१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

रुपातालः माछाले बदलिदियो जीवनस्तर

नेपालमा अहिले सहकारीको बदनाम भइरहेको छ। सहकारीका सञ्चालकले बचतकर्ताको रकम अपचलन गरेका खबरहरू दिनहुँ आइरहेका छन्। जसका कारण बचतकर्ताहरु घर न घाटको अवस्थामा पुगेका छन् भने उनीहरु आफैले बचत गरेको रकम फिर्ता माग्दै आन्दोलनमा होमिनुपरेको छ।

सहकारीहरु एकपछि अर्को गर्दै धराशायी भइरहेका बेला पोखराको लेखनाथस्थित एउटा सहकारी भने माछापालनबाटै समृद्धितर्फ लम्किएको छ। रुपातालको पुर्नस्थापनासँगै माछापालनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडले माछापालनबाटै स्थानीयवासीको जीवन उकासिरहेको छ।

२०५८ सालमा स्थापित यो सहकारी अहिले गण्डकीको मात्रै नभई नेपालकै एक अब्बल र नमुना सहकारीका रुपमा स्थापित छ। केही वर्ष अघिसम्म संरक्षण नहुँदा ताल प्राकृतिक र मानवीय दुवै किसिमले अतिक्रमणको चपेटामा परिरहेको थियो। त्यसमाथि जलकुम्भी लगायतका झारले ढाँकिदा रुपाताल कुरूप बनेको थियो। त्यसबेला माछाको व्यावसायिक पालन र उत्पादन दुवै हुँदैनथ्यो। बरु पढ्नका लागि भनेर तालपारीको स्कुल हिँडेका विद्यार्थीको पौडी खेल्ने र बल्छी थापेर दिन ठाउँ बनेको थियो रुपाताल।

जसका कारण स्थानीयको शैक्षिकस्तर पनि माथि उठ्न सकेको थिएन। यी सबै कुरालाई ख्याल गर्दै तत्कालीन समयमा युवाको समूहले सहकारी बनाउने निर्णय गरे। जसको उद्देश्य थियो रुपाताललाई पुरानै अवस्थामा फर्काउने र व्यावसायिक माछापालनमार्फत स्थानीयलाई समृद्धिको बाटो देखाउने छ।

नभन्दै अहिले सो सहकारी आफ्नो उद्देश्यमा सफल हुँदै गएको छ। जलकुम्भीले ढाकिएको रुपाताल अहिले कञ्चन बनेको छ भने अतिक्रमणको चपेटा कम भएको छ। त्यति मात्र होइन माछापालनबाट वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्न पनि सहकारी सफल भएको छ। सहकारीले वार्षिक ४२ हजार केजी माछा उत्पादन गर्ने गरेको छ जसको आम्दानी वार्षिक २ करोड ३१ लाख रुपैयाँ हुने गरेको रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारीका अध्यक्ष शिवराज अधिकारीले जानकारी दिए।

जसबाट वार्षिक १ करोड ८० लाख रुपैयाँ बचत हुने गरेको उनको भनाई छ। रुपातालमा रहु, भ्याकुर, नैनी, सहर, तिलापिया लगायतका जातका माछा पाइने अध्यक्ष अधिकारीले जानकारी दिए। माछा प्रायः सबै आफ्नै काउन्टरबाटै बिक्री हुने उनले बताए। सिजनका बेला एकै दिनमा धेरै माछा जालमा परेको अवस्थामा भने गाडीसमेत राखेर बेच्ने गरिएको उनको भनाई छ।

माछा स्वादिलो भएकाले बिक्री गर्न समस्या नहुने उनले बताए। ‘यहाँको माछाको स्वाद नै मीठो छ,’ उनले भने,‘चिसो पानीमा हुर्किएकाले माछाको स्वाद मीठो छ। यहाँको माछा खाएपछि अरु ठाउँको माछा खानै मन लाग्दैन ।’ एक सर्भेक्षणमा रुपातालको माछा विश्वकै मीठो मध्येको दोस्रो नम्बरमा परेको र नेपालको पहिलो नम्बरमा रहेको उनले दाबी गरे।

सहकारीले ताल संरक्षणसँगै माछा उत्पादनमार्फत आम्दानी त गरेको छ नै, त्योसँगै स्थानीयलाई रोजगारी पनि दिलाएको छ। सहकारी र माछापालनका लागि हाल २४ जनालाई प्रत्यक्ष रोजगारी दिएको अध्यक्ष अधिकारीले बताए। त्यसबाहेक सयौंलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको उनको भनाई छ।

‘रुपातालको माछा बेच्ने भनेर ताल किनारमै १५–२० वटा होटल तथा रेष्टुरेण्ट खुलेका छन्,’ उनले भने,‘त्यसबाहेक माझीकुना लगायतका ठाउँमा पनि यसैलाई ब्राण्ड बनाएर माछाको स्वाद पस्कन्छन् । जहाँ सयौंले रोजगारी पनि पाएका छन्।’

उनका अनुसार अहिले रुपातालमै स्थानीय सिपीमा मोती पालन पनि सुरु गरिएको छ। जुन अहिले परीक्षणका रुपमा रहेको अध्यक्ष अधिकारीले बताए। ‘मोती उत्पादन सफल भएमा स्थानीयको जीवनस्तर उकास्न कोशेढुंगा साबित हुन्छ,’ उनले भने।

रुपाताल पछिल्लो क्रममा पर्यटकीय गन्तव्यका रुपमा पनि परिणत भएको छ। वर्षमा फरक–फरक तीन रूप देखिने रुपाताल आफैमा अद्वितीय सुन्दर पनि छ। त्यति मात्र होइन माछा पारखीका लागि रुपाताल अनिवार्य गन्तव्य बन्दै गएको उनले बताए। तालमा डुंगा सयर, प्राकृतिक छटाको दृश्यावलोकनसँगै डुंगाबाटै नजिकको जंगलमा रहेका मृगलगायतका जनावर र चराचुरुङ्गी समेत अवलोकन गर्न पाइने सहकारीका संस्थापक तथा कर्मचारी रामजी अधिकारीले बताए।

‘सहकारी नभएको भए रुपाताल अतिक्रमणको चपेटामा त पर्थ्यो नै, हाम्रो जीवनस्तर पनि ज्यूँका त्यूँ हुन्थ्यो होला। तर सहकारी कै कारण आज हामी समृद्धितर्फ डोहोरिएका छौं,’ उनले भने।

माछापालनमा व्यवसायीकतासँगै स्थानीयले अध्ययन पनि गर्न थालेको र अहिले शैक्षिक स्तर पनि माथि उठेको उनको भनाई छ। ‘हिजो पौडी खेलेर र बल्छी खेलेरै बालबालिकाले पढाइमा ध्यान दिएनन्,’ उनले भने,‘तर अहिले पढाई राम्रो भएको छ । शैक्षिकस्तर माथि उठेको छ।’

प्रकाशित: १ जेष्ठ २०८१ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App