१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नयाँ वर्ष: पर्यटकीय गन्तव्यमा पाहुनाको भिडभाड

लामो समयपछि होटलमा पाहुना भरिए: व्यवसायी

पोखरा फेवातालमा शनिबारको भिडभाड। तस्बिर: नागरिक

व्यवसायीलाई व्यस्त बनाउने गरि पर्यटकीय गन्तव्यमा आन्तरिक पाहुनाको भिडभाड बढेको छ। मुख्य पर्यटकीय सिजनको बेलामा पनि पर्याप्त विदेशी पाहुना नआउँदा केही सुस्ताएको पर्यटन क्षेत्र आन्तरिक पाहुना थपिएसँगै चलायमान बनेको व्यवसायीले बताएका छन्।

पर्यटकीय सहर पोखरा सहित आसपासका पर्यटकीय गाउँ पाहुनामय बनेको त्यहाँका व्यवसायीले बताएका छन्। नेपाली नयाँ वर्षको अवसर पारेर यति बेला पाहुना घुमघाममा निस्केका छन्। पाहुनाका कारण पर्यटकीय सहर पोखरा सहित पदयात्रा क्षेत्रमा समेत उत्तिकै भिडभाड छ।

यहाँका होटलमा पाहुना पर्याप्त रहेको व्यवसायीले बताएका छन्। पर्यटकीय सिजनमा पनि पाहुनाविहीन बनेका होटलका कोठाले अहिले आन्तरिक पाहुना पाएको व्यवसायीले बताएका छन्।

‘लामो समय पछि होटल पाहुनाले भरिभराउ भयो। सिजनका बेलामा पनि यत्ति सारो पाहुना आएका थिएनन्। नेपाली नयाँ वर्षको अवसरमा आएका आन्तरिक पाहुनाका कारण यति बेला कोठा खालि राख्नुपरेन,’ पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डेले भने, ‘यो बेला आन्तरिक पाहुनाको हिस्सा बढी छ। पाहुना भित्रिएसँगै व्यवसायीलाई पनि व्यस्त बनाएको छ।’

उनका अनुसार चितवन र लुम्बिनीमा भन्दा यो बेला पोखरामा पाहुना बढी छन्। ल्याण्डमार्कले सौराहा र लुम्बिनीमा पनि होटल संचालन गरिरहेको छ। तर, त्यहाँका होटलमा भन्दा बढी पाहुना पोखरामा रहेको उनले बताए।

‘आन्तरिक पाहुनाको समय पनि हो। यो बेला विद्यालय बिदा परेकोले पनि पारिवारिक घुमघामका कारण होटलले पाहुना पाएका हुन,’ उनले भने।

होटल एसियाका संचालक धर्मराज पन्थी पनि लामो अन्तरालपछि होटलले भरिभराउ पाहुना पाएको बताउँछन्। ‘मुख्य पर्यटकीय सिजन भएपनि विदेशीको आगमन अझै उच्च आकारको हुन सकेको थिएन। तर, यो बेला आन्तरिक पाहुनाका कारण भिडभाड बढेको हो,’ पन्थीले भने, ‘छोटो समयका लागि भएपनि थपिएको यो भिडभाड केही दिन पछि कम त हुन्छ। तर, पर्यटन क्षेत्र यति बेला चलायमान बन्यो।’ उनले पनि अहिले होटलमा आन्तरिक पाहुनाको भिडभाड रहेको बताए।

पर्यटन व्यवसायीका अनुसार पोखरामा यो बेला आन्तरिक पाहुना पर्याप्त छन्। होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पछिल्लो समय पोखराका होटलको अकुपेन्सी अनुपात ६० प्रतिशत हाराहारीमा थियो। तर, नयाँ वर्षसँगैको भीडभाडले पोखराका होटलको अकुपेन्सी बढेर ९० प्रतिशतसम्म बढेको छ।

