चितवनको इच्छाकामना गाउँपालिकाको अधिकांश क्षेत्र गरिबी र अभावको चपेटामा छ। स्वास्थ्य, शिक्षा लगायत पूर्वाधारको क्षेत्रमा पछि रहेको गाउँपालिकाको उब्जनिले छ महिना समेत खान पुग्दैन। तर, पछिल्लो समय यहाँका किसानहरुले आय आर्जनको प्रमुख स्रोत बाख्रा पालन बनाएका छन्।
इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी अनु चेपाङ बाख्रा पालनबाट नै जीविकोपार्जन गरिरहेको बताउँछिन्। ‘केही वर्षअघि जीविकोपार्जन गर्न कठिन थियो। पछिल्ला वर्ष बाख्रा पालन गर्न थालेपछि दैनिक गुजारा चलाउन सजिलो भएको छ,’ उनले भनिन् ‘यो वर्ष नै ६ वटा बाख्रा बेचेर ६० हजार आम्दानी भएको थियो।’
परम्परागत रुपमा बाख्रा पालन गर्दै आएकी अनुको व्यावसायिक रुपमा जाने सोच छ। यसका लागि उनले गाउँपालिकाको आर्थिक सहयोगमा खोर समेत बनाएकी छिन्।
‘बाख्रा पाल्नका लागि खोर त्यति राम्रो थिएन। एउटा कोठा सहितको मात्र थियो,’ उनले आगामी योजना सुनाउँदै भनिन्, ‘गाउँपालिकाले दिएको २५ हजारमा आफ्नो २५ हजार थप गरेर दुई वटा कोठा सहित खोर बनाएकी छु। अब बाख्रा पनि थप्ने हो।’

सोही ठाउँकै स्मृति चेपाङ पनि विगतमा खेतीपातीमै व्यस्त हुन्थिन्। तर, आजभोलि भने उनको दिनचर्या बाख्रा पालनमै बित्छ। गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा पालनमा उनको हौसला अझ थपिएको छ।
‘खोरमा अहिले १५ वटा बाख्रा छन्। छानो बनाउन नसकेर खोर निर्माण अधुरै थियो। गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर सम्पन्न भएको छ’, उनले भनिन् ‘बाख्रा पनि बढाउँदै लैजाने सोचमा छु।’
इच्छाकामना गाउँपालिका–१ का कुमार बहादुर गुरुङले विगतदेखि नै बाख्रा पालन गर्दै आएका थिए। तर, खोर राम्रो नहुँदा विस्तार गर्न सकेका थिएनन्। गाउँपालिकाको सहयोगमा खोर निर्माण भएपछि विस्तार गर्ने सोचमा आफू रहेका उनले सुनाए।
‘पहिल्यैदेखि बाख्रा पालन गरेकाे थिए। खोर राम्रो नहुँदा बेला-बेलामा बाख्रा मरेर सताउँथ्यो,’ उनले भने ‘अहिले हाम्रो मुख्य आयस्रोत नै बाख्रापालन भएको छ।’ बाख्रा पालनका लागि चरण क्षेत्र समेत प्रशस्त रहेको उनले बताए।
इच्छाकामना गाउँपालिका-१ का किसानहरू पछिल्लो समय बाख्रा पालन तर्फ आकर्षित भएको वडाध्यक्ष सन्तबहादुर मगरले बताए। ‘यहाँ चरण क्षेत्र राम्रो छ। बाख्राको बजार पनि राम्रो छ। बाख्राको जुतो बारीका लागि पनि राम्रो हुने, आम्दानी पनि हुने हुँदा किसानहरू आकर्षित भएका छन्’, मगरले भने।
इच्छाकामनामा चेपाङ, गुरुङ समुदायको बाहुल्यता छ। यहाँका मानिसको जीवनस्तर सुधार गर्न बाख्रा पालन व्यवसायलाई प्रवर्द्धन गरिरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जनकारी दिए।
‘किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन कृषि र पशुपालनमा जोड दिएका छौँ। इच्छाकामनामा प्रशस्त घाँसे जंगल भएकाले समस्या नहुने हुँदा बाख्रा पालनबाट मनग्य आम्दानी गर्न सकिन्छ,’ उनले भने ‘गाउँपालिकाभर ६० हजार बाख्रा पालन भएको छ र यसलाई क्रमशः बढाएर एक लाख ५० हजार पुर्याउने लक्ष्य हाम्रो छ।’ बाख्राको मलबाट कृषि बालीसमेत फस्टाउने भएकाले दोहोरो फाइदा पुग्ने गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन्।
गाउँपालिकाका ७ वटै वडामा गरी ७९ वटा खोर निर्माण गरिएको छ। यही आर्थिक वर्षमा थप १० वटा खोर निर्माण हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए।
गत आर्थिक वर्षमा २ सय ८७ वटा खोर निर्माण भएका थिए। बाख्रापालक किसान र गाउँपालिकाको ५०–५० प्रतिशत लागतमा खोर सुधार कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
बस्नेतले गाउँपालिकाले खोर सुधारसँगै उन्नत जातको बोका वितरण, खोरमै पुगेर पिपिआर खोप लगाउने, बाख्राले रुचाउने उन्नत जातको घाँसको बेर्ना वितरण, बाख्रामा लाग्ने रोग र उपचारबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए।
गाउँपालिको अनुदान कार्यक्रमसँगै किसानमा बाख्रा पाल्ने उत्साह बढेको उनले सुनाए।
प्रकाशित: ३ जेष्ठ २०८१ १७:५५ बिहीबार





