१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धन गर्न बागलुङ र लुम्बिनीकाे भगिनी सम्बन्ध

आन्त्रिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

विश्व सम्पदामा सूचीकृत विश्व शान्ति क्षेत्र, धार्मिक एवं पर्यटकीय नगरी लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी प्रदेश र धार्मिक एवं पर्यटकीय नगर बागलुङ नगरपालिकाबीच पर्यटन प्रवद्र्धन, असल अभ्यास र अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध कायम गरिएको समझदारीपत्रमा उल्लेख छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। भगिनी सम्बन्ध स्थापना गर्न नगर प्रमुख मुसलमान, उपप्रमुख कल्पना हरिजनसहितका जनप्रतिनिधि र कर्मचारी बागलुङ नगरपालिका आएका थिए।

भगिनी सम्बन्ध स्थापनाबाट दुई नगरपालिकाबीच कला तथा संस्कृति आदानप्रदान गर्न सहयोग पुग्ने बताउँदै बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले असल अभ्यासको आदानप्रदान र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुने उल्लेख गरे।

नगर प्रमुख मुसलमानले भगवान् गौतमबुद्धको जन्मभूमि नगरपालिका र धार्मिक हिसाबले पवित्र तपोभूमिका रुपमा रहेको बागलुङ नगरपालिकाको कला, संस्कृति, भाषा, भेषभूषासँगै अनुभव आदानप्रदान गर्न समझदारीबाट योगदान पुग्ने विश्वास व्यक्त गरे। –रासस

प्रकाशित: ८ चैत्र २०८० ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App