८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरमा आगामी शनिबार देखि सुरु हुने भएको छ। जनकपुरको उद्योग वाणिज्य संघमा सञ्चालन हुने मेलाको श्रममन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्नेछन्।

मेलाको बारेमा जानकारी दिन आज बिहिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एंव मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए।

त्यस्तै, मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।

‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ। यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ’, उनले भने।

मधेस प्रदेशमा हुने मेलामा वेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिने पनि उनले बताए। सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत उनले आग्रह गरे।

श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताएका छन्।

मेलामा सहभागिताका लागि ३५ स्टल राखिनेछ। हालसम्म ३० भन्दा धेरै स्टल बुकिङ  भइसकेको पनि उनले जानकारी दिए।

नेपाल उद्योग परिसंघ सिआइएनका मधेस प्रदेश संयोजक प्रमोद शाहले मेलाको उदेश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताए।  

‘हाम्रा युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेर बस्नु परेको अवस्था छ । त्यो भिडभाडलाई कम गर्न मेला सहयोगी बन्नेछ। हामी अब नेपालमै रोजगारीको अवसर खोज्न सक्छौं। हामी उद्योगीहरूले पनि राम्रो तलब दिन सक्छौें,’ उनले भने । तर, सीपको अभावले श्रमिकले रोजगारी पाउन नसकेको उनले बताए।

मेला जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै सुरू भइसकेको छ। मेला ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। मेला हरेक प्रदेशमा २ दिन चल्नेछ।

मधेश प्रदेशको जनकपुमा जेठ १९ र २० गते सञ्चालन हुनेछ। गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ।

प्रकाशित: १७ जेष्ठ २०८१ १९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App