१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिलाइ सिक्दै तिलाका महिला

सिलाइबुनाइ सीप सिक्दै तिला गाउँपालिकाका महिला। तस्बिर : नागरिक

सुलचना दमाईको घर तिला गाउँपालिका वडा नम्बर १ रारा गाउँ हो। उनले पहिलो तहको तालिममा पेटिकोट, टोपी, कुर्ता, सुरुवाल, भोटा, बछा, पेटिकोट र म्याक्सी सिलाउन जानिन्। 

यसैगरी तिला–७ पोखरी गाउँकी २५ वर्षकी गोइली रोकाया गाउँमै स्वरोजगार बन्ने सपना बोकेर सिलाइकटाइ सिकिरहेकी छन्।

सुलचना दमाई र गोइली रोकायासहित १८ जना स्थानीय महिला भोटा, पेटिकोटदेखि दौरा, सुरुवाल, ब्लाउज, सर्टहरू सिलाउने सीप सिकिरहेका छन्।

कमजोर आर्थिक अवस्था भएका महिलालाई व्यावसायिक बनाउने ध्येय राखेर सञ्चालन गरिएको तीन सय ९० घन्टे ‘सीपमूलक तालिम सञ्चालन भइरहेको छ।

तालिममा सहभागी तिला– १ रारा गाउँकी सुलचना दमाई भन्छिन्, ‘पहिलो चरणमा बच्चाका लुगा सिलाउन सिक्यौं । अहिले सर्ट, पाइन्ट, दौरा, सुरुवाल र कोट, पाइन्ट सिलाउन सिक्दै छु।’

यस्तै तिला– ७ पोखरी गाउँकी गोइली रोकाया गाउँमै स्वरोजगार बन्ने सपना बोकेर सिलाइ कटाइ सीप सिकेको बताउँछिन्। उनी भन्छिन्, ‘सीप हासिल गरिसकेपछि गाउँमै टेलरिङ सेन्टर खोल्ने सोच छ।’

नयाँ–नयाँ डिजाइनका कपडा सिलाउने सके यो व्यवसायमा राम्रो सम्भावना छ भन्ने लागेर सिलाइकटाइ उद्यम रोजेको उनी बताउँछिन्। ‘गाउँमै सिलाइकटाइको राम्रो बजार छ’, रोकायाले भनिन्, ‘राम्रो डिजाइनमा लुगा सिलाउन सके यसैबाट स्वरोजगार बन्न सकिने छ।’

गाउँमै टेलरिङ सेन्टर खोल्ने उद्देश्य राखेर तालिममा आएको बताउँछिन् लिही गाउँकी तारा नेपाली। ‘कपडा सिलाउन सदरमुकाम पुग्नुपर्छ। जाँदा–आउँदा उत्तिकै गाडी भाडा, खाना र खाजामा थुप्रै रकम खर्च हुन्छ’, ताराले भनिन्, ‘गाउँमा सिलाइ कटाइ सञ्चालन गर्न सकियो भने सो रकम बच्छ। राम्रो आम्दानी गर्न सकिन्छ भनेर लागेका हुँ।’

यस्तै तिला– ५ ढिमकोटकी २३ वर्षकी हरिदेवी बुढा लत्ताकपडा सिलाएर जीविकोपार्जन गर्न सक्छु भन्ने प्रेरणा मिलेको बताउँछिन्। उनी भन्छिन्, ‘सिलाइकटाइ सिक्दै छु। यसबाटै केही गर्न सकिन्छ भन्ने आशा पलाएको छ।’

यता तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले सिलाइबुनाइ सिकेर आत्मनिर्भर हुन सक्दा राम्रो हुने बताए। उनी भन्छन्, ‘गाउँमा लुगा सिलाउने टेलरिङ सेन्टर खुल्न सकेको छैन। सीप सिकेर राम्रो सिलाइबुनाइ गर्न सके रोजगारका लागि कतै जानु पर्दैन। गाउँमै आत्मनिर्भर हुन सकिन्छ।’

जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले सिलाइकटाइ सीपपछि व्यवसायमा लागेमा महिलालाई आफ्नो दैनिकी र घरपरिवार सञ्चालन गर्न सजिलो हुने बताए। उनी भन्छन्, ‘सिलाइ व्यवसाय आम्दानीका लागि भरपर्दो र दिगो स्रोत हो।’

महिलाहरू आयआर्जनमा समावेश हुँदा उनीहरूको दैनिक दिनचर्चा फेरिने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौंलागाईं बताउँछन्। उनी भन्छन्, ‘आत्मनिर्भर हुँदा जीवनस्तरमा परिवर्तन आई आत्मसम्मान बढ्ने छ।’

तालिम किडार्क नेपाल जुम्लाको आयोजना, वल्र्ड भिजन इन्टरनेसनल जुम्लाको आर्थिक सहयोग र तिला गाउँपालिकाको समन्वयमा सञ्चालन भइरहेको छ।

प्रकाशित: १० चैत्र २०८० ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App