२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लतिलपुरमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकाे राैनक

अन्तर्राष्ट्रिय महिला उद्यमी महासंघ नेपालद्वारा आयोजित मेलाको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । साथमा महासंघकी अध्यक्ष शोभा ज्ञवालीलगायत। तस्बिर : नागरिक

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ। उद्यमी महिलाहरूको साझा संस्था महिला उद्यमी महासंघ नेपाल (एफविन) ले आयोजना गरेको उक्त मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन्।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा चैत १६ देखि २० गतेसम्म हुने सातौं संस्करणको मेला उद्यमी महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धन तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निर्यातका लागि सहजीकरण गर्ने उद्देश्यले आयोजना गरिएको हो। मेलामा प्रधानमन्त्री दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताए।

विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको सन्दभै जोड्दै र खुसी प्रकट गर्दै उनले भने, ‘आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। महिला सशक्तीकरणका लागि अभैm थुप्रै काम गर्न बाँकी छ। महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’

‘शक्ति अर्थसँग जोडिएको छ। आर्थिक रूपमा सशक्त नभई साँचो सशक्तीकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ, महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्त्वपूर्ण रहेको छ,’ प्रधानमन्त्री दाहालले भने।

व्यापार मेला उद्घाटन कार्यक्रममा सहभागी महिला उद्यमी।

प्रधानमन्त्री दाहालका अनुसार सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगलाई प्रवद्र्धन गर्न कर छुटदेखि अन्य सहुलियतपूर्ण प्रबन्ध गरेको छ। आगामी दिनमा त्यसलाई बढाउँदै लगिनेछ। महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायमा करछुट र सहुलियतका कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउँदै भविष्यमा त्यसलाई बढाएर लगिने उनले बताए।

महासंघले स्वदेशी महिला उद्यमीका साझा सरोकारका विषयमा केन्द्रित भई अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहिचान दिलाउने काम गर्दै आएको छ। मुख्यगरी मेलाबाट उद्यमी महिलालाई व्यापार विस्तारका लागि पहुँच विस्तारमा मद्दत मिल्ने संघकी अध्यक्ष शोभा ज्ञवालीले बताइन्।

महिलाको हकमा स्थानीय स्तरदेखि नै उद्यमशीलताको विकास गर्न सकियो भने आत्मनिर्भरताका साथै महिला सशक्तीकरणमा पनि महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनले बताइन्।

‘महिलाहरूको नेतृत्वमै महिलालाई आत्मनिर्भर बनाउने यो विशाल परिकल्पना हामीले गरेका छौं,’ उनले भनिन्, ‘विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा महिलाको आवाज उठाउँदै आउनुका साथै सचेतना जगाउने, वकालत गर्ने, सिपमूलक तालिम दिने र सम्बन्धित निकायसँगको समन्वयमा कार्य निरन्तर रूपमा गर्दै आएका छौं।’

महिला सबल समाजको सकारात्मक रूपान्तरण गर्न निकै गहिरा खाडललाई पुर्दै अघि बढ्नुका साथै विशाल उद्देश्यलाई परिपूर्ण गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको उनले बताइन्।

उनले भनिन्, ‘उद्यमी महिला आफैंले अन्य स्रोतबाट सिकेर होस् या महासंघले सिकाएर उद्यम व्यापार त गरिरहनु भएको छ। तर, मेलामा आफूजस्तै उद्यम गरेकाहरूले के कसरी गरेका छन्, आफू कहाँ चुकेको छु, थप राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा साथीहरूको हेरेर पनि सिक्ने मौका मिल्छ।’

देशका विभिन्न परिवर्तन र विशेष गरी आममहिलालाई राज्यको मूल धारमा ल्याई उनीहरूको वास्तविकता र यथार्थलाई महासंघको मूल्य र मान्यतासँग आत्मसात् गराउने सपना रहेको ज्ञवालीले बताइन्।

मेलाको अवसरमा महासंघले ललितपुर, नख्खुस्थित मानुषीकी संस्थापक अध्यक्ष पद्मासना शाक्य र लामो समयदेखि सामाजिक क्रियाकलापमा आबद्ध इलामकी विष्णुकुमारी लिम्बु दाहाललाई सम्मानित गरिएको हो।

मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय मुलुकका महिला उद्यमीको पनि सहभागिता रहेको छ। सो मेलामा हस्तकलाका उत्पादन, ढाका र हाते कागजकमा वस्तु, खानेकुराका परिकार, कृषिजन्य उत्पादन, जडिबुटी, गरगहना र अन्य धेरै स्वदेशी सामानको प्रदर्शनी छ।

महासंघले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेसी, बिजनेस डेभलपमेन्ट, क्यापासिटी बिल्डिङ र नेटवर्किङमा केन्द्रित रहेर काम गर्दै आएको छ। यही उद्देश्यअन्तर्गत हरेक वर्ष यसरी नै राष्ट्रिय स्तरको मेला आयोजना गर्दै आएको महासंघले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०८० १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App