१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरामा फेवा महोत्सवको तयारी, तीनलाख पाहुना भित्र्याउने लक्ष्य

नेपाली नयाँवर्षको अवसरमा आयोजना हुने फेवा नववर्ष महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने आयोजक होटल संघले बताएको छ। आन्तरिक, विदेशी र स्थानीय गरि महोत्सव अवधिमा तीनलाख पाहुना भित्र्याउने आयोजकको भनाई छ।  

चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा १९ औं संस्करणको फेवा नवबर्ष महोत्सव आयोजना हुँदैछ। महोत्सवको आयोजना होटल संघले गरेको हो। पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखराले ड्यामसाइडदेखि खहरे चोकसम्म सडकमा नै महोत्सव आयोजना गर्ने बताएको छ।  

संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले आन्तरिक पाहुनालाई पोखरा भित्र्याउने गरि महोत्सव आयोजना गरेको बताए। उनका अनुसार यतिबेला आन्तरिक पाहुनाको पनि सिजन हो। यो बेला विद्यालयको वार्षिक परीक्षा सकिएकोले पनि फुर्सदिला भएका छोराछोरीलाई लिएर अभिभावकहरु घुम्न आउने उनले बताए। त्यसबाहेक मुख्य पर्यटकीय सिजन परेकोले भारतीय र आन्तरिक पाहुनाको आगमन बढाउन यो महोत्सवले सघाउने उनले बताए।

नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने र कोभिड–१९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्देश्यले आयोजना हुने र महोत्सवमा सांस्कृतिक झाँकी, पञ्चेबाजा, दोहोरी, नाचगानका कार्यक्रम, कन्सर्ट र पर्यटक दौड समावेश हुने संयोजक सुवेदीले उल्लेख गरे।  

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको खुसियाली र नयाँवर्षलाई उल्लासपूर्ण बनाउन संघ अन्तर्गतका होटलले पाहुनालाई २० प्रतिशतसम्म छुट प्रदान गर्ने पनि उनले स्पष्ट पारे। अन्य व्यवसायीले समेत आफ्ना सेवा सुविधामा छुट प्रदान गर्ने सुवेदीले बताए। ‘पाहुनालाई केही सस्तो परोस भनेर हामीले छुट दिएका हौं। छुटले पाहुनालाई पोखरा तान्न सघाउँछ,’ उनले भने, ‘पोखरामा बसाई अवधि बढाउन पनि छुटले सघाउँछ।’  

पोखरा र वरपरका एकहजार दुईसय होटलमा करिब ४० हजार शैया रहेको उनले बताए। होटल संघ अन्तर्गत मात्र चारसय ४७ होटल रहेको, लेकसाइड र ड्यामसाइड क्षेत्रमा सातसय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्यांक सुनाए।  अहिले पोखराको होटलमा ५० देखि ६० प्रतिशत हाराहारीको अकुपेन्सी रहेको पनि उनले जानकारी दिए।

 ‘पाहुना आउने सिजन हो। तरपनि यो पटक सोचेजति विदेशी अझै आएका छैनन,’ उनले भने, ‘यो महोत्सव मार्फत थप पाहुना भित्र्याउने लक्ष्य हाम्रो हो।’

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले संघले पछिल्लो पटक खुला चौरमा मात्र नभई सडकमा नै महोत्सव आयोजना गर्न थालेपछि सहभागिता जनाउने पर्यटक र आगन्तुकको भीड बढ्दै गएको बताए। फेवा नववर्ष महोत्सवले आन्तरिक बाहेक भारतीय पाहुनालाई पनि तान्न सकेको उनले बताए । ‘भारतमा यो बेला गर्मि हुने गर्मी छल्ने निहुँमा भारतीय पाहुना पोखरा आउने गर्छन। धार्मिक पर्यटकको त यो बेला मुख्य सिजन नै हो,’ उनले भने, ‘महोत्सवमा रमाउन पनि थप भारतीय पाहुना पोखरा आउँछन।’  

नेपाली नयाँ बर्षका अवसरमा पोखरा घुम्न आउने पर्यटक संख्या पछिल्ला वर्षहरुमा बढ्दै गएको र अहिले भारतीय पर्यटकको संख्या समेत बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।  

प्रकाशित: २१ चैत्र २०८० १४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App