१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दुधकोसी र माथिल्लो अरूण आयोजनामा लगानी खोज्दै सरकार

दुई ठूला जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने तयारीमा सरकार लागेको छ।

नेपाल विद्युत् प्राधिकरणले चालु आवमा ६३५ मेगावाट क्षमताको दुधकोसी जलविद्युत् आयोजना र १०६१ मेगावाट क्षमताको माथिल्लो अरूण जलविद्युत् आयोजना निर्माणको लागि स्रोत जुटाउने भएको छ। नेपाल विद्युत् प्राधिकरणले दुई ठूला जलविद्युत् आयोजना निर्माणका लागि चार अर्ब अमेरिकी डलर बराबरको रकम आवश्यक पर्ने जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुधकोसी जलविद्युत् आयोजना र माथिल्लो अरूण जलविद्युत् आयोजनाका लागि करिब चार अर्ब अमेरिकी डलरभन्दा धेरै लगानीको स्रोत आवश्यक पर्ने बताए।

 ‘दुधकोसी जलविद्युत् आयोजनाको लागि आवश्यक २२ सय मिलियन अमेरिकी डलर जुटाउने काम भएको छ,’ उनले भने, ‘माथिल्लो अरूण जलविद्युत् आयोजनाको लागि दुई हजार मिलियन अमेरिकी डलर बराबरको स्रोत आवश्यक पर्ने देखिएको छ।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सम्भवत् एक वर्षभित्रै वित्तीय व्यवस्थापन लगायतको काम सम्पन्न गरेर दुई ठूला जलविद्युत् परियोजनाको काम अघि बढाउने बताए।

आगामी वैशाखमा हुने लगानी सम्मेलनमा विश्व बैंकको अगुवाइमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले एक अर्ब वा एक अर्ब २० करोड डलरसम्मको लगानी ढाँचा सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ।

सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्य वृद्धिसहित एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरूणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइने छ।

विश्व बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र  स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ। यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को नेतृत्वमा ५३ अर्ब रूपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयु) भइसकेको छ।

स्वपुँजीमध्ये ५१ प्रतिशत आयोजना प्रवर्धक अपर अरूण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक सेयरबाट र ४९ प्रतिशत सर्वसाधारण सेयरबाट संकलन गरिने छ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश माथिल्लो अरूणमा प्रदेश सरकार, आयोजना रहेको जिल्ला संखुवासभाका स्थानीय तह, नेपाल विद्युत् प्राधिकरण लगायतको संस्थापक सेयर रहने छ। आयोजना प्रभावित बासिन्दा र देशभरका सर्वसाधारण लगायतको ४९ प्रतिशत साधारण सेयर रहने छ।

सन् २०२६को सुरुबाट  निर्माण कार्य थाल्ने लक्ष्यका साथ निर्माण पूर्वका कामहरू भइरहेका छन्। आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: १६ फाल्गुन २०८० ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App