१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कोरोना संक्रमणपछि बल्ल चीनमा पर्यटन प्रवर्द्धन

चिनियाँ पाहुनाको पर्खाइमा पोखरा

पोखरा आएका चिनियाँ पाहुना। फाइल तस्बिरः नागरिक

यो अप्रिलमा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या ९ हजार ७ सय ५० थियो। अप्रिलमा नेपाल भित्रिने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय थिए। दोस्रोमा अमेरिकी र तेस्रो नम्बरमा बल्ल चिनियाँ पाहुना थिए।

चिनियाँको यही आगमन २०२३ को अप्रिलमा ४ हजार ७ सय ७० थियो। अघिल्लो अप्रिलको तुलनामा यो अप्रिलमा झन्डै १ सय ५ प्रतिशत सुधार त भएको छ, तर, पर्यटन व्यवसायीले यो आकार नेपालका लागि पर्याप्त नभएको बताउँदै आएका छन्। त्यसो त चिनियाँको आगमन अघिल्ला महिना पनि उत्तिसारो उत्साहजनक नभएको उनीहरुको भनाई छ।

पर्यटन बोर्डको तथ्यांक अनुसार यो जनवरीमा जम्मा ७ हजार २ सय ६७ जना चिनियाँ नेपाल भित्रिएका थिए। फेब्रुअरीमा त्यो संख्या ९ हजार १ सय ८० थियो। मार्चमा भने १२ हजार ९३ जना चिनियाँ नेपाल भित्रिएका थिए। सन् २०२३ मा नेपाल भित्रिने चिनियाँको संख्या ६० हजार ८ सय ७८ मात्र थियो। कोरोना भाइरस संक्रमण सुरु हुनु अघि सन् २०१९ मा नेपाल भित्रिने चिनियाँको संख्या १ लाख ६९ हजार ५ सय ४३ थियो। २०१९ को यो आगमन नै नेपाल भित्रिएका चिनियाँको सबैभन्दा ठूलो संख्या हो।

नेपालको पर्यटन क्षेत्रले भारतसँगै चीनलाई पनि पर्यटनको मुख्य श्रोत मान्छ। तर, कोरोना भाइरस संक्रमणपछि चिनियाँको आगमन उत्साहजनक हुन नसकेको व्यावसायीको भनाई छ। अझ पोखराले त चिनियाँ पाहुनाबाट ठूलो लाभ पनि लिएको थियो। चिनियाँ पाहुनाप्रति व्यावसायीको भरोसा पनि थियो। तर, कोरोनापछि चिनियाँको आगमन उत्तिसारो उत्साहजनक हुन नसकेको उनीहरुको भनाई छ।

चिनियाँको त्यही आगमन बढाउने उद्देश्यले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले चिनियाँ सहरमा प्रवद्धर्नात्मक अभियान थालेको छ। नाटामा आबद्ध व्यावसायी विभिन्न सहरमा प्रवर्द्धन गर्ने उद्देश्य सहित चीन पुगेका छन्। कोरोना संक्रमणपछि पोखरेली पर्यटन व्यवसायीले चीनमा गरेको यो नै पहिलो प्रवद्धर्नात्मक अभियान रहेको उनीहरुको भनाई छ।

‘चिनियाँ सहरमा प्रवद्धर्नात्मक अभियान चलाउँदा भविष्यमा अहिलेको आगमनको आकार माथि उकासिने अपेक्षा छ,’ नाट्टा गण्डकी अध्यक्ष हरिराम अधिकारीले भने, ‘चिनियाँ पर्यटन बजारसँग नेपालको ठूलो अपेक्षा छ। चिनियाँ पाहुना आउने आशमा यहाँ लगानी पनि भएको छ। तर, त्यो आकारमा पाहुना भित्रिएनन्। यो प्रवर्द्धनले भविष्यमा नेपालमा चिनियाँ पाहुना पक्कै बढ्नेछन।’

व्यवसायीले चीनको ग्वान्झाउ र राजधानी बेइजिङमा प्रवद्धर्नात्मक कार्यक्रम गर्ने अधिकारीले बताए। उनका अनुसार ग्वान्झाउमा हुने अन्तर्राष्ट्रिय ट्राभल फेयरमा व्यवसायीले प्रवद्धर्नात्मक गतिविधि संचालन गर्नेछन्। त्यस्तै राजधानी बेइजिङमा व्यावसायिक भेटघाट कार्यक्रम गर्नेछन्।

