१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

तिला गाउँपालिका : विकटताभित्र समृद्धि खोज्दै

मुलुककै विकट जुम्ला मानिन्छ जुम्ला। तिला गाउँपालिका जिल्लाकै विकट गाउँपालिका मानिन्छ। तिलाका गाउँ बस्तीसम्म पुग्न तीनदेखि चार घन्टा पैदल लाग्छ। आठवटा स्थानीय तह रहेको जुम्लाको तिला गाउँपालिकामा १ देखि ९ वडा छन्। गाउँ बस्तीमा सडक पुगेको छ। तिला नदीमाथि राम्रो पुल नहुँदा बाह्रै महिना सवारी सञ्चालनमा आउँदैनन्।

तर पनि तिला गाउँपालिकाले पछिल्लो समय भौगोलिक विकटताभित्र समृद्धिको यात्रा गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार निर्माणका हिसाबले तिला गाउँपालिका अब्बल देखिएको छ। नीति निर्माण र कार्यान्वयनमा फट्को मारिरहेको छ। संघीय र प्रदेश सरकारका ठूला योजनाहरु मात्रै झन्डै एक दर्जन छन्।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ मा एक दर्जन ठूला योजना निर्माण प्रक्रिया थालेको छ। आफ्नै तीनवटा प्रशासकीय भवन निर्माण गरिसकेको छ। सुविधा सम्पन्न सभाहल, कार्यकक्ष, विषयगत कार्यालयसहित पक्की भवन तयार हुँदैछन्।

गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा पालिकाले गर्नुपर्ने सबै काम भइरहेको बताउँछिन्। चालु आर्थिक वर्षमा ठेक्कामार्फत निर्माण हुने योजना, निर्माणाधीