्रा छन। तर, गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रमा सोचेजस्तो गरेको छैन,’ उनले भने। उनका अनुसार अहिले पनि पर्यटन क्षेत्रले प्रर्वद्धनात्मक गतिविधि गर्दा पर्यटन बोर्डको भर पर्नुपर्छ वा संघीय पर्यटन मन्त्रालय गुहार्नुपर्छ।  

‘संघीय भन्दा पनि गण्डकी प्रदेश सरकार गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा बढी सक्रिय हुनुपर्ने हो। पर्यटनको सम्भावना भएको र पर्यटनबाट समृद्धि हुने भनिएको प्रदेश भएकोले पनि सरकार गम्भिर हुनुपर्ने हो, तर, त्यो हुन सकेको छैन,’ सापकोटा भन्छन, ‘अरु प्रदेशको तुलनामा गण्डकीले पर्यटनमा बढी जोड दिनुपर्ने हो। पर्यटन नै प्रदेशको समृद्धिको आधार भनिएपनि समेट्न सकेको छैन।’ प्रदेश सरकारसँग पर्यटन क्षेत्रले सोचेजति सहयोगको अनूभुति गर्न नपाएको उनले बताए।  

बोर्डका अर्का पूर्व सदस्य बासु त्रिपाठी पनि नीति तथा कार्यक्रमले प्रदेशको पर्यटन क्षेत्रबारे गुणात्मक लक्ष्य कतै नदेखाएको बताउँछन। ‘पोखरालाई पर्यटकीय राजधानी त घोषणा गरियो। तर, नीति तथा कार्यक्रममा बलियोगरि पर्यटकीय राजधानीलाई सम्बोधन गर्न पनि प्रदेश सरकार चुकेको छ,’ त्रिपाठी भन्छन, ‘हामीले पर्यटकीय राजधानी घोषणा भईसकेकोले अपेक्षा बढी नै राखेका थियौ। तर, आशा गरे अनुरुप हुन सकेको छैन।’  

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपनि निर्देशन दिने काम समेत प्रदेश सरकारबाट हुन नसकेको उनले बताए। ‘पर्यटकीय राजधानीको पर्यटनमा प्रदेश सरकारको फितलो उपस्थिति देखाएको छ। सतही खालको नीति तथा कार्यक्रम आएको छ,’ उनले भने। उनका अनुसार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भएपनि अहिलेसम्म आन्तरिक उडानमै सीमित छ। त्यस्तै कोरोना अघि गण्डकी प्रदेशलाई जोड्नेगरि विभिन्न प्रदेशमा सिधा आन्तरिक हवाई उडान सुरु भएका थिए। पछिल्लो समय अन्तरप्रदेशका ती उडान रोकिएको अवस्थामा पुनः सुचारु गर्न समेत प्रदेश सरकारको नीतिमा नपरेको उनले सुनाए।  

‘अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्न संघीय सरकारलाई दवाव दिन्छौ भन्न समेत प्रदेश सरकार चुकेको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबारे बोल्ने कोही छैन,’ उनले भने, ‘सुन्दा आकर्षक नीतिमा समेटिएको भएपनि व्यावसायीले चाहेको कार्यक्रम ती होईनन्।’

पर्यटनको राजधानी भएकोले भारत र चीन लगायत प्रर्वद्धन गर्नेजस्ता कार्यक्रमलाई पनि नीतिमा समेट्न सकिने भएपनि प्रदेश सरकारले ती कार्यक्रम छुटाएको उनले बताए। ‘कम्तिमा अन्तरप्रदेश पर्यटन सम्बन्धलाई त समेट्न सकिन्थ्यो। ती सबै छुटेका छन,’ उनले भने, ‘पर्यटन बोर्डसँग मात्र अपेक्षा राख्नुपर्ने अवस्था प्रदेश सरकारले देखाउने गरेको छ। पर्यटकीय सहरको प्रवद्र्धन गर्न प्रदेशको सरकार नै खुम्चिएको छ।’

पोखरा पर्यटन परिषद्(पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ प्रदेश सरकारसँग सहकार्य बढिरहेपनि त्यो अझै केही अपुग रहेको बताउँछन। ‘पर्यटन क्षेत्रले धेरै कुराको अपेक्षा राखेको छ। सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडानबारे चाँसो बढ्नुपर्दथ्यो। त्यसबाहेक प्रदेशभित्र कति पर्यटक भित्रिन्छन भन्नेको पनि तथ्यांक छैन। ती कुरामा पनि चाँसो दिनुपर्छ,’ श्रेष्ठले भने। संघीय सरकारले आगामि आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिरहँदा त्यो भन्दा बढी पाहुना गण्डकी प्रदेशले भित्रयाउन सक्ने खुबी राख्नुपर्ने उनले बताए।  

प्रकाशित: ३० जेष्ठ २०८१ १७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App