१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नयाँ अर्थमन्त्रीप्रति पुँजी बजार सकारात्मक, साताको पहिलो कारोबार २२.१० अङ्कले वृद्धि

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ। 

अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजी बजारका लगानीकर्ता पनि उत्साहित देखिएका छन्। लामो समयसम्म लगातार घटेको बजार नयाँ सत्ता समीकरण बनेसँगै शेयर बजार सकारात्मक बनेको छ। 

पछिल्ला तीन कारोबारमा नेप्से परिसूचक निरन्तर उकालो लागेको छ। आइतबार नेप्से परिसूचक २२.१० अर्थात् १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ बिन्दुमा बन्द भएको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.२६ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अङ्कले बढेको छ।

आइतबार कारोबारमा आएका ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्से कारोबार रकम करिब ३ अर्ब नजिक पुगेको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको छ। जसमा लघुवित्त उपसमूहको सूचक ४.२१ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, लगानी, होटेल, विकास बैंक, फाइनान्स र म्युचुअल फन्ड उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

नेप्से परिसूचक बढेसँगै विन लघुवित्त र जाल्पा लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्तको ८.७२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.७१ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ७.९४ प्रतिशतले बढेको छ। 

तर यता चिरख्वा हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने पिपुल्स पावरको ६.९५ प्रतिशतले घटेको छ। आइतबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २२ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

प्रकाशित: २७ फाल्गुन २०८० १६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App