२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बेंसीसहर–चामे सडक आज २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने

फाइल तस्बिर

पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ जिल्ला जोड्ने एक मात्र बेंसीसहर–चामे सडक दुई दिन बन्द हुने भएको छ। सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्युनजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो।

सडकको ढलान भत्किएर जोखिम रहेकाले र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्ने हुँदा उक्त समयसम्मका लागि यातायात पूर्णरुपमा ठप्प हुने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले एक सूचना जारी गरेको छ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्युनजिकै कल्भर्ट वरिपरि भत्किएको र बाटोमा ढुङ्गा निस्किएकाले मर्मत गर्न लागिएको बताए।

सवारी साधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि उक्त ठाउँमा सामान्य मर्मत हुने भए पनि वैकल्पिक सडक नहुँदा सडक बन्द गर्नुपर्ने भएको उनको भनाइ छ।

नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले दानाक्युमा सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम धेरै रहेको जानकारी दिए। उनले विशेषगरी आफ्ना पालिकाका नागरिक र मनाङवासीलाई सो सडकका कारण धेरै दुःख भइरहे पनि समाधान हुन नसकेको बताए।

उक्त स्थानमा रहेको काठेपुल २०७७ असारमा आएको बाढीले बगाएपछि पुनः पटकपटक काठेपुल राखे पनि जोखिम हुँदै आएपछि २०७८ फागुनदेखि चैत ५ सम्म बेँसीसहर चामे सडक बन्द गरेर कल्भर्ट राखिएको थियो।

यतिबेला उक्त कल्भर्टवरिपरि तथा ढलान गरिएको भागमा ढुंगा खसेर भत्किनुका साथै सडक जीर्ण भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ।

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो।

नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकेको थियो। उक्त सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ। –रासस

प्रकाशित: १९ फाल्गुन २०८० ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App