७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सकियो यो सिजनको आरोहण, आठ जनाको मृत्यु, छ सय बढीले टेके सर्वोच्च शिखरको चुचुरो

सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा विश्वको सवोच्च शिखर सगरमाथाको सफल आरोहण गरेयता हजारौं आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन्।  

त्यसो त सगरमाथामा पहिलोपटक पाइला टेकिएको ७१ वर्ष पुगे पनि यसको आरोहण इतिहास भने सय वर्ष लामो छ। सन् १९२१ मा जर्ज म्यालोरी र गे बुलकसहितको बेलायती टोलीले पहिलोपटक सगरमाथा आरोहणको यात्रा थालेको थियो।

प्रत्येक आरोहीहरु विश्वको सर्वोच्च शिखरमा पाइला टेक्नका लागि लालायित् हुन्छन्। यसैले प्रत्येक वर्षको वसन्तकालीन सिजनमा संसारभरीबाट सयौंको संख्यामा आरोहीहरु पर्यटन विभागबाट अनुमति लिई  सगरमाथा आरोहणका लागि आउने गर्छन्। बर्षौसम्मको आर्थिक, शाररीक तथा मानसिक तयारी गरी  आरोहीहरु सर्वोच्च शिखरको चुचुरोमा पाइला राख्न निस्कन्छन्।  

यस वर्षको वसन्तकालीन सिजनका लागि गत वैशाख २८ गते सगरमाथा आधार शिविरदेखि शिखरसम्म जाने हिमाली बाटो निर्माण कार्य सम्पन्न भएको थियो। बाटो निर्माण सम्पन्न भएसँगै सगरमाथा आरोहणका लागि विभागको अनुमति लिएका स्वदेशी तथा विदेशी आरोही र तिनका कामदार एवम् सहयोगी, पथप्रदर्शक, सबैजनालाई आरोहणका लागि बाटो खुलेको थियो।

यस्तै वसन्त ऋतुको आरोहण अवधिभरका लागि पर्वतारोहण अनुगमन तथा सहजीकरणका लागि सगरमाथा बेस क्याम्प (इबिसी)मा पर्यटन विभागको फिल्ड क्याम्प स्थापना गरिएको थियो। पर्वतारोहण अनुगमन र सहजीकरण समिति सदस्य गठन गरी विभागले यस सिजनदेखि इबिसीमा आफ्नै विभागको फिल्ड कार्यालय स्थापना गरेको थियो।  पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य सचिव प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा सगरमाथा बेसक्याम्पमा फिल्ड कार्यालय स्थापना गरिएमा सिजन सकिएपछी फिल्ड विभाग टोली पनि काठमाडौं फर्किसकेको छ।

६ सय बढीले गरे सगरमाथाको आरोहण

सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ । यस याममा सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहण गर्छन् । यसैक्रममा विभागले हिमाल अनुसार आरोहण दस्तुर पनि फरकफरक तोकेको छ ।

विभागको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष वसन्तकालीन सिजनमा विभिन्न आरोहण दलबाट आरोही सदस्य तथा क्लाईम्बिङ गाईड गरी ६ सयभन्दा बढीले आरोहण गरेका छन् । यो तथ्याङ्क केही घटबढ् पनि हुन सक्ने विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरूङले बताए ।  

‘विभागको प्रारम्भिक तथ्याङ्क अनुसार अहिले ६ सय बढी आरोहीले सगरमाथा आरोहण गरेका छन्,’ उनले भने, ‘लगभग यस सिजनको आरोहीहरुको संख्या यत्ति नै हो, नभएपनि पछि यो संख्या थोरै तलमाथि हुन सक्छ।’ उनले यस सिजनको सम्पूर्ण आरोही र आरोहण कम्पनीहरु सगरमाथा क्षेत्रबाट फर्किसकेको बताए।  

६८ करोड ९९ लाख ७५ हजार राजश्व संकलन

वसन्तकालीन सिजनमा सगरमाथा लगायत ३० हिमालका लागि विभागले आरोहण अनुमति दिएको थियो। जम्मा १ हजार २ जनाले हिमाल आरोहणका लागि अनुमति लिएकोमा ७९२ पुरूष र २१० महिला रहेका छन्। जसमध्ये सगरमाथा हिमालको लागि मात्र विभिन्न मुलुकका ४२१ जना आरोहीले विभागबाट आरोहणका लागि अनुमति लिएका थिए। जसबाट सरकाले ६८ करोड ९९ लाख ७५ हजार रूपैयाँ राजश्व दस्तुर संकलन गरेको थियो।  

हाल सरकारले जम्मा ४०५ वटा हिमाल खुला गरेको छ । कुल ४०५ हिमालमध्ये २७ हिमालका लागि आरोहण अनुमति नेपाल पर्वतारोही संघले र बाँकी विभागले दिँदै आएको छ ।  

८ जना आरोहीको मृत्यु/बेपत्ता

विश्वको सर्वोच्च हिमाल सगरमाथाको मान, सम्मान र चर्चा जति लोभलाग्दो छ, आरोहण गर्नु त्यती नै चुनौतिपूर्ण छ। सगरमाथा हिमाल नाम, दाम, सम्मान र कीर्तिमानका कथाले मात्र रंगिएको छैन्,आरोहणको क्रममा ज्यान गुमाउने र उनीहरुका परिवार तथा आफन्तमा परेका कहिल्यै नमेटिने पिडादायी सम्झनाले पनि पोतिएको छ।

