१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिमेन्ट निर्यातले जगायो आशा

मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ। सरकारले सिमेन्ट निर्यातलाई प्रोत्साहन गर्ने नीति लिएपछि यो वर्ष पोहोरको तुलनामा सिमेन्ट निर्यात करिब पाँच गुणाले बढेको छ।

चालु आर्थिक वर्ष २०८०-८१ को सात महिनामा करिब २ अर्ब ६ करोड रूपैयाँको सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ। पोहोर एक वर्षमा ७७ करोड ९३ लाख रूपैयाँको मात्र सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो।

चालु आवको पहिलो सात महिनामा निर्यात व्यापार करिब ७ प्रतिशतले खुम्चिएको अवस्थामा सिमेन्ट निर्यात करिब पाँच गुणाले बढेपछि वैदेशिक व्यापारमा आशा जागेको हो।

अन्य वस्तुको निर्यात घटे पनि सिमेन्टको ह्वात्तै बढेको छ। गत वर्ष सरदर मासिक साढे ६ करोड रूपैयाँको सिमेन्ट निर्यात भएको थियो। यो वर्ष मासिक सरदर साढे २९ करोड रूपैयाँको सिमेन्ट निर्यात भइरहेको छ।

मुलुकको निर्यात व्यापारमा सिमेन्टले आशा जगाएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए। मुरारका अर्घाखाँची सिमेन्टका सञ्चालक हुन्। यो वर्ष करिब २ अर्ब रूपैयाँको अर्घाखाँची सिमेन्ट निर्यात गर्ने योजना रहेको मुरारकाले सुनाए। ‘सिमेन्ट उच्च भ्यालु एड हुने वस्तु भएकाले राम्रो सम्भावना छ,’ उनले भने, ‘सरकारले नीतिगत समस्यामा सहजीकरण गरे सिमेन्ट निर्यात धेरै बढ्छ।’

नेपालको सिमेन्ट भारतमा निर्यात हुन्छ। मुरारकाका अनुसार उद्योगीहरूले यो वर्ष करिब ५ अर्ब रूपैयाँको सिमेन्ट निर्यात गर्ने लक्ष्य राखेका छन्। वन, खानी, भन्सारलगायत क्षेत्रका समस्या समाधान गरेर प्रतिस्पर्धी बनाउन सके मुलुकबाट निर्यात हुने वस्तुमा सिमेन्ट एक नम्बरमा आउने उनले बताए।

सरकारले सिमेन्ट निर्यातमा अनुदान दिँदै आएको छ। ‘भारतका कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागत घटाउनुपर्छ,’ उनले भने, ‘सरकारले सहयोग गरे प्रतिस्पर्धा गर्न सक्षम छौं।’ नेपाली सिमेन्टले भारतीय बजारमा क्रमशः आफ्नो प्रभाव विस्तार गर्दै गएकाले निर्यात बढेर जाने उद्योगीको विश्वास छ।

नेपालबाट पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबलीलगायत सिमेन्ट भारत निर्यात भएका छन्। स्वदेशी चुनढुंगा प्रयोग गरेर उत्पादन गरिएको सिमेन्टमा धेरै भ्यालु एड हुने भएकाले मुलुकको व्यापार घाटा न्यूनीकरणमा टेवा पुग्छ।

अधिकांश वस्तुमा मुलुक परिनिर्भर रहेको अवस्थामा सिमेन्टमा आत्मनिर्भर भएर निर्यात हुनु सुखद पक्ष हो। सिमेन्टलाई चाहिने प्रमुख कच्चा पदार्थ चुनढुंगाका खानी मुलुकभित्रै प्रशस्त भएकाले सिमेन्ट र क्लिंकर उद्योग फस्टाएको हो। निजी क्षेत्रले विदेशी प्रविधि ल्याएर गुणस्तरीय सिमेन्ट उत्पादन गरेपछि निर्यातको बजार विस्तार हुँदै जाने सम्भावना देखिएको छ।

सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म नगद अनुदान र १० करोड रूपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्थाले सिमेन्ट उद्योगलाई प्रोत्साहन गरेको छ।