‘अधिकांश होटल पाहुनाले भरिभराउ छन्। निकै कम होटलमा मात्र पाहुनाको संख्या कम हुनसक्छ। नत्र भने पाहुना अभाव होइन,’ संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘यो बेला आउने भनेको आन्तरिक पाहुना नै हो। विदेशीको पनि सिजन र आन्तरिकको आगमन बढ्दा पर्यटन क्षेत्र चलायमान बनेको छ।’ अहिलेको भिडभाड छोटो अवधिका लागि भएपनि यसले व्यवसाय चलायमान बनाउन सकेको उनले बताए।

उनका अनुसार यो बेला काठमाडौं, चितवन, बुटवल लगायतका सहरबाट आन्तरिक पाहुना पोखरा आएका छन्। विद्यालयमा वार्षिक परीक्षा सकेका छोराछोरी लिएर पारिवारिक घुमघाममा अहिले पाहुना पोखरा आएको उनले बताए।

‘नियमित आगमनमा कम्तीमा ३० प्रतिशत पाहुना यो बेला थपिएका छन्। त्यसले भिडभाड बढाएको छ। होटलले पनि राहतको महसुस गरेका छन्,’ उनले भने। अहिले गर्मीको सिजन भएकोले भारतीय पाहुना पनि पोखरा भित्रिएका छन्। त्यसले पनि होटलको अकुपेन्सी बढाउन सघाएको उनले बताए।

अगुवा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई पछिल्लो समय आन्तरिक पाहुनामा घुमघामको माहोल बढ्दै जाँदा पोखरामा यति बेला चहलपहल बढेको हो। युवापुस्ताका पाहुना थपिँदा पर्यटकीय गन्तव्य पर्यटनमय बनेको भट्टराईले बताए। ‘यो बेला आन्तरिक पाहुना पोखरामा आएका छन्। घुमघाममा निस्कनुपर्छ भन्ने सोचाइ अहिले आन्तरिक पाहुनामा बढेको छ,’ उनले भने, ‘यसले पर्यटन क्षेत्रमा राहत मिलेको छ।’

भट्टराईका अनुसार अहिले पोखरामा पनि आन्तरिक पाहुनाको भिडभाड छ। ती मध्ये अधिकांश युवापुस्ताका पाहुना छन्।

‘पर्यटन क्षेत्रमा पछिल्लो दशकको उपलब्धि भनेको घुमघाममा आन्तरिक पाहुना आउनु हो। यसले पर्यटन क्षेत्रलाई राहत दिलाएको छ,’ उनले भने, ‘आन्तरिक पाहुना नआउँदा हुन् त पर्यटकीय गन्तव्य यत्तिको चम्किने थिएनन्।’ साथी–भाइको सल्लाहले समूह बनेर घुम्न निस्कने चलन युवापुस्तामा बढेको उनले बताए।

सहरी गन्तव्यमा मात्र नभई पदयात्रामा पनि अहिले पाहुनाको भिडभाड रहेको त्यहाँका व्यवसायीले बताएका छन्। अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा अहिले आन्तरिक र बाह्य पाहुनाको भिडभाड रहेको माछापुच्छ्रे आधारशिविरका व्यवसायी दिलीप गुरुङले बताए। ‘यति बेला आन्तरिक र बाह्य पाहुनाको भिडभाड छ। दिनमा करिब ३ सय हाराहारीमा पाहुना उक्लिएका छन्,’ गुरुङले भने, ‘स्वदेशी र विदेशीको आउजाउले गर्दा पदमार्ग व्यस्त बनेको छ।’

उनका अनुसार चिनियाँ, मलेसियन सहित युरोपियन मूलका पाहुना बढी छन्। तिनैमा मिसिन आन्तरिक पाहुना आउँदा पर्यटन क्षेत्रमा भिडभाड भएको हो। ‘स्वदेशी करिब ४० प्रतिशत छन्। बाँकी सबै विदेशी हुन। तल झर्ने र माथि उक्लिने पाहुनाको भिडभाडले गर्दा व्यवसायीलाई व्यस्त बनाएको छ,’ उनले भने।

प्रकाशित: १ वैशाख २०८१ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App