२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

म्यादभन्दा ९ महिना अघि नै सकियो पुल निर्माण

वैजनाथ पुल।

नेपालका अधिकतर विकास निर्माणका योजनाहरू सम्झौता अवधि गुज्रेको वर्षौँसम्म नबनेर अलपत्र पर्ने गरेका छन्। कतिपय योजनाहरू अढाई–तीन दशकसम्म पनि निर्माण हुन सकेका छैनन् भने ५–१० वर्षसम्म काम सम्पन्न नभएकाहरू त बग्रेल्ती छन्। 

उदयपुर र खोटाङ जोड्ने गाईघाट–दिक्तेल सडक ३३ वर्ष पुगिसक्दा सम्म आधा पनि सम्पन्न हुन सकेको छैन। धाब्लाङ, बंशीलाघाट र रानीटारका पुल निर्माण सुरु भएको दशक पुग्नै लाग्दासम्म बन्ने सुरसार नै छैनन्।

यसरी वर्षौँसम्म काम नभएर कैयौँ योजनाहरू अलपत्र परेको देख्दै भोग्दै आएको हाम्रो समाजलाई उदयपुरको वैजनाथ खोलामा म्याद सकिनुभन्दा ९ महिनाअघि नै निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल देख्दा अचम्म लाग्न सक्छ।

कटारी नगरपालिका-५ र ६ बीच पर्ने रिस्कु स्थित वैजनाथ खोलाको पुल सम्झौता अवधि सकिनुभन्दा ९ महिना अघि नै सम्पन्न भएर भर्खरै सञ्चालनमा आएको हो। रिस्कु सोमबारे स्थित वैजनाथ खोलामा पल्लो रिस्कुलाई जोड्ने ८४.२० मिटर लामो पक्की पुल ०८१ पुस ६ गतेभित्र बनाइसक्नु पर्नेमा यही चैत १७ गते निर्माण सकेर सञ्चालन भएको हो।

प्रदेश सरकार, प्रादेशिक सडक पुल सहयोग एकाइ इटहरी मातहत पूर्वाधार विकास कार्यालय उदयपुरको प्राविधिक रेखदेखमा निर्माण सम्पन्न भएको पुल १४ करोडको लागत इस्टीमेट भए पनि मूल्य अभिवृद्धि कर (भ्याट) सहित सवा १३ करोड बनेको हो।

पैदल यात्रा गर्न दुईतर्फी १.२० मिटर छाडेर ६ मिटर चौडाइको पुल निर्माण गर्ने जिम्मा पाएको केएम इन्जिनियरिङ विल्डर्सले गत ०७९ पुस ७ गते ठेक्का सम्झौता गरेर ०८१ पुस ६ गतेभित्र सम्पन्न गर्ने म्याद लिएको थियो। तर, अन्तिम म्याद सकिनुभन्दा ९ महिना अगावै पुल बनाई सकेर सञ्चालनमा ल्याइसकेको छ।

केएम इन्जिनियरिङ विल्डर्सका प्रतिनिधि मोहन कार्कीले स्थानीयवासीको माग, नजिकिँदो वर्षा र बाढीको जोखिमबाट बँचाउनुपर्ने अव्यक्तता आधारमा काम द्रुतगतिमा गरिएको बताए। पुल बनाउनै गर्दा वर्षायामको अवस्था देखेर पनि छिट्टै बनाउनुपर्ने आवश्यकता ठानी तदारुकताका साथ निर्माण कार्य गरेर अगाडि नै सम्पन्न गरेको कार्कीले सुनाए।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले सम्झौता म्यादभन्दा अगाडि नै पुल बनेको आफ्नो नगरपालिकामा यो पहिलो घटना भएको बताए।

कटारी नगरभित्रै दर्जनौँ योनजाहरु सञ्चालन भइरहेको र सम्झौता अवधि नाघेको वर्षौँसम्म पटकपटक म्याद थपेर काम गर्दै आएको बताउँदै मेयर श्रेष्ठले भने ‘तर, यो पुल ९ महिनाअघि बन्नु अपवादको घटना हो। यसैगरी सबै योजनाहरू निर्माण गर्ने हो भने देश र समाज अघि बढ्न समय लाग्दैन।’ मेयर श्रेष्ठले छिटो काम गरेको निर्माण कम्पनीलाई स्याबासी दिएका छन्।

दुई दिनअघि पुलको उद्घाटन भएर सञ्चालनमा आएपछि वर्षौँदेखि खोला बाढीको कहर सहँदै आएका स्थानवासीलाई आउँदो वर्षादेखि त्यो कहरबाट छुटकारा मिलेको छ।

कटारी-७ का वडाध्यक्ष सुविन ढुङ्गानाका अनुसार साविकको रिस्कु गाविस भएकाले कक्षा १२ सम्म सञ्चालित जनप्रेमी मावि, प्रहरी चौकी, स्वास्थ्य चौकी, हुलाक र वडा कार्यालय ७ नं. मा छन्।

स्थानीय तह पुनर्संरचनापछि रिस्कुलाई-६ र ७ नं. वडामा विभाजन भए पनि शिक्षा, स्वास्थ्य, हुलाक र प्रहरी सेवाका लागि ६ नं. वासी पल्लो रिस्कु पुग्नुपर्ने बाध्यता छ। तर, बीच भएर बग्ने वैजनाथ खोला हिउँद याममा सामान्य भए पनि वर्षा लागेसत्तै बाढी आउने हुँदा पुल अभावमा आउजाउ गर्न धेरै कठिनाइ भोग्दै आउनुपरेको छ।

पुल नहुँदा पहिला पहिला धेरै जोखिम मोलेर पढ्न जानुपर्ने बाध्यता रहेकोमा यो पुल बनेपछि सिस्कुवासीलाई सहज भएको स्थानीय नारदमणि राईले बताए। वडा अलग भए पनि शिक्षा, स्वास्थ्य, हुलाक र प्रहरी सेवा लिन ७ नं. मै पुग्नुपर्ने अवस्थालाई यो पुलले सहज बनाएको राई सुनाउँछन्।

प्रकाशित: २१ चैत्र २०८० २०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App