२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

रासायनिक मल हाल्न ड्रोन

युट्युब तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी छर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६ रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मक्ख थिए।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रद्वारा परीक्षण गर्न खडकको एक बिघा जमिनमा रोपिएको मकैमा ड्रोनमार्फत् युरिया मल छर्किएको हो।

युट्युवमार्फत् विदेशमा ड्रोनबाट मल तथा विषादी हालिएको देखेको बताउँदै चौधरीले भने, ‘आज मेरै जमिनमा लगाइएको मकैमा युरिया मल ड्रोनबाट हालिएको छ।’ एक बिघा जमिनमा लगाइएको दश पाते भइसकेको मकैको बोटमा मान्छे लगाएर युरिया मल हाल्दा दुर्ई दिन लाग्ने गरे पनि ड्रोनबाट युरिया छर्किदा ६ मिनेट ४० सेकेन्डमै सकिएको उनले बताए । उनले भने, ‘एक बिघा जमिनमा यति चाँडै मल छर्किन सकिने यो प्रविधिले कृषकलाई हौसला थपिएको छ।’

ड्रोनबाट विषादी तथा मल छर्किदा मानव स्वास्थ्यमा जोखिम नहुने बताउँदै बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष चौधरीले भने, ‘किसान आफैंले विषादी तथा मल छर्कंदा त्यसको प्रत्यक्ष असर खेतबारीमा छर्कने किसानको स्वाथ्यमा पनि पर्छ। ड्रोन प्रयोग गर्दा मानव स्वास्थ्यमा त्यस्तो असर नपर्ने भयो।’

मानव स्वास्थ्यका लागि पनि ड्रोन प्रविधि अति उपयुक्त रहेको उनी बताउँछन्। ‘मानिसको कदभन्दा अग्ला बाली तथा बोटविरुवामा विषादी तथा रासायनिक मल छर्कन मान्छेको हातले नभ्याउने हुन्छ,’ उनले भने, ‘अग्ला बालीहरूमा त ड्रोन अति नै उपयुक्त हुँदो रहेछ।’

ड्रोन प्रयोग गर्दा समय कम लाग्ने, स्वास्थ्यमा असर नपर्ने र कम मल तथा विषादी लाग्ने गरेको उनी बताउँछन्।

विदेशतिर मात्रै देखिएको यो प्रविधिलाई नेपालमा किसानको सहज पहुँचमा पुगाउन सकेमा कृषितर्फ युवाहरू आकर्षित हुन सक्ने उनी बताउँछन्। ‘त्यही प्रविधिसँग विदेशमा यहाँका युवा कृषि क्षेत्रमा काम गर्दै आएका छन्,’ उनले भने, ‘त्यही प्रविधि नेपालमा भएमा विदेशमा सिकेको सीपलाई स्वदेश फर्केका युवाहरू यहीँ कृषिमा आकर्षित हुन सक्छन्।’

नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ड्रोनबाट वसन्ते मकै बालीमा झोलवाला युरिया मल छर्केर परीक्षण सुरु गरेको हो।

कञ्चनपुरको पुनर्वास र बैलौरी नगरपालिकामा लगाइएको बसन्ते मकै बालीमा ड्रोनको माध्यमले झोलवाला युरिया मल छर्किएर प्रविधि परीक्षण गरिएको हो। ड्रोनबाट युरिया तथा विषादी हाल्दा कुनै पनि बोट विरुवा नछुट्ने र स्वयम् व्यक्तिले हाल्दा हुने जोखिम पनि घटाउने अपेक्षा गरेको किसान बताउँछन्।

ड्रोनमा रासायनिक मल हाल्ने १६ लिटर क्षमताको ट्यांकी जडान गरिएको बताउँदै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डाक्टर श्रीप्रसाद विष्टले भने, ‘ड्रोनको माध्यमले एक विघा क्षेत्रफलमा विषादी छर्किन ६ देखि १० मिनेटसम्म समय लाग्छ। यो प्रविधिमार्फत् विषादी छर्किंदा ९० प्रतिशत प्रभावकारिता बढ्नुका साथै लागतमा पनि ३० प्रतिशत कमी हुने गर्छ।’

रासायनिक मलका कारणले माटो र पानीलाई असर गरिरहेको अवस्थामा तरल रासायनिक मल ड्रोनबाट प्रयोग गर्दा वातावरणमैत्री हुनुका साथै कम लागतमा बढी फाइदा हुने गरेको उनी बताउँछन्।

ड्रोनबाट युरिया मल छर्किने प्रविधि कञ्चनपुर हुँदै कैलाली, बर्दिया बाँके, दाङ र कपिलवस्तु जिल्लाका विभिन्न पालिकामा परीक्षण गरिने बताइएको छ। 

प्रकाशित: १४ वैशाख २०८१ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App