१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

जुगल हिमालमा पहिलो व्यावसायिक आरोहण

आधारशिविरबाट नेपेमासालबाट देखिएको जुगल हिमाल। तस्बिर: ध्रुव/नागरिक

दुई देशका दश आरोहीले पहिलो पटक जुगल हिमाल प्रथम र दोस्रोको आरोहण गर्ने भएका छन्। नेपालका तीन र दक्षिण कोरियाका सात जनाको संयुक्त टोलीले पहिलो पटक जुगल हिमाल शृंखलामा रहेको ६ हजार ५९१ मिटरको ‘जुगल १’ र ६ हजार ५१८ मिटरको ‘जुगल २’ चुचुराको आरोहण गर्ने भएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहलले गत शनिबार आरोहीलाई बालुवाटारमा बोलाइ दुवै देशको झण्डा हस्तान्तरण गरेका छन्। नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार गत चैत २४ गते काठमाडौंबाट जुगल हिमाल प्रथम र दोस्रो आरोहणका लागि आरोही सदस्यहरू सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका लागि प्रस्थान गरेका छन्।

यो आरोहण नेपाल र मित्र राष्ट्र दक्षिण कोरियाबीच दौँत्य सम्बन्ध कायम भएको ५० वर्ष पुगेको उपलक्ष्यमा गरिएको महासचिव लम्सालले बताए।

लामो समयदेखि यस आरोहणका लागि संघले प्रयास गर्दै आइरहेको जनाउँदै संघका महासचिव लम्सालले नेपालको पर्वतीय पर्यटनको प्रबद्र्धन र सम्बद्र्धनमा सकारात्मक र प्रभावकारी उपलब्धि हासिल गर्ने बताए। ‘अन्तर्राष्ट्रिय जगतमा यस आरोहणले नेपालको पर्वतीय पर्यटनको क्षेत्र विस्तार थप गरेको छ।’ महासचिव लम्सालले भने, ‘यस आरोहणले पाइला नै नपरेका थप हिमालहरूको आरोहणलाई बढावा दिई मुलुकको पर्वतीय पर्यटनलाई चिनाउन विश्वव्यापी आह्वान गर्नेछ।’

नेपालबाट चर्चित कीर्तिमानी आरोही तथा प्रथम महिला अन्तर्राष्ट्रिय हिमाल पथप्रदर्शक दावा याङ्जुम शेर्पा, मिलन तामाङ र सरल सहयात्री रहेका छन्। यस्तै दक्षिण कोरियाका अम होङ गिललगायत साता जना कोरियाली आरोहीहरू छन्।

पर्वतारोहण संघका अनुसार यस आरोहण दलको नेतृत्व दक्षिण कोरियाको तर्फबाट विश्व विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अम होङ गिलले गर्नेछन्। यस्तै नेपालको तर्फबाट दावा याङ्जुम शेर्पाले गर्नेछिन्। आरोहण टोली चैत २५ गते आरोहणका लागि जाने र वैशाख १३ गते आरोहण सफल गरी काठमाडौं फर्कने अपेक्षा संघले गरेको छ।

जुगल बेस क्याम्प (४७०० मिटर) देखि याङ्खर्क हाई क्याम्प र जुगल प्रथम चुचुरोमा पुगेर पुनः हाई क्याम्प (५१०० मिटर) मा झरेपछि जुगल दोस्रोको आरोहण गर्ने जुगल गाउँपालिका पर्यटन समिति अध्यक्ष मिलन तामाङ्ले बताए। ‘काठमाडौंबाट हिँडेको ४/५ दिनमा बेस क्याम्प पुगिन्छ’, तामाङले भने, ‘आरोहीहरू जुगल बेस क्याम्पमा चैत २९ गतेतिर पुग्छन्, ३० गते आराम गरेर वैशाख १ गतेबाट हिमाल आरोहण गर्न सुरु गर्छन्।’

आरोहण दलमा सहभागी सातै दक्षिण कोरियाली आरोही र तीन जना नेपाली आरोहीहरूको सलामी दस्तुर सरकारले मिनाहा गरेको छ। यसैक्रममा हिमाल आरोहणकै समयमा ५० जना कोरियाली पदयात्रीहरू जुगल हिमाल क्षेत्र तथा मुलुकका अन्य क्षेत्रको पदयात्रामा जाने कोरियन आरोही दलका संयोजनकर्ता नाग्वा निग्मा शेर्पाले बताए।

‘कतिपय पर्यटक जुगल हिमाल क्षेत्र नै जान्छन् भने कतिपय अन्नपूर्ण आधारशिविर जानेछन्’, उनले भने, ‘एकैपटक आरोहण र पदयात्रामा जाने भएकाले पर्वतीय पर्यटनमा सकारात्मक प्रभाव पार्छ।’

यो हिमाल आरोहणको संयोजन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, जुगल गाउँपालिका, कोरिया अल्पाइन फेडेरेसन र दक्षिण कोरियाको अम होङ गिल ह्युमन फाउन्डेसनले संयुक्त रूपमा गरेका हुन्।

गत भदौ पहिलो साता संघका अध्यक्षसहितको टोलीले दक्षिण कोरियाको भ्रमण गर्ने क्रममा कोरिया अल्पाइन फेडेरेसन र ओम होङ गिल ह्युमन फाउन्डेसनसँग जुगल हिमाल आरोहणका लागि प्रस्ताव गरेपछि आरोहणको काम अघि बढेको थियो। त्यसपछि नेपाल पर्वतारोहण संघ, कोरिया अल्पाइन फेडेरेसन  र जुगल गाउँपालिकाको पाँच सदस्यीय टोलीले डिसेम्बर २१ देखि जनवरी २०२४ सम्म रूट सर्भे गरेको संघले जनाएको छ।

गत वर्ष (२०७९ साल) को चैत २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृंखलामा पर्ने पाँच वटा चुचुराहरू आरोहणका लागि खुला भएका हुन्। सरकारले जुगल गाउँपालिकामा पर्ने ६ हजार पाँच सय ९१ मिटर अग्लो जुगल १, ६ हजार पाँच सय १८ मिटर अग्लो जुगल २, ६ हजार १८४ मिटर अग्लो जुगल ३, पाँच हजार ९३६ मिटर अग्लो जुगल ४ र पाँच हजार नौ सय २२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गर्ने निर्णयसँगै सो हिमालमा व्यावसायिक आरोहण गर्ने बाटो खुलेको हो। सोहीअनुसार जुगल पहिलो र दोस्रोमा पहिलोपटक आरोहण गर्न लागिएको हो।

हाल सरकारले जम्मा चार सय पाँच वटा हिमाल खुला गरेको छ। कुल चार सय पाँच हिमालमध्ये २७ हिमालका लागि आरोहण अनुमति नेपाल पर्वतारोही संघले र बाँकी विभागले दिँदै आएको छ।

प्रकाशित: २७ चैत्र २०८० ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App