१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल आउन चाहने पर्यटकलाई स्वागतमा ‘फ्री भिसा’ पुरस्कार!

सरकारले विदेशबाट धेरै पर्यटक ल्याउने लक्ष्य राखे पनि उपयुक्त नीति नहुँदा पर्यटक आकर्षित हुन सकेका छैनन्। धेरै पर्यटक भित्र्याउने मुलुकहरूले विदेशी पर्यटकलाई सहज रूपमा प्रवेशाज्ञा दिए पनि नेपालले सीमित मुलुकलाई मात्र यो सुविधा दिँदा पर्यटक आगमन बढ्न नसकेको सरोकारवालाले बताएका छन्।

सरकारले सचेत भएर ‘फ्री भिसा’ व्यवस्था नीति लिई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्न सके नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्नेमा शंका नहुने पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।

‘नेपाल आउन लाग्ने भिसा शुल्क त्यति धेरै छैन। पर्यटकले तिर्न नसक्ने भन्ने त होइन तर उनीहरूलाई नेपाल आउन आह्वान गर्ने हिसाबले ‘फ्री भिसा’ अन्तर्राष्ट्रिय रूपमा स्वागतम पुरस्कार जस्तो गरी प्रचारप्रसार गर्न सके पर्यटक आगमनमा यसले सकारात्मक प्रभाव पार्छ।’

उनले भने, ‘आखिर पर्यटन भनेको मुलुक भित्रिएका पर्यटकले सहज रूपमा प्राप्त गर्ने सेवा र सत्कारको क्षेत्र हो। त्यसैले कुनै पर्यटकको लागि सहज प्रवेशाज्ञा सकारात्मक कदम हो।’

गत फेब्रुअरीमा नेपालभन्दा २०४.७९ गुणा सानो मुलुक सिंगापुरले झन्डै साढे १५ लाख विदेशी पर्यटक भित्र्यायो। चीनसँग भिसा फ्री नीति सम्झौता गरे लगत्तै सिंगापुरले एक महिनामै १४ लाख ४४ हजार पर्यटकमध्ये तीन लाख २७ हजार चिनियाँ पर्यटक आफ्नो मुलुक भित्र्याएको थियो।

सिंगापुर भन्दा २०४.७९ गुणा ठूलो मुलुक नेपालले अबको १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइराख्दा सिंगापुरले भने यसै वर्ष डेढ करोडभन्दा बढी पर्यटक ल्याउने अनुमान गरेको छ।

भिसा फ्री नीतिले पर्यटकलाई नेपालतर्फ आकर्षण गर्ने राम्रो माध्यम बन्ने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए। ‘सरकारले पर्यटक आकर्षित गर्न अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटीसँगै फ्री भिसा नीतिलाई अवलम्बन गरे कुनै समय पनि पर्यटकको खाँचो हुँदैन्।’

 उनले भने, ‘फेरि फ्री भिसा व्यवस्थाले सरकारलाई ठूलो आर्थिक भार पनि पर्ने होइन।’ उनले थपे, ‘नेपाल आउने भिसा शुल्क त्यति महँगो छैन्, जसले सरकारलाई आर्थिक भार पारोस्। नेपाल भित्रिने पर्यटक प्रमुख आकर्षण प्रवेशाज्ञाको सहजता पनि बन्न सक्छ।’

यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सरकारले विदेशी पर्यटकलार्ई नेपाल आउन आह्वान गरी फ्री भिसाको व्यवस्था गरेको खण्डमा अन्तर्राष्ट्रिय रूपमा राम्रो सन्देश जाने बताए।

‘सरकारले फ्री भिसा ल्याए अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश जान्छ।’ उनले थपे, ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा सरकारले यस्ता नीति तथा व्यवस्था ल्याए नेपालप्रति पर्यटकको थप आकर्षण बढ्छ।’

अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकृत प्रेमप्रसाद दाहालका अनुसार नेपालमा हाल चिनियाँ नागरिकलाई १५० दिन र सार्क मलुकका नागरिकलाई ३० दिनका लागि भिसा फ्री गरिएको छ।

यस्तै कुनै पनि मुलुकका नागरिकलाई व्यक्तिगत रूपमा सरकारले नै निर्णय गरेर कसैलाई फ्री भिसा दिन सक्ने उनले बताए।

सरकारले गत वर्ष (सन् २०२३) मा १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखी पूरा गर्न पनि सफल भएको थियो। सो वर्ष सरकारले राखेको लक्ष्यभन्दा झन्डै १५ हजार बढी १० लाख १४ हजार आठ सय ८२ जना पर्यटक नेपाल भित्रिएका थिए।

यस्तै सरकारले सन् २०२३ देखि २०३१ लाई पर्यटन दशक घोषणा गरेको छ। सन् २०२३ सम्म अर्थात् १० वर्षमा नेपाल सरकारले ३५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ।

नेपालमा पर्यटनको अथाह सम्भावना भए पनि राज्यको नीति तथा व्यवस्था समयसापेक्ष र प्रभावकारी हुन नसक्दा जति लाभ लिनुपर्ने हो त्यति लिन सकिएको छैन। पूर्व पर्यटन मन्त्री सुदन किराँतीले भिसा फ्री नीति ल्याउन सदनमा पहल गरे पनि पारित गराउन सकेनन्। त्यसबेला उनले पर्यटक भित्र्याउन पहल गर्ने भन्दै केही मुलुकका नागरिकलाई भिसा फ्री गर्नुपर्ने व्यवस्था सदनमा लगेका थिए।

नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण र शिकार आरक्ष, ६ वटा संरक्षण क्षेत्र, तराईदेखि उच्च पहाडसम्म फैलिएका १३ वटा मध्यवर्ती क्षेत्र छन्। यस्तै विश्वमा आठ हजार मिटरभन्दा अग्लो १४ हिमालमध्ये आठ वटा हिमालहरू नेपालमै रहेका छन्। यस्तै ६ हजार मिटरभन्दा अग्ला १३ सय भन्दा धेरै हिमालहरू छन्।

नेपाल धार्मिक पर्यटनका दृष्टिले पनि सम्भावना भएको मुलुक हो। बुद्ध धर्मका प्रवर्तक गौतम बुद्ध जन्मस्थल लुम्बिनी, हिन्दू धर्मको लागि पशुपति मन्दिर, मध्यकालीन कला र वास्तुकलाको संग्रहालयको रूपमा चिनिएको भक्तपुर, ललितपुर र पाटन दरबार स्क्वायर, काष्ठकला र विभिन्न देवी देवता रहने विशाल प्यागोडा शैलीका मन्दिरहरू रहेका छन्। जुन भव्य र ऐतिहसिक छ। यसले विश्वलाई आकर्षित गर्न सहयोग गरेको छ।

यसरी पर्यटनको अथाह सम्भावना भए पनि समयसापेक्ष र प्रभावकारी नीति तथा व्यवस्था नहुँदा नेपालको पर्यटन ‘सिजनल’ भएको छ। सरकारले विश्वका पर्यटकहरूलाई नीतिगत रूपमा नै आह्वान गरेर काम गर्नुपर्ने व्यवसायीहरूको धारणा छ। त्यसका निम्ति समय सुहाउँदो नीति तथा व्यवस्था कायम गर्न सके पर्यटक आगमन वृद्धि गर्न कुनै समस्या नरहेको उनीहरूको बुझाइ छ। 

प्रकाशित: ६ चैत्र २०८० १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App