‘चिनियाँ व्यावसायीसँगको भेटघाट र छलफलले आगामी दिनमा नेपालमा चिनियाँ पाहुना अवश्य पनि बढ्नेछन। चिनियाँ व्यवसायीलाई नेपाल घुमघामको प्याकेज उपलब्ध गराउने र व्यावसायिक साझेदारी गरिने भएकोले पर्यटनमा यसले लाभ दिनेछ,’ उनले भने, ‘अहिलेको आगमन मासिक १० हजार हाराहारीमा रहेकामा आगामी दिनमा यो संख्या पक्कै पनि माथि उकासिनेछ।’ अधिकारीले अहिलेको प्रवद्धर्नले नेपालप्रति चिनियाँ पाहुनाको बुझाई र अपेक्षा थाहा हुने र त्यसबाट आगामी दिनमा सुधार गर्न सकिने बताए। 

‘व्यावसायीको बुझाईमा चिनियाँ पाहुना नेपाल आउन तयार छन्। तर, नेपालसम्मको हवाई कनेक्टिभिटि महँगो छ। त्यसले गर्दा नेपाल आउने चिनियाँ पाहुना थाइल्याण्डतिर डाइभर्ट भएको हाम्रो अनुमान छ। ती पर्यटकलाई नेपाल ल्याउने हाम्रो प्रयास हो,’ अध्यक्ष अधिकारीले भने, ‘हवाई कनेक्टिभिटिका हिसाबले नेपाल महँगो गन्तव्य बनेको छ।’  

पर्यटन बोर्ड पोखराका प्रमुख नवीन पोखरेलले चिनियाँ पाहुनाको गतिविधि पछिल्लो समय बढिरहेकोले आगामी दिनमा पक्कै पनि संख्या थपिनेमा आशावादी हुन सकिने बताए। पोखरेलले भने, ‘कोरोना भाइरस संक्रमण पछि अरु मुलुकमा  प्रवद्धर्नात्मक गतिविधि भए। भारतमा पनि बारम्बार गतिविधि गरिएका छन्। तर, चीनमा भएको थिएन। त्यही भएर यो प्रवर्द्धनले चिनियाँ पाहुनालाई नेपाल भित्र्याउन सघाउनेछ।’

नेपालमा चिनियाँको आगमन भारतीय पाहुनाको जस्तो आकारमा नभएपनि नेपालमा चिनियाँ पाहुनालाई स्वागत गर्न तयार रहेको सन्देश दिलाउन जरुरी रहेको उनले बताए। ‘लामो समयदेखि चिनियाँ पर्यटन बजारसँग नेपालको  प्रवद्धर्नमा ग्याप रहेको छ। त्यसलाई यो  प्रवद्धर्नले पूरा गर्नेछ,’ उनले भने, ‘लामो समयदेखि चिनियाँ बजारमा नेपालको पर्यटन क्षेत्र उपस्थित नहुँदा यसले समस्या पारेको हो। आगामी दिनमा यो  प्रवद्धर्नले पक्कै पनि सघाउनेछ। पर्यटनमा नियमित उपस्थिति पनि महत्त्वपूर्ण मानिन्छ।’

बोर्डका पूर्व सदस्य समेत रहेका व्यावसायी बासु त्रिपाठीले कोरोना संक्रमणपछि चिनियाँ पर्यटकका लागि नेपाल ढिलागरि खुल्दा पाहुना आउन नसकेको बताए। ‘चिनियाँ पाहुनाका लागि नेपाल खुल्न केही समय लाग्यो। नेपाल भन्दा अगाडि अरु धेरै नै मुलुक चिनियाँ पर्यटकका लागि चीन सरकारले खुला गरिसकेको थियो।  त्यसले गर्दा पर्यटक अन्यत्र मोडिएको आशंका छ। नत्र चिनियाँको रोजाइमा नेपाल महत्त्वपूर्ण गन्तव्य हो।’ पछिल्लो समय चिनियाँ पाहुनाको आगमनमा सुधार हुँदै गएको भने उनले बताए। 

व्यावसायीका अनुसार चिनियाँ पाहुना पोखरामा बढी रमाउँछन्। छोटो दूरीको पदयात्रामा जान रुचाउँछन्। बढीमा चारदिन सम्मको अवधिको पदयात्रामा मात्र चिनियाँ जान्छन्। नत्र प्याराग्लाइडिङ, अल्ट्रलाइट जस्ता साहसिक गतिविधिमा चिनियाँ पाहुना बढी रमाउँछन्।

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘चिनियाँ पाहुना तान्नकै लागि पोखरामा विभिन्न कार्यक्रम पनि सम्पन्न भयो। ड्रागन बोटरेस सहितका गतिविधि भएका छन्। यो  प्रवद्धर्नले आगामी दिनमा चिनियाँ थपिनेमा हामी ढुक्क छौ।’

नेपाल भित्रिएका चिनियाँमध्ये ठूलो संख्यामा पोखरा भित्रिने र पोखरा भित्रिएका मध्ये पनि करिब ९० प्रतिशत चिनियाँ यहाँको आकाशमा प्याराग्लाइडिङमा रमाउने व्यावसायीको भनाई छ।  

प्रकाशित: ५ जेष्ठ २०८१ १५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App