१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरामा पर्यटकलाई सास्तीः चोकचोकमा झोला तान्न आउँछन्

पोखरा भित्रिने नाकामा कुरेर बस्ने र भित्रिएका पाहुना पछ्याउँदै दुख दिने व्यावसायी र व्यावसायीद्वारा परिचालित व्यक्तिलाई कास्की प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। विभिन्न सवारीमा भित्रिएका आन्तरिक तथा भारतीय पाहुनालाई पोखरा सहर भित्रिने नाकामा कुरेर बस्ने ती व्यावसायीले जर्बजस्ती आफ्नो वा आफुले चाहेको होटलमा जान दवाव दिने गरेका थिए।  

प्रहरीका अनुसार नाकामा बसेका ती व्यावसायी र परिचालित व्यक्तिले विभिन्न सवारीमा भित्रिएका पाहुनालाई पछ्याउने गरेका थिए। पाहुना सवार सवारीलाई जर्बजस्ती रोक्न लगाउँदै आफ्नो वा आफुले चाहेको होटलमा जान दवाव दिने गरेका थिए। प्रहरीका अनुसार नाकामा खटिने ती व्यक्तिमा केही व्यावसायी छन भने केही व्यावसायीले परिचालन गरेका व्यक्ति हुन्। उनीहरुले निजी सवारीमा भित्रिएका वा सार्वजनिक सवारीबाट ओर्लिएका पाहुनालाई जर्बजस्ती आफ्नो होटलमा जान दवाव दिने गरेका थिए।  

कास्की प्रहरीले पाहुनालाई दुव्र्यवहार गरेको आरोपमा पोखराका विभिन्न चोकबाट ९ जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक सूर्य रानाका अनुसार पोखराको पृथ्वीचोक, मुस्ताङचोक लगायतका ठाउँबाट उनीहरु पक्राउ परेका थिए। 

पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनि झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुख हैरानी समेत दिई अभद्र व्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको रानाले बताए। पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाँचदिनका लागि म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको पनि प्रहरी निरिक्षक रानाले बताए।  

‘निजी तथा सार्वजनिक सवारीमा भित्रिएका पाहुनालाई बाटो छेकेर आफुले चाहेको होटलमा जान दवाव दिने गरेको खुलेको छ,’ रानाले भने, ‘मूल्यमा पनि बार्गेनिङ गर्ने र अनावश्यक प्रलोभनमा समेत पार्ने गरेको देखिएको छ।’ पक्राउ परेका उनीहरु केही व्यावसायी होटल व्यावसायी हुन् भने कतिपय व्यावसायीले परिचालन गरेका युवा हुन। परिचालित युवाले पाहुनालाई होटलमा लगिदिए बापत होटलबाट कमिसन पाउने गरेका थिए। प्रहरीका अनुसार निजी तथा सार्वजनिक सवारीमा भित्रिएका पाहुनालाई बाटो छेकेरै उनीहरुले आफुले चाहेको होटलमा जान दवाव दिने गरेका थिए।

पोखरा भित्रिएका पाहुनालाई आफ्नो होटलमा जान दवाव दिएको आरोपमा पक्राउ परेका व्यक्ति। तस्बिर सौजन्यः नेपाल प्रहरी

पर्यटन व्यावसायीका अनुसार पोखरा भित्रिने मूख्य नाकामा पछिल्लो समय केही युवा सवारी सहित खटिने गरेका छन्। पोखरा भित्रिने मूख्य नाका छोरेपाटन, पृथ्वीचोक, सिम्पानी र पोखराभित्रैका बिरौटा, राष्ट्रबैंकचोक लगायतका ठाउँमा ती व्यक्तिहरु खटिने गरेका थिए। दुइ वा चारपांग्रे सवारीमा नाकामा खटिने ती युवाले नाका हुँदै भित्रिएका पाहुनाको पिछा गर्छन। गण्डकी भन्दा बहिर रजिष्टर्ड भएका सवारी कुरेर बस्ने उनीहरुले गाडीमा पाहुना देख्नासाथ पछ्याउने उनीहरुलाई जर्बजस्ती आफ्नो होटलमा लैजाने प्रयास गर्ने गरेका छन। जान नमान्नेलाई धम्क्याउने र भारतीय पाहुनालाई त झनै बढी तनाव दिने गरेको व्यावसायीले बताएका छन। कतिपयले त पाइने भन्दा बढी सुविधा दिने भन्दै पाहुनालाई लोभलालच पनि देखाउने गर्छन।  

पर्यटन व्यावसायीका अनुसार भित्रिएका पाहुनालाई नाकामै रोकेर सास्ती दिने क्रम पछिल्लो समय निकै नै बढेको थियो। पोखरा प्रवेशको नाकामै पाहुनाले सास्ती खेप्नुपरेको गुनासो आएपछि व्यावसायीले प्रहरी गुहारेका थिए। होटल संघ पोखरा र पृथ्वी होटल व्यवसायी समिति सम्वद्ध व्यवसायीले  केहीदिन अघि कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापालाई भेटेर पोखरा भित्रिने मुख्य नाकामा पाहुनाले खेपेको सास्तीबारे जानकारी दिलाएका थिए। त्यसपछि नाकामा प्रहरी परिचालन भएका थिए।  

होटल संघका महासचिव राजेन्द्र ढकालका अनुसार गण्डकी भन्दा बाहिर रजिष्टर्ड भएका सवारीमा भित्रिएका पाहुना चोकचोकमा बसेका ती युवाको प्राथमिकतामा पर्छन। त्यसपछि मोटरसाइकल तेर्साएर गाडी रोक्न लगाउँछन् र आफ्नो होटलमा जान दवाव दिने गरेका छन। 

‘अन्जान पर्यटकलाई सुरुमै तर्साइन्छ। डरत्रास देखाइन्छ, प्रलोभनमा पनि पारिन्छ,’ ढकालले भने, ‘यतिसम्मकी होटल बुकिङ गरेको अवस्थामा रद्द समेत गराइन्छ । बुकिङ गरेको पैसा फिर्ता गराइदिने आश्वासन पनि पाहुनालाई दिने गरिन्छ। आफुले चाहेको होटलमा जान नमाने अनेक धम्की पनि दिने गरिएको छ।’  

बाहिरबाट भित्रिएको पर्यटकको रुपमा पहिचान गरेपछि अन्जान ती पाहुनालाई डर त्रास देखाएर आफु अनुकुलुको होटलमा जान बाध्य पार्ने गरेको ढकालले बताए। ‘पहिलो पटक पोखरा आउनेलाई यस्तो अवस्था पारिन्छ की डरत्रास देखाएर उनीहरुले चाहेको होटलमा जान बाध्य बनाइन्छ,’ ढकालले भने। व्यावसाय गर्ने सबैको अधिकार भएपनि निर्वाध रुपमा अरुलाई असर नगरि गर्नुपर्ने उनले बताए।  

‘नियमभित्र रहेर अनुशासित ढंगबाट व्यावसाय गर्ने हो। पर्यटकलाई त्रास र लोभ देखाएर गरिएको व्यावसाय स्वच्छ हुँदैन,’ उनले भने। उनका अनुसार आन्तरिक र भारतीय पाहुना बढीजसो यस्तो झन्झटमा पर्ने गरेका छन। भारतीय पर्यटकलाई त झनै पहिचान गर्न सहज हुने भएकोले बढी दुख दिने गरेको उनले बताए।  

प्रकाशित: १७ फाल्गुन २०८० १५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App