१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लगानी सम्मेलन गर्ने उचित समय होइनः अर्थविद् आचार्य

अर्थविद् केशव आचार्यले आगामी वैशाख १६ र १७ गते हुन लागेको लगानी सम्मेलनका विषयमा सरकारले २०७३ सालको लगानी सम्मेलन १४ खर्ब र २०७६ सालको लगानी सम्मेलनमा ३३ खर्बको प्रतिवद्धता गरेको भएपनि कार्यान्वयनमा राज्य संयन्त्र नलागेको बताएका छन्। 

उनले लगानीका लागि आएका प्रतिवद्धता कार्यान्वयनको लागि चासो नराख्ने देशले पुनः लगानी सम्मेलनको नाममा तमासा देखाउँदा देशको बद्नाम मात्रै हुने दाबी गरेका हुन्।  

लगानी सम्मेलन गर्ने उचित समय नभएको र किसानहरु खुशी नभएको उनले बताए । लघुवित्त,सहकारी, मिटरब्याज पीडितहरु आन्दोलित भएको समयमा लगानी सम्मेलन सफल बनाउन समस्या हुने उनको भनाई छ।  

उनले भने,‘सरकारले लगानी सम्मेलन गर्ने उचित समय होइन । निजी क्षेत्र खुशी छैन् । किसानहरु खुशी छैनन् । लघुवित्त,सहकारी,मिटरब्याज पीडित भनिएको छ । किसानहरुले सडकमा दुध फालिएको अवस्था छ । बैंकमा पैसा थुप्रिएको छ । ६ खर्ब बराबरको तरलता छ । बैंकको ब्याजदर १७ प्रतिशतबाट ११ प्रतिशतमा आयो। अबको दुई तीन महिनामा एकल अंकमा आउँछ। ऋण लिन गइरहेका छैनन्। जब मुलुकभित्रका लगानीकर्तालाई विश्वास छैन। विदेशी लगानीकर्ता आएर नेपालका लगानी गर्ने सम्भावना छैन। त्यसमा पनि सरकार समिकरण फेरिएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राम्रो सन्देश गएको छैन। केही महिना पहिला उद्योगहरुको विद्युत कटौती भएको छ।’

यस्तै,उनले अहिले बैंकमा पैसा थुप्रिएर ६ खर्ब बराबरको तरलता हुँदा समेत लगानीको लागि बैंकमा ऋण लिन जाने वातावरण बनाउन नसकेको जिकिर गरे।  

सरकारले देशभित्रका लगानीकर्तालाई विश्वासमा लिन नसकेको अवस्थामा विदेशी लगानीकर्ता आएर नेपालका लगानी गर्ने सम्भावना नभएको दाबी गरे।  

मुलुकमा सरकार समिकरण बारम्बार परिवर्तन भइरहेकाले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राम्रो सन्देश नगएको र लगानी सम्मेलन सफल बनाउन निजी क्षेत्रलाई विश्वासमा लिन आवश्यक रहेको बताए।  

उनले सरकारले मुलुकको समृद्धिको लागि पुराना अनुभवी राजनितिज्ञ,कर्मचारी,प्रध्यापक,कलाकार,साहित्यकारहरुसँग बहस गर्न आवश्यक देखिएको र लगानी सम्मेलन सफल बनाउनको लागि किसान,उद्योगी व्यवसायीहश्रलाई राज्यले संरक्षण गर्न आवश्यक रहेको समेत बताए।  

यस्तै,उनले कम्तीमा पनि सरकारले जलविद्युत,पर्यटन,कृषि,आईटी, होटल,पूर्वाधारका आयोजनाहरु प्रदर्शन गर्न सक्नुपर्ने र राजनीतिक रुपमा नेपाल स्थिर मुलुक नभएको अन्तर्राष्ट्रिय देशहरुमा सन्देश गएकाले राजनीतिक स्थिरता कायम गर्न जरुरी रहेको बताए।

प्रकाशित: २३ चैत्र २०८० १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App