सगरमाथामा गरिने सबै आरोहणहरु सफल हुदैनन्। विविध कारणले कतिपय आरोही तथा गाइडहरुको सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु हुन्छ। यसैक्रममा यस वर्षको वसन्तकालीन सिजनमा ८ आरोहीको मृत्यु/बेपत्ता भएको छ। पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा मृत्यु/वेपत्ता भएका आरोहीहरु ८ जना छन् भने एक जना आरोहीको ल्होत्से आरोहणका क्रममा तेस्रो शिविरमा ज्यान गएको पर्यटन विभागले जनाएको हो।

आरोहणको क्रममा मृत्यु हुनेमा तीन आरोही नेपालका रहेका छन् भने बाँकी ५ जना विदेशी रहेको विभागले जनाएको छ। मृत्यु हुने नेपाली आरोहीमा संखुवासभाका २३ वर्षीय पास तेन्जी शेर्पा, सोलुखुम्बुका ४४ वर्षीय ङवाङ शेर्पा र कास्कीका ३७ वर्षीय विनोद बाबु वस्ताकोटी रहेको विभागले जानकारी दिएको छ। 

मृत्यु भएका तीनमध्ये पास तेन्जी शेर्पा र विनोद बाबु वस्ताकोटीले सगरमाथाको शिखरमा पुगेको तर ङवाङ शेर्पाले भने सगरमाथाको शिखरमा पाइला टेके नटेकोको यकिन नभएको विभागले जनाएको छ। यस्तै,पास तेन्जी शेर्पा हिलारी स्टेपदेखि काङसङ फेससम्मको दुरीमा हराएको र ङवाङ शेर्पा चुचुरो क्षेत्रमा हराएकोमा दुवैैको अवस्था हालसम्म अज्ञात रहेको विभागले जनाएको छ।

यसै क्रममा मृत्यु हुनेमा २ आरोही मंगोलियाका, तथा बेलायत, रोमानिया, केन्या र भारतका एक एक आरोही रहेका छन्। दुवै मंगोलिएन आरोहीहरुको मृत्यु सगरमाथाको साउथ समिटमा मे १३ तारिकमा भएको विभागले जनाएको छ। यस्तै विभागका अनुसार दुवै आरोहीले सगरमाथाको शिखरमा पुगे या नपुगेको यकिन भएकौ छैन।

यस्तै,बेलायतका ४० वर्षीय आरोही डानियल पैलले भने सगरमाथाको चुचुरोमा पाइला टेकेको विभागले जनाएको छ। सगरमाथाको चुचुरोमा पाइला टेकेका उनी पास तेन्जी शेर्पासँगै हिलारी स्टेपदेखि काङसङ फेससम्मको दुरीमा हराएको विभागले जनाएको  छ।

केन्याका ४० वर्षीय जोसुआ चेरियट किरुई र भारतका ४७ वर्षीय बंशिलाल भने सगरमाथाको शिखरमा नपुगेको विभागले बताएको छ। यसैक्रममा  रोमनियाका ४६ वर्षीय ग्याब्रियल भियोरेल ताबारा भने ल्होत्से हिमाल आरोहणको क्रममा ज्यान गुमाएका हुन्। उनले पनि ल्होत्से हिमालको चुचुरोमा पाइला नटेकेको विभागले जनाएको छ।

तीन नेपाली आरोहीले बनाए विश्व कीर्तिमान

सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर होस् वा सानै उमेरमा शिखर चुमेर होस्। अक्सिजन बिना आरोहण गरेर होस् वा सबैभन्दा छिटो आरोहण गरेर नै किन नहोस्। संसारभरिका धेरै आरोहीले धेरै प्रकारका कीर्तिमान त्यहाँ कायम गरेका छन्। त्यो क्रम अहिले पनि निरन्तर छ।

यसवर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विश्वभरबाट ६ सय धेरै आरोहीहरूले सगरमाथा आरोहण गरे। तीमध्येका तीन नेपाली आरोही थामेका कामिरिता शेर्पा, गोर्खाकी पूर्णिमा श्रेष्ठ र फुन्जो जाङ्मु लामाले विश्व कीर्तिमान कायम गरे।

कीर्तिमानी कामिरिताले यसअघि आफ्नै नाममा रहेको सर्वाधिक पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान भंग गरेका हुन्। उनले ३०औं पटक सगरमाथाको चुचुरोमा पाइला राख्दै आरोहणको दुर्लभ कीर्तिमान आफ्नो नाममा नै कायम राख्न सफल भए। 

फोटो पत्रकारसमेत रहेकी आरोही पूर्णिमा श्रेष्ठले एकै ऋतुमा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएकी छन्। यससँगै एकै ऋतुमा तीन पटकसम्म सगरमाथा आरोहण गर्ने उनी पहिलो महिलासमेत बनेकी छिन्।

गोरखाकै आरोही फुन्जो जाङ्मु लामाले पनि यस ऋतुमा विश्व कीर्तिमान राखेकी छिन्। उनले सबैभन्दा छोटो समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेकी हुन्। लामा आधार शिविरबाट १३ घण्टा ३१ मिनेटमै सगरमाथाको शिखरमा पुगेकी हुन्।

प्रकाशित: २० जेष्ठ २०८१ १६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App