१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रधानमन्त्रीले आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने, यस्तो छ तयारी

पोखरालाई आज नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदैछ। गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आज पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो।

पोखराको फेवाताल किनारस्थित वाराहीघाटमा आयोजित एक औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गर्नेछन्।

अहिले ११ बजे उनले वाराहीघाटमा आयोजना हुने भव्य समारोहकाबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन्।

औपचारिक घोषणा कार्यक्रम अघि झाँकीसहितको र्‍याली निकालिने छ। बसुन्धरा पार्कबाट शुरु हुने र्‍याली वाराहीचोक हुँदै वाराहीघाटमा पुगेर घोषणा कार्यक्रममा परिणत हुने पोखरा महानगरपालिकाका प्रमुख तथा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रम मूल समारोह समितिका प्रमुख धनराज आचार्यले जानकारी दिए।

पोखरालाई पर्यटनको राजधानी घोषणा कार्यक्रमको अवसरमा पोखरेली गहनाका रुपमा परिचित पोखरेली लेखक, वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. मुकुन्द शरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङ र सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व.प्रेम प्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिने मेयर आचार्यले बताए।

घोषणा कार्यक्रमलाई थप आकर्षक बनाउन सांगीतिक प्रस्तुती कार्यक्रम गरिने छ। जहाँ वरिष्ठ गायीका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्यान्ड, प्रमोद खरेल, प्रकाश सपुत र धर्मेन्द्र सेवान गुञ्जिने छन्। सो अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कालाकारहरूको सांगीतिक प्रस्तुतिसमेत रहने मेयर आचार्यले बताए।

औपचारिक घोषणा कार्यक्रम समापनपछि सांगीतिक प्रस्तुती रहन्छ’,उनले भने,‘पोखरालाई चिनाउने गीत संगीत राख्ने र आएका दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले मनोरञ्जनातमक प्रस्तुती राखेका हौं।’

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न बनेको अध्ययन समितिको सुझावका आधारमा पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो। समितिले पर्यटनसँग सम्बद्ध संघसंस्थाको बैठकको निर्णयबाट पोखरालाई पर्यटनको राजधानी बनाउन प्रस्ताव गर्ने र त्यसका आधारमा पोखरा महानगर र गण्डकी प्रदेश सरकारले निर्णय गरेर घोषणा गर्न सुझाव दिएको थियो।

सोहि प्रतिवेदनको सुझाव अनुसार नै पर्यटनसँग सम्बद्ध संघ संस्थाले प्रस्ताव गरेर पोखरा महानगर र प्रदेशको मन्त्री परिषद बैठकले निर्णय गरिसकेकाले आईतबार घोषणा गर्ने तयारी गरिएको लक्ष्मीकुमारी बस्नेतले बताईन्।

तर पूर्वाधार निर्माण नगरी पर्यटनको राजधानी घोषणा गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पर्याप्त पूर्वाधार निर्माण नभएको कुरा स्वीकार्छन्। ‘पर्याप्त पूर्वाधार छैन, यो थप्दै जानुपर्छ। अहिले हामीले जगमात्र हालेका हौं। विस्तारै पूर्वाधार थपेर पूर्ण घर बनाउँछौं’,उनले भने। उनले अहिले पोखराको प्रचारप्रसार गरेर ब्राण्डिङ मात्र गर्न खोजिएको उनको भनाइ छ।

पोखरा आउनैपर्ने ठाउँको रुपमा स्थापित गर्ने भन्दै उनले थपे,‘पोखरा आउनैपर्ने ठाउँका रुपमा अन्र्तराष्ट्रिय स्तरमा ब्राण्डिङ गर्छौं।’ पर्यटनको राजधानी घोषणा गर्दैमा के हुन्छ भनेर प्रश्न गरिरहेकोप्रति आफू जानकार रहेको उनले बताए।

राजधानी घोषणा हुँदैमा केहि हुने त होईन तर त्यसका लागि आवश्यक पूर्वाधारपनि थप्दै जान्छौं,उनले भने,‘यसले गर्दा दीगो पर्यटन विकासमा टेवा पुग्छ। जसले गर्दा जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सृजना र गरिबी निवारणमा उल्लेखनीय प्रगति हुन्छ।’

पर्यटनको राजधानी घोषणा भएपछि संघ, प्रदेश र स्थानिय तह सबैले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उनले बताए। आफूले सकेको महानगर आफैले गर्छ भने केहि मध्यम आयोजना प्रदेशले गर्छ,उनले भने,‘बाँकी पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट अन्र्तराष्ट्रिय फ्लाईट रेगुलर गर्ने, त्रिवेणी–कोरला सडक निर्माण, कालीगण्डकी करिडोर निर्माण, अन्र्तराष्ट्रिय सम्मेलन हल निर्माणलगायतका कामहरु जो हाम्रो बुताबाट हुँदैन ती कार्यहरु गर्नका लागि दवाब र बाध्य बनाउने कामपनि हुन्छ।’

प्रकाशित: ४ चैत्र २०८० १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App