१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर : नागरिक

सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गराउन नसक्दा पर्यटन क्षेत्र समस्याग्रस्त बनेको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत ठूलो लगानीमा निर्माण भएका यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न नसक्दा पर्यटन क्षेत्रको लय बिग्रिरहेको गुनासो सरोकारवालाको छ।

‘जबसम्म विदेशी मुलुकसँग अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी गर्न सकिँदैन, तबसम्म नेपालको पर्यटनले सोचेअनुरूपको गति लिन सक्दैन’, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘स्वाभाविक रूपमा आउने पर्यटकले मुुलुकको पर्यटनको विकास सम्भव छैन। त्यसैले सरकारले अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी बढाउन जरूरी छ।’

अध्यक्ष शर्माले छिमेकी मुलुक भारतमा जति पनि हवाई उडान भइरहेका छन्, ती नेपालको पर्यटनका लागि पर्याप्त नभएको बताए। सरकारले चीन र भारतको प्रत्येक अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कनेक्टिभिटी विस्तार गर्नु अहिलेको प्रमुख अवश्यकता भएको उनको बुझाइ छ।

‘भारतका केही सहरमा हुने अन्तर्राष्ट्रिय उडानले मात्र नेपाल आउने पर्यटकको लय धान्न सक्दैन, शर्माले भने, ‘अन्य मुलुकमा पनि हवाई कनेक्सन छिटो गनुप¥यो।’ उनले चीन र भारत मात्र नभएर युरोप अमेरिकालगायतका मुलुकसँग पनि कूटनीतिक पहल गरेर हवाई उडानका लागि पहल गर्नुपर्ने बताए।

सरकारले अहिले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने विमानलाई विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रोत्साहन गरिएको अवस्थामा कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले नियमित उडान गरेका छैनन्। मुलुकमा पर्यटनको अथाह सम्भावना हुँदा पनि विदेशी पर्यटकको आकर्षण नेपालतर्फ बढाउन समस्या भइरहेको छ।

‘विदेशी पर्यटक मुलुक घुम्न आउन चाहे भने हामीसँग पर्याप्त अन्तर्राष्ट्रिय उडान छन्, तर वर्षमा ३०-३५ लाख पर्यटकलाई सेवा, सुविधा दिन र सबै सिजन पर्यटनको गतिविधि गर्न सक्ने क्षमता भएर के गर्नु ? सरकारले नेपाल घुम्न आउन चाहने पर्यटकलाई सहज हवाई टिकट पाउने व्यवस्थासम्म पनि गर्न सकेको छैन’, अध्यक्ष शर्माले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि सरकारको कूटनीतिक पहल नै पुगेन। यो सरकारको कमजोरी हो। सरकारले यसलाई सम्बोधन गर्न नसक्दा पर्यटन व्यवसायी निराश भइसकेका छन्। सबैभन्दा पहिले सरकारले विभिन्न मुलुकसँग कनेक्टिङ फ्लाइट गर्नुपर्‍यो।’

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २२ महिना भइसक्यो। गत वर्ष जेठ २ गते बुद्धजयन्तीको अवसर पारेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर : नागरिक

नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजले गौतमबुद्ध विमानस्थलबाट ‘प्रोमोसनल सेड्युल फ्लाइट’ गरेको थियो। त्यसपछि कुबेतको अलजजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो। कुबेत–भैरहवा उडान गरिरहेको एयरलाइन्सले केही समय अन्तर्राष्ट्रिय उडान गरेको थियो, तर विभिन्न कारण देखाएर अलजजिराले केही समयपछि उडान बन्द गरेको थियो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार किल्लाका रूपमा मानिएको छ। सञ्चालनमा आइसकेको करिब २ वर्ष हुन लाग्दा समय–समयमा चार्टर्ड फ्लाइटबाहेक नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन।

यस्तै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै डेढ वर्ष पुगिसकेको छ। गौतबुद्धमा जस्तै पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय हवाई उडान हुन सकेका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोहबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही समारोहमा हिमालय एयरलाइन्सले न्यारोबडी विमानबाट डेमो फ्लाइट गरेको थियो। विमानस्थल सञ्चालनमा आएको १५ महिना पुगिसक्दा पनि अझै अन्तर्राष्ट्रिय उडान नियमित हुन भने सकेको छैन।

यसबीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग ६÷७ वटा मात्र अन्तर्राष्ट्रिय उडानहरू भएका छन्। गत असार ६ गते चीनको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

विमानस्थल सञ्चालनमा आएपछि हिमालय एयरलाइन्सले गरेको डेमो उडानबाहेक यात्रुसहितको पहिलो अन्तर्राष्ट्रिय अवतरण सिचुआनको थियो। त्यसको दुई महिनापछि भदै २२ मा भुटानबाट उडेको ड्रुक एयरको जहाज पोखरामा अवतरण हुने सिचुआनपछिको दोस्रो अन्तर्राष्ट्रिय अवतरण थियो। सो अवतरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको पहिलो व्यावसायिक उडान पनि भनेको थियो।

क्रमिक रूपमा कात्तिक २२ गते चीनको दुईवटा कार्गो जहाज र कात्तिक २४ गते हिमालयन एयरलाइन्सको जहाज गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६-७ वटा जहाज मात्र अवतरण गरेका छन्। अर्बौं लगानी गरेर निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थलहरू अन्तर्राष्ट्रिय उडानको डेमो, आपतकालीन र चार्टर्ड उडानका लागि मात्र प्रयोग भइरहेकाले पर्यटन व्यवसायीहरू मारमा परेका छन्।

दुवै विमानस्थलबाट सरकारले पटकपटक अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेका छन् भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। यसैक्रममा प्रधानमन्त्री दाहालले गत पुस ११ गते आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै ठूलो खर्च भएको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न पहल भइरहेको बताएका थिए।

सोही बेला उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पनि पहल भइरहेको बताएका थिए। त्यो पहलले अझै साकार हुने अवसर पाएको छैन।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताउँदै आएका छन्।

प्रकाशित: ७ चैत्र २०८० ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App