२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

स्थगित भयाे झापाको भ्युटावर उद्घाटन

काम नसकिँदै उद्घाटन गर्ने तयारी गरिएको झापाको दमकस्थित भ्युटावरको उद्घाटन तत्काल नहुने भएको छ।

यसअघि सहरी विकास मन्त्रालयले यही फागुन महिनाभित्रै भ्युटावरको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो। गत फागुन १४ गते भ्युटावर उद्घाटन गर्ने समय मिलाइएको थियो।

त्यसका लागि निमन्त्रणाको चिठीको मस्यौदा समेत तयार गरिएको थियो। तर, काम नसकिँदै भ्युटावरको उद्घाटन गर्न मन्त्रालय हतारिएको समाचार बाहिरिएपछि उद्घाटन कार्यक्रम स्थगित भएको मन्त्रालय स्रोतले बताएको छ। ‘अब कम्तीमा केही समयभित्र भ्युटावर उद्घाटन हुँदैन। भ्युटावरको सबै काम पूरा भएपछि उद्घाटन हुने छ,’ ती कर्मचारीले भने। 

अहिले भ्युटावरको काम ९४ प्रतिशत सकिएको छ। उद्घाटनपछि यसको सञ्चालन र व्यवस्थापनको जिम्मा कसले लिन्छ रु भन्ने अझै टुंगो छैन। यस विषयमा मन्त्रालयले कार्यविधि समेत बनाएको छैन। भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीलाई समेत मन्त्रालयले सहमतिअनुसार रकम भुक्तानी गर्न सकेको छैन। मन्त्रालयले ठेकेदार कम्पनीलाई २३ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ।

करिब एक अर्ब ७० करोड रूपैयाँमा भ्युटावरको ठेक्का चिनियाँ कम्पनी तेडिआइ फिजेदले पाएको छ भने ओम साइराम र आशिष कन्स्ट्रक्सन त्यसका नेपाली पार्टनर हुन्। ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमा झापामा भ्युटावर बनाउने उनले घोषणा गरेका थिए।

यसको शिलान्यास भने दोस्रो पटक प्रधानमन्त्री भएको बेला गरिएको थियो। यो टावर धरहराभन्दा पनि अग्लो छ। धरहरा ७२ मिटर अग्लो छ भने भ्युटावर सय मिटरको छ। त्यसमध्ये २८ मिटर स्टिलको टावर मात्र छ। यसको १८ तलासम्म सर्वसाधारण पुग्न सक्छन् भने प्राविधिकहरू भने स्टिलको टावरसम्मै पुग्ने व्यवस्था मिलाइएको छ। दमक नगरपालिकाका–३ मा करिब पाँच बिगाहा जग्गामा फैलिएको छ।

२०७६ असार २७ गते एक अर्ब ५६ करोड १४ लाख ३९ हजारमा २०७८ असर २७ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। तोकिएको समयमा काम सम्पन्न नभएपछि २०८० असार २७ गतेसम्म म्याद थप गरिएको थियो। त्यसपछि पनि काम सम्पन्न भएन। तेस्रोपटक म्याद थप गरियो। दोस्रो पटक म्याद थप गर्दा १० करोड २७ लाख ८१ हजार रूपैयाँ थप खर्च भई संशोधित सम्झौता एक अर्ब ६६ करोड ४२ लाख २० हजार रूपैयाँ पुगेको थियो।

 

यो पनि पढ्नुहोस्

निर्माण सम्पन्न नहुँदै झापाको ‘भ्यु टावर’ उद्घाटन गर्न हतारियो सरकार, ठेकेदार दबाबमा

 

प्रकाशित: १७ फाल्गुन २०८० १८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App