७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विमानस्थल नचल्दा होटल व्यवसायी चिन्तित

फाइल तस्वीर

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले भैरहवाका पर्यटन व्यवसायीमा जति खुसी छाएको थियो अहिले विमानस्थल सञ्चालनमा नआउँदा त्यति नै निराशा छाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि अर्बौं रूपैयाँ लगानी गरेर पर्यटकलाई उत्कृष्ट सेवा सुविधा दिन निर्माण गरिएका होटलहरू नचल्दा व्यवसायी चिन्तित भएका छन्। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीहरू बैंकको ऋणले थिचिएको लुम्बिनी होटलका सञ्चालक रविन्द्र शर्माले बताए।

‘राष्ट्रिय गौरवको आयोजना मध्येको एक विमानस्थल आयोजनाले व्यवसायीलाई सुकुम्बासी बनाउने भयो’, शर्माले भने, ‘व्यवसायीहरूलाई मर्नुभन्दा बौलाउनु निको’ भनेझैं भएको छ।’

कुवेतको जजिरा एयरवेजले केही समय अन्तर्राष्ट्रिय उडान गरेको थियो। जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन २०७९ जेठ २ गतेबाट सातामा तीनवटा उडान गर्दै आइरहेको थियो।

यसैबीच जजिरा एयरवेजले प¥याप्त यात्रु नपाएर गत वर्षको अप्रिल १९ तारिखमा अन्तिम उडान गरेको थियो। जजिराले  व्यावसायिक कारणले उडान बन्द गर्नु परेको बताएको थियो। जजिरा एयरवेजबाहेक हिमालय एअरलाइन्सले डेढ महिनाजति यस विमानस्थलबाट सिंगापुर उडान गरेको थियो।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौरहा र रूपन्देहीको लुम्बिनी भ्रमण गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टबाट निकै छिटो र सजिलो यात्रा तय गर्न सकिन्छ। यही परिवेशलाई विचार गरी व्यवसायीहरू होटलमा लगानी गर्न हिचकिचाएनन्, सरकारले भने उडान नियमित गर्न सकेन र व्यवसायीहरू टाट पल्टिने अवस्थामा पुगे।

 अन्तर्राष्ट्रिय एयरपोर्ट बनेर होटल व्यवसाय चल्छ भनेर तारे होटलहरू धमाधम खोलिएको बताउँदै सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष तथा नान्स होटलका सञ्चालक सिपी श्रेष्ठले पछिल्लो चार वर्षमा निर्माण भई सञ्चालनमा आएका होटल व्यवसायीहरूको स्थिति ज्यादै दयनीय भएको बताए।

‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु अघि एउटा मात्र स्टार होटल थियो’, उनले भने, ‘विमानस्थल निर्माणको क्रममा भैरहवामा मात्र करिब ४०÷५० अर्ब रूपैयाँ होटल क्षेत्रको पूर्वाधारमा लगानी गरिएको छ।’

अहिले भैरहवामा मात्र साना–ठूला गरी एक सय ५० वटा जति होटल सञ्चालनमा छन्। जसमध्ये आधा संख्यामा रहेका होटल गौतमबुद्ध विमानस्थल बन्ने क्रममा खुलेका हुन्। अन्तर्राष्ट्रिय होटल बन्छ र पर्यटकको आगमन बढ्छ भन्ने सोचेर व्यवसायीहरूले होटल क्षेत्रमा अर्बौं लगानी गरेका थिए।

सरकारले अन्तर्राष्ट्रिय उडान गर्न सक्दैनथ्यो भने विमानस्थल सञ्चालनको कार्ययोजना नै बनाउनु हुँदैनथ्यो भन्ने धारणा व्यवसायीहरूको छ। ‘सरकारले लगानी गरेको देखेर निजी क्षेत्रले पनि लगानी गरेको हो, यस्तो दयनीय अवस्था सरकारको अपूर्ण कार्ययोजनाका कारणले आएको हो’, अध्यक्ष श्रेष्ठले भने, ‘यसको क्षतिपूर्ति पनि सरकारले नै भरेर यहाँका व्यवसायीलाई जोगाउनुपर्छ।’

भैरहवाका व्यवसायीहरू मारमा पर्ने अर्को प्रमुख कारण भनेको लुम्बिनी परिसरभित्र सञ्चालनमा आएका ३५ वटा धर्मशालाहरू हुन्। थोरै संख्यामा मात्र परिआएको अवस्थामा आफ्नो मुलुकका नागरिकलाई सामान्य बसोबासको व्यवस्था हुनुपर्ने धर्मशालाहरू होटल जसरी सञ्चालन गरिएकाले परिसरबाहिरका व्यवसायीहरू मारमा परिरहेका छन्। अध्यक्ष श्रेष्ठका अनुसार ५० प्रतिशत बौद्धमार्गी पर्यटकहरू भित्रै बस्ने २५ प्रतिशत जति भारतीय पर्यटक आफ्नै मुलुक फर्कने र बाँकी रहेका पर्यटक मात्र होटलमा बस्ने बताए।

‘सिजनमा पनि भैरहवामा १२/१५ प्रतिशत मात्र पर्यटकको अकुपाई छ, आएका पनि सबै गुम्बा भित्रै बस्छन्’, अध्यक्ष श्रेष्ठले भने। लुम्बिनी परिसरभित्र पूजा पाठ मात्र गर्ने व्यवथा हुने र खाने बस्ने व्यवस्था नहुने हो भने होटल व्यवसायीलाई केही राहत हुन्छ।

 व्यवसायीहरूले पटक पटक अवैधानिक तवरले भित्र बसेका पर्यटकहरूको बारेमा लुम्बिनी विकास कोषसँग छलफल गरे पनि सुनुवाई नभएको त्यहाँका व्यवसायीहरू बताउँछन्। करिब ४० वर्ष अघिदेखि सञ्चालन भएका त्यस्ता धर्मशालाले हाल सय, डेढ सय कोठाहरू परिसर भित्रै सञ्चालन गरिरहेको व्यवसायीहरूले बताए।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर भनी त्यहाँका व्यवसायीहरूले पटक पटक आन्दोलन गरेका थिए। चार महिना अघि मात्र पनि भैरहवाका होटल व्यवसायीहरूले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मन्त्रालयका सचिव, क्यानका अधिकारी, एयरलाइन्स सञ्चालकहरूसँग छलफल पनि गरेका थिए। त्यही बेला तत्कालीन मन्त्री किराँतीले एक महिनाभित्र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन्छ भनेर व्यवसायीहरूसँग प्रतिबद्धता जाहेर गरे पनि चार महिना बितिसक्दासम्म कुनै उडान हुन सकेको छैन्।  

प्रकाशित: १३ वैशाख २०८१ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App