सिमेन्ट उत्पादक संघका अनुसार यहाँका उद्योगले वार्षिक करिब साढे दुई करोड टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता राख्छन्। स्वदेशी बजारमा वार्षिक करिब १ करोड २० लाख टन मात्र खपत हुन्छ। बाँकी सवा करोड मेट्रिक टन सिमेन्ट निर्यात गर्न सकिन्छ।

कर घटाए, विद्युत् महसुलमा सहुलियत दिए, निर्यातमा अनुदान दिए वार्षिक करिब १ खर्ब ५० अर्ब रूपैयाँको सिमेन्ट निर्यात गर्न सकिने क्षमता उद्योगहरूको रहेको संघका अध्यक्ष ध्रुव थापाले बताए। सिमेन्टमा विभिन्न निकायले लगाएको बहुकर हटाउने, विद्युत्को महसुलमा छुट दिएर उत्पादन लागत घटाउनुपर्ने संघको माग छ।

नेपालका लागि सिमेन्ट निर्यात गर्न भारतका युपी, बिहार राम्रा बजार हुन सक्छन्। अहिले उद्योगहरू पूर्ण क्षमतामा चलेका छैनन्। निकासीको बाटो खोज्न सके उद्योगहरू पूर्ण क्षमतामा चल्न सक्छन्। नेपाली उद्योगले विदेशी प्रविधि ल्याएर गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएका छन्।

नेपाल नापतौल तथा गुणस्तर विभागका अनुसार स्वदेशी सिमेन्ट तुलनात्मक रूपमा गुणस्तरीय छन्। नेपाली सिमेन्ट अन्तर्राष्ट्रिय ब्रान्डका सिमेन्टसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको उद्योगीको दाबी छ। निर्यातको अवसर देखेर व्यवसायीले सिमेन्ट उद्योगमा लगानी बढाउँदै लगेका छन्।

नेपालमा सिमेन्ट उत्पादनको इतिहास लामो नभए पनि सरकारी नीतिले छोटो समयमा  फड्को मारेको हो। सरकारी लगानीमा सबैभन्दा पहिले सन् १९७४ मा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो। निजी क्षेत्रले पाँच दर्जन बढी उद्योग सञ्चालन गरेका छन् भने दुईवटा सरकारी सिमेन्ट उद्योग छन्।

२०४६ सालको राजनीतिक परिवर्तनपछि उद्योग, व्यवसाय गर्न चाहने जोकोहीले पनि अनुमति पाउने वातावरण बनेपछि निजी सिमेन्ट उद्योग फस्टाउँदै गएका हुन्। सरकारी नीतिले सिमेन्ट उद्योगलाई प्रोत्साहन गरेको छ। सरकारी सहयोगमा उद्योग खानीसम्म लाइन र सडक पुर्‍याउने काम भएको छ।

निजी क्षेत्रबाट पहिलोपटक २०५३ जेठ २ मा बुटवल सिमेन्ट मिल्स उद्योग विभागमा दर्ता भएको थियो। यसपछि क्रमशः निजी क्षेत्रको लगानीमा सिमेन्ट उद्योगहरू सञ्चालनमा आए। उद्योग विभागका अनुसार अहिलेसम्म एक सयभन्दा बढी सिमेन्ट उद्योगले सञ्चालन अनुमति लिएका छन्।

सिमेन्ट उद्योगमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा नेपालमै पाइने र स्वदेशमै पर्याप्त बजार भएकाले छोटो अवधिमै यो उद्योगमा ठुलो लगानी भित्रिएको हो। विगतमा विदेशबाट क्लिंकर आयात गरेर ग्रान्डिङ गर्दै आएका उद्योगले अहिले धमाधम आफैं उत्पादन गरिरहेका छन्।

अहिले ग्रान्डिङ र क्लिंकर उत्पादन गर्ने दुई प्रकारका उद्योग छन्। नेपालमा प्रशस्त चुनढुंगाको खानी भएकाले उद्योगीले क्लिंकर उत्पादनलाई पनि उच्च प्राथमिकता राखेका हुन्। मुलुकमा सञ्चालित सिमेन्ट उद्योगले ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गर्दै आएका छन्।

प्रकाशित: २० फाल्गुन २०८० ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App