६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

दक्षिण कोरियामा ‘स्रिंकफ्लेसन’लाई पाता कसिंदै

दक्षिण कोरियाका अधिकारीहरूले साधारण पसलेलाई पत्तो नदिई कुनै पनि सामग्रीको आकार घटाउने क्रियाकलाप नगर्न उत्पादकहरूलाई आदेश दिएको छ। पसलेहरूलाई थाहै नदिई कुनै पनि सामानको आकार घटाउने कार्य गरे चर्को शुल्क लगाउनेसमेत सरकारले बताएको छ।

कुनै पनि उत्पादनको आकार घटाउने कार्यलाई अचेल ‘स्रिंकफ्लेसन’ भनिन्छ। यो ‘स्रिंक’ र ‘इन्फ्लेसन’ मिलाएर बनाइएको नयाँ शब्द हो।

द कोरिया फेयर ट्रेड कमिसनले हालै कुनै पनि सामग्रीको आकार घटाउने तर मूल्य भने बढी लिने भए पनि त्यसबारे कुनै जानकारी नदिने प्रवृत्तिलाई लक्षित गर्दै यो नियम ल्याइएको बताइएको छ। यस्तो गर्दा सर्वसाधारण ग्राहक नराम्रोसँग ठगिन थालेको कमिसनको भनाइ छ। यस्तो कमाइ अनुचित लाभका रूपमा गणना हुने भएकाले सचेत  गराइएको छ।

प्याकेजिङको आकार घटे पनि डिजाइन परिवर्तन नहुँदा सर्वसाधारणले पत्तो नपाउने तर सामग्री निकै थोरै हुने विश्वव्यापी चलन कोरियामा पनि चल्न थालेको र त्यसले सर्वसाधारणको आक्रोश बढेका कारण कोरियाली अधिकारीहरूले स्रिंकफ्लेसनमा संलग्न हुनेहफ्लाई सचेत  गराएको हो।

गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूला कम्पनीहरूले आफ्नो उत्पादनको आकार घटाउने भन्दै आलोचना गरेका थिए। त्यस्तै फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले स्रिंकफ्लेसनलाई एउटा धोकाधडीसँग तुलना गरेका थिए। सुपर मार्केटहरूले त्यस्ता माललाई बेग्लै तहमा राखी बेच्नुपर्ने टिप्पणी गरेका थिए।

यही मेसोमा दक्षिण कोरियाले नयाँ नियम बनाएको हो। उत्पादकहरूले घरायसी प्रयोगका चिज, चाउचाउ तथा ट्वाइलेट पेपर, टुथपेस्ट, साबुनको आकार घटाएको अवस्थामा तीन महिना पहिले नै सोको जानकारी दिनुपर्ने नियम बनाएको छ। त्यस्ता जानकारी नदिएको पाइएमा पहिलो पटकलाई तीन हजार सात सय डलर (५० लाख वङ) जरिवाना तिराइने छ। त्यस्तै दोस्रो पटक दोषी पाइए कम्पनीलाई एक करोड वङ तिराइने बताइएको छ।

कोरियामा बढ्दो महँगीका कारण हालका राष्ट्रपति युन सुक योलको पार्टीलाई सर्वसाधारणले कम मत दिएका थिए। यसपछि राष्ट्रपति योलले खाद्यान्नको मूल्य नियन्त्रण गर्न भनेर १५० बिलियन वङ बराबरको खर्च छुट्याएका थिए। त्यसयता मूल्यवृद्धि केही नियन्त्रण भएको थियो। कम्पनीको मूल्य बढाउने प्रवृत्तिलाई निरुत्साहित गर्न स्रिंकफ्लेसनजस्ता कुरामा हालै मात्र ध्यान दिन थालिएको हो।

प्रकाशित: २४ वैशाख २०८१ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App