१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

फागुको रङले स्वागत गरिँदै पर्यटक

फाइल तस्बिर

फागुको रङले पर्यटन क्षेत्रलाई पनि रंगीन बनाउने अपेक्षा पर्यटन व्यवसायीले लिएका छन्। कोरोनापछि बिस्तारै तंग्रिने तरखरमा रहेको पर्यटन क्षेत्रलाई फागु पर्वले थोरै भए पनि राहत दिने उनीहरूको बुझाइ छ।

यसैक्रममा विभिन्न पर्यटकीय स्थलहरूमा विदेशी पर्यटक लक्षित कार्यक्रमहरू हुने भएका छन्। होली पर्वको धार्मिक महत्वलाई आधार मान्दै पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुर्‍याउन विभिन्न कार्यक्रम गरिने भएका हुन्।

ठमेल पर्यटन विकास परिषद्ले विदेशी पर्यटक लक्षित विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना गर्ने भएको छ। परिषद्ले फागुको अवसरमा मुलुकको कला, संस्कृतिलाई संरक्षण गर्दै विदेशी पर्यटकलाईसमेत सहभागी गराएर धार्मिक पर्वको प्रचारप्रसार गर्ने योजना बनाएको बताए।

यसैक्रममा परिषद्ले होटल, ट्राभल-टुर एजेन्सीसँग आवद्ध रहेका सबै पर्यटकलाई सहभागी गराउने वातारण तयार गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।

‘हामीले ठमेलस्थित होटल, ट्रेकिङ र टुर एजेन्सीमा भएका विदेशी पर्यटकलाई सकेसम्म कार्यक्रममा सहभागी गराउन अनेक उपायले आह्वान गरेका छौं।’ उनले भने, ‘होली रङहरूको पर्व मात्र नभएर सांस्कृतिक मूल्य मान्यता बोकेको विशेष महत्वको पर्वसमेत हो। यसले विदेशीलाई छुट्टै मनोरञ्जन प्रदान गर्छ।’  

उनका अनुसार होलीको अवसरमा ठमेलस्थित सञ्चयकोष अगाडि भव्य सांगीतिक कार्यक्रम हुनेछ । चर्चित राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिने उक्त सांगीतिक कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुने अध्यक्ष शर्माले बताए। उनका अनुसार कुनै पनि चाडपर्वमा पर्यटक लक्षित कार्यक्रमले पर्यटन प्रवर्द्धन गर्न प्रभावकारी भूमिका खेलिरहेका हुन्छन्।

‘चाडपर्वमा हुने कार्यक्रमले भविष्यमा थप पर्यटक ल्याउन, ट्रेकिङ र टुरमा गएका पर्यटक कार्यक्रममा जसरी भए पनि पुग्नुपर्छ भन्ने स्थिति सिर्जना गर्न, र एक दिन भए पनि बसाइ लम्ब्याउन सकिन्छ’, शर्माले भने, ‘विदेशी पर्यटकलाई मनोरञ्जन दिन मात्र होइन सहभागिता वृद्धि गर्न सके समग्र पर्यटन क्षेत्रलाई नै फाइदा पुग्नेमा शंका छैन्।’

फागु पर्व मुलुकभरि मनाइन्छ। रङहरूको पर्व भनेर चिनिने फागु पर्व पहाडमा र तराइमा गरेर दुई दिन भव्यरूपले मनाइन्छ। यस वर्ष पनि पहाडमा यही चैत ११ गते र तराइमा १२ गते फागु पर्व मनाइँदै छ।  

यस्तै पर्यटकीय राजधानी पोखरामा पनि विदेशी तथा स्वदेशी पर्यटक लक्षित कार्यक्रम आयोजना गरिने पोखरा पर्यटन परिषद्ले जनाएको छ। गत वर्षहरू जस्तै यस वर्ष पनि पोखरामा विभिन्न सांगीतिक कार्यक्रम र फिस्टेल गेटदेखि खहरे चोकसम्म स्वागत सत्कार तथा शुभकामना आदानप्रदान र्‍याली हुने जानकारी परिषद्ले दिएको छ।

नेपालमा हुने फागु पूर्णिमा, धान दिवस, नयाँ वर्ष लगायतका चाडपर्व विदेशी पर्यटक माझ छुट्टै आकर्षण र गहिरो मोह रहेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। उनले फागुमा पर्यटकसँग रमाउदै रङहरूका साथ माया र सद्भाव बाँड्न परिषद्ले विभिन्न कार्यक्रम आयोजना गर्ने बताए।

पोखरामा फागु मनाउन भारत, युरोप अमेरिका लगायत पर्यटक आउने जनाउँदै श्रेष्ठले फागु पर्वले पोखराका पर्यटन व्यवसायीलाई आर्थिक रूपमा पनि लाभ दिइरहेको बताए।

‘पर्यटनको राजधानी पोखरा घोषणा भएपछिको पहिलो फागु पूर्णिमा झन् विशेष हुने अध्यक्ष श्रेष्ठले बताए। ‘पर्यटनको राजधानी पोखरामा यसपटक थप भव्य कार्यक्रम हुनेछन्’, श्रेष्ठले भने, ‘विशेष त सांगीतिक कार्यक्रमहरू गरिने भएको छ, त्यसपछि अन्य कार्यक्रम पनि छन्।’ यसका लागि पोखरामा सुरक्षा व्यवस्थाको तयारी भइरहेको उनले बताए।

प्रकाशित: ११ चैत्र २०८० ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App