१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

फेवापारिको अनदु अब टाढा रहेन (तस्बिर सहित)

फेवातालपारिको अनदुबाट देखिएको लेकसाइड। तस्बिरः सन्तोष/नागरिक

पोखरा आएका आन्तरिक हुन् वा बाह्य पर्यटक सबैको चाहना हुन्छ पर्यटकीय क्षेत्र लेकसाइड घुम्ने, अनि फेवातालमा डुंगा सयर गर्ने। त्यसबाहेक मठ मन्दिर, डाँडाकाँडा उक्लिने पनि पर्यटकको रुचीमा पर्छ। कतिपय आकाशमा रमाउन (अल्ट्रालाइट, प्याराग्लाइडिङ) पनि पुग्छन।  

लेकसाइडमा रमाउने र फेवातालमा डुंगा सयर गर्न हत्तपत्ति नछुटाउने ती पर्यटकले तालपारिको गाउँबारे भने खासै अत्तोपत्तो पाउँदैनन्, जुन तालमा घुम्दा वा लेकसाइडको फुट ट्रयाकमा हिड्दा प्रस्टै देखिन्छ। तालमा सयर गर्दा होस वा लेकसाइडमा हिड्दा स्पष्ट देखिने फेवातालपारिको गाउँ हो–अनदु।

पोखरा महानगरपालिका–२२ मा पर्ने अनदु गुरुङ समूदायको बसोबास भएको गाउँ हो। फेवातालको पारिपट्टि (लेकसाइडलाई वारी मान्दा) को यो गाउँमा केही पक्कि र कच्ची घर छन। ती मध्ये केही घरमा होटल–रेस्टुँरा चलाइएको छ।  

फेवातालको किनारकै यो गाउँमा अहिलेसम्म नियमित मोटर चल्दैन। पुम्दी हुँदै मोटरबाटो पुगेको भने छ। हिउँदमा जसोतसो ट्रयाक्टर भने आइपुग्छन, नत्र अरु गाडी ओर्लिदैनन। त्यहाँका बासिन्दा वारि (लेकसाइड) आउनुपर्दा फेवातालमा डुंगा चढ्नुको विकल्प छैन। कि त माथि पुम्दी उक्लेर छोरेपाटन मिसिन आइपुग्नुपर्छ।

फेवातालसँगै जोडिएको भएपनि अनदुमा पर्यटक भने निकै नै कम जान्छन। जसोतसो पुगेका पर्यटक पनि बेलुकी नहुँदै लेकसाइड फर्किन्छन। राती बास बस्ने पर्यटक न्यून हुन्छन। फेवातालका वारी र पारि किनार बीच संरचना, सुविधा र मानवीय पहुँचका हिसाबले निकै नै फरक छ। किनकी फेवातालमा डुंगा सयर नगरी अनदु पुग्ने सहज पहुँच अहिलेसम्म थिएन।  

तर, अब भने अनदुलाई फुटट्रयाकले पनि जोडेको छ। फेवाताल पारिको रानीबन हुँदै बनेको पदमार्गले अनदुलाई जोडेको छ। फेवातालको अन्तिम बिन्दु ड्यामसाइडबाट उक्लेर रानीबन हुँदै सहजै अनदु गाउँ पुग्न सकिने गरि पदमार्ग निर्माण भएको छ। जंगलै जंगलबीचको यो पदमार्गमा पदयात्रा गर्दा फेवाताल, पोखरा बजार अवलोकन गर्न पाइन्छ। त्यस्तै रानीवनभित्रै चराचुरुङगीको आवाजसँग रमाउँदै हिड्न सकिन्छ।  

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयले दिएको ५० लाख रुपैयाँले रानीबनको तल्लो भेगदेखि अनदुसम्मको करिब चारकिलोमिटर पदमार्ग निर्माण भएको छ। त्यसमा स्थानीयले पाँचलाख रुपैयाँ बराबरको श्रमदान गरेका छन। फेवाताल हेर्दै र फन्को लगाउँदै हिड्न पाइने भएकोले पदमार्गको नाम पनि भ्यू फेवा, राउन्ड फेवा नाम दिइएको छ।

‘अनदुलाई तालपारिको गाउँको रुपमा चिनिएको थियो। फेवातालको लेकसाइडबाट हेर्दा जति नै नजिकै भएपनि पहूँचको हिसाबले निकै नै परको गाउँ थियो। अब भने पदमार्गले जोडेको छ,’ अनदु टोल सुधार समितिका अध्यक्ष दीपेन्द्र गुरुङ भन्छन, ‘हामी बत्ती मुनिको अध्यारोमा थियौ। न त मोटरबाटो, न पैदलमार्ग केही थिएन। तालमा डुंगा सयर गरेर आउजाउ गर्नुको विकल्प थिएन। तर, अब भने पदमार्गले छोएकोले कम्तिमा पनि पैदलै हिडेर पनि आउजाउ गर्न सकिने भयो।’

रानीवनले पोखरा–१७ र २२ लाई जोड्छ। रानीवन छिचोल्दै गर्न पाइने पदयात्राले सबैभन्दा बढी पर्यटन क्षेत्र लाभान्वित हुने स्थानीयको भनाई छ। किनभने पर्यटकलाई एकदिनको हाइकिङ गराउने हैसियत यो पदमार्गले राख्छ। ‘वनको बाटो भनेर भएन, निकै नै रमाईलो पदयात्रा हुन्छ। घना वनभित्र हिड्ने ट्रयाक कतै थिएन । अब भने बाटोले छिचोलेको छ। ड्यामसाइटबाट छिरेर अनदु निस्कन सकिन्छ,’ उनले भने, ‘पदमार्गलाई तन्काएर अझै माथि (फेवा सिरान) लैजानु छ।’

पदमार्गले फेवाताल पारिको अनदु गाउँलाई पहिलोपटक बाहिरी संसारसँग जोडेको पदमार्ग उपभोक्ता समितिका अध्यक्ष तोपेन्द्र गुरुङ बताउँछन। ‘अनदुका बालबालिका फेवातालमा डुंगा सयर गरेर विद्यालय पढ्न पोखरा पुग्नुपर्ने बाध्यता छ। त्यो बाध्यता अहिले नै हटेको त होईन। तर, पदमार्ग बिकल्प बन्यो,’ उनले भने, ‘हावाहुरी चल्दा तालमा डुंगाको सयर जोखिमपूर्ण हुँदा छोराछोरीको आउजाउ सहज थिएन। अब त हावाहुरी चल्यो भने पनि हिडेरै भएपनि छोराछोरी घर आइपुग्छन।’

समिति अध्यक्ष गुरुङका अनुसार अनदु पुग्ने वैकल्पिक पहुँच नहुँदा पाहुनाको बसोबास हुने थिएन। ‘बेलुकी ६ बजे नै डुंगा बन्द हुने भएपछि जसोतसो आएका पाहुना पनि बेलैमा लेकसाइड फर्किन्थे। हामीले त लेकसाइडको गुञ्जन र रात्रीकालिन उज्यालो हेरेर बस्नुको विकल्प थिएन। नत जान सकिने, न आउन नै सकिने अवस्था थियो। रातीमा अत्यावश्यक काम प¥यो भने पनि जोखिमपूर्ण तरिकाले डुंगाको यात्रा गर्नु पर्दथ्यो।’  

यो पदमार्गलाई पामेसम्म तन्काउने तयारी स्थानीयको छ । अहिलेसम्म करिब आधा काम सकिएको छ। आगामि वर्ष बजेट दिएमा पदमार्ग पामेसम्म पुग्नेछ। पदमार्गले पामे छोएपछि फेवातालको राउन्ड पुरा हुने अध्यक्ष गुरुङले बताए। ‘यो पदमार्ग तयार हुँदा अनदुलाई जति बढी सहज छ, त्यो भन्दा बढी लाभ पोखराको पर्यटन क्षेत्रले नै पाउँछ। किनकी पर्यटकलाई एकदिनभर जंगलमा हिडाएर फेवाताललाई फन्को मार्न लगाउँदा पर्यटकको बसाई अवधि थपिन्छ,’ उनले भने। 

 पोखरा –२२ का अध्यक्ष हिमलाल बराल पनि अनदु अब पोखराबाट नजिक भएको बताए। ‘फेवातालपारिको गाउँको रुपमा चिनिएको अनदु अब हाइकिङले जोडिएको छ। यसलाई बढी भन्दा बढी पर्यटकीय गतिविधिले व्यस्त बनाउनुपर्छ,’ बरालले भने, ‘झन्डै चार किलोमिटर लामो पदमार्ग बनाउँदै गर्दा एउटै रुखबिरुवा पनि नोक्सान गरिएको छैन। बरु डुंगामा ढुंगा ओसार्यौ। तर, रानीवनमा कतै बिगार गरेनौ।’

अन्नपूर्ण दिवसको अवसरमा नयाँ पदमार्गमा हाइकिङ गराएको पदयात्रा व्यावासायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष धर्मराज पन्थीले पोखरा आएका जो कोही पर्यटकको एकदिनको गन्तव्य यो पदमार्गले थपेको बताउँछन। 

‘रानीवनभित्र हिड्न पाउँदाको अनुभूति अन्यत्र कतै पाइदैन। ताल, हिमाल र सहर हेर्दै जंगलमा हिड्दाको मज्जा नै फरक हुनेछ,’ उनले भने, ‘पर्यटक भुलाउने नयाँ विकल्प यो पदमार्गले दिएको छ। पोखरा आएका पर्यटकका लागि अब नौलो गन्तव्य बनेको छ। यो पदमार्गमा पठाउन व्यावसायीले पहल गर्नैपर्छ।’ टानका अध्यक्ष पन्थीले पदमार्गलाई ‘फोहोरमुक्त पदमार्ग’ बनाउने योजना रहेको बताए।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले पोखरा आएका पर्यटकको बसाई अवधि बढाउन यस्तो पदमार्गले सघाउने बताए। ‘पर्यटकलाई ड्यामसाइटबाट हाइकिङ गराउँदै अनदुसम्म लैजाँदा पर्यटक रमाउनेछन, यसले पोखराको बसाई अवधि बढाउनेछ। सबैका लागि सहज र पहुँचयुक्त पदमार्ग बनेको छ,’ उनले भने।  

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटनका लागि नयाँ गन्तव्य थपिएको बताए। ‘अहिलेसम्म अनदु ओझेलमा थियो। बल्ल अब पहुँचयुक्त भएको छ। डुंगा चढेर आउनु र पदमार्गमा हिड्दै आउनुले फरक आनन्द दिलाउँछ,’ उनले भने, ‘यसले पोखरा भित्रिएका पर्यटकको ध्यान तान्नेछ। अब अनदु टाढा छैन भन्ने सन्देश दिन सके यसले पर्यटन प्रर्वद्धन हुन्छ।’

प्रकाशित: २२ जेष्ठ २०८१ १७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App