३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक निर्माण

आर्थिक सर्वेक्षण २०८०/८१ का  अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ। पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभामा  सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर खण्डास्मित र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक गरी हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको हो। सर्वेक्षणअनुसार कूल सडकमध्ये कालोपत्र ५३ दशमलव दुई प्रतिशत, खण्डास्मित २२ दशमलव पाँच प्रतिशत र कच्ची सडक २४ दशमलव तीन प्रतिशत रहेको छ। २०८० असारसम्म सडकको कूल लम्बाइ ३४ हजार दुई सय ३९ किलोमिटर रहेको थियो । सरकारको आठ महिनामा २८ किलोमिटर मात्रै सडकको लम्बाइ विस्तार भएको छ।

चालु आर्थिक वर्षको फागुनसम्म एक सय ८९ किलोमिटर सडक कालोपत्र स्तरमा र एक सय ९० किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको छभने २८ किलोमिटर थप नयाँ सडक निर्माण भएको छ। साथै, सात हजार आठ सय २१ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छभने ९९ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ । यस अवधिमा ६७ सडक पुल निर्माण भएको समेत आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७९/८० मा  आठ सय २० किलोमिटर सडक कालोपत्र स्तरमा र  ६ सय २८ किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको थियोभने दुई सय ४३ किलोमिटर थप नयाँ सडक निर्माण भएको थियो। 'सात हजार आठ सय २१ किलोमिटर सडकको नियमित र पटके मर्मत भएको थियोभने पाँच सय ३८ किलोमिटर सडकको आवधिक मर्मत भएको थियो। सो अवधिमा दुई सय २२ सडक पुल निर्माण भएका थिए,' सर्वेक्षणमा भनिएको छ, 'मध्यपहाडी (पुष्पलाल) राजमार्गको कूल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटरमध्ये २०८० असारसम्म  एक हजार चार सय दुई किलोमिटर कालोपत्र भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप १३ किलोमिटर सडक कालोपत्र भई एक हजार चार सय १५ किलोमिटर पुगेको छ।'

राजमार्गमा पर्ने एक सय ३७ पुलमध्ये २०८० फागुनसम्म एक सय दुई पुल निर्माण भएको तथ्याङ्कमा उल्लेख रहेको छ। सर्वेक्षणअनुसार हुलाकी राजमार्गको कूल लम्बाइ एक हजार आठ सय ५७ किलोमिटर (लिङ्क सडकसहित) मध्ये २०८० असारसम्म एक हजार एक सय ७९ किलोमिटर कालोपत्र भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भई एक हजार दुई सय ११ किलोमिटर पुगेको छ। राजमार्गमा पर्ने दुई सय ५० पुलमध्ये २०८० असारसम्म एक सय ३२ पुल निर्माण भएकामा २०८० फागुनसम्म यस्तो सङ्ख्या एक सय ३५ पुगेको छ।

उत्तर–दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोरको कूल लम्बाइ चार सय ४७ किलोमिटरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको दुई सय ४५ किलोमिटर सडक खण्डमध्ये २०८० फागुनसम्म एक सय ८४ किलोमिटर सडक कालोपत्र भएको  सर्वेक्षणमा उल्लेख गरिएको छ। यस कोरिडोरअन्तर्गत २०८० असारसम्म मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डअन्तर्गत दुई सय दुई किलोमिटर सडक खण्डमध्ये ३३ किलोमिटर सडक कालोपत्र र एक सय किलोमिटर सडक खण्डास्मित भएको छभने पाँच पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख गरिएको छ।

सर्वेक्षणअनुसार कर्णाली कोरिडोरको कूल लम्बाइ दुई सय ६९ किलोमिटरमध्ये २०८० असारसम्म दुई सय ६३ दशमलव पाँच किलोमिटर ‘ट्र्याक’ निर्माण सम्पन्न भएकामा २०८० फागुनसम्म ४।५ किलोमिटर थप भई हालसम्म दुई सय ६८ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ।

यसैगरी, कोशी कोरिडोरको कूल लम्बाइ एक सय ६२ किलोमिटरमध्ये २०८० असारसम्म ७४ किलोमिटर सडक खण्डास्मित भएकामा २०८० फागुनसम्म ७८ किलोमिटर सडक खण्डास्मित भएको छ। त्यसैगरी, हालसम्म दुई किलोमिटर सडक ढलान र ११ पुल निर्माण भएका छन्। काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत २०८० फागुनसम्म सुरुङमार्गको कूल लम्बाइ ६ हजार चार सय १५ मिटरमध्ये चार हजार ६ सय १३ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको सर्वेक्षणमा उल्लेख गरिएको छ।

मदन भण्डारी राजमार्गको कूल लम्बाइ एक हजार तीन सय ९० किलोमिटरमा आयोजनाको कार्यक्षेत्रभित्र पर्ने सात सय ४० किलोमिटरमध्ये २०८० असारसम्म दुई सय ६८ किलोमिटर सडक कालोपत्र भएको सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म २६ किलोमिटर थप भई हालसम्म दुई सय ९४ किलोमिटर सडक कालोपत्र भएको छ। सर्वेक्षणअनुसार यस राजमार्गमा पर्ने एक सय ८५ पुलमध्ये २०८० असारसम्म एक सय आठ पुल निर्माण भएकामा २०८० फागुनसम्म एक सय २७ पुल निर्माण भएका छन्।

'गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकको ८२ किलोमिटर सडकमध्ये २०८० फागुनसम्म ३७ किलोमिटर सडकको दुई लेन कालोपत्र ९अस्फाल्ट० गर्ने कार्य र १४ पुलको निर्माण कार्य सम्पन्न भएको छ,' सर्वेक्षणमा उल्लेख छ, '२०८० असारसम्म यस सडकको ३६ किलोमिटरमा दुई लेन कालोपत्र गर्ने कार्य र १४ पुलको निर्माण कार्य सम्पन्न भएको थियो।'

सर्वेक्षणअनुसार पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्यअन्तर्गत नारायणघाट–बुटवल सडकको एक सय १३ किलोमिटर सडकमध्ये २०८० फागुनसम्म १७ दशमलव ४१ किलोमिटर सडक चार लेनमा र १४ दशमलव ६९ किलोमिटर सडक दुई लेनमा कालोपत्र भएको छ।  

प्रकाशित: १३ जेष्ठ २०८१ १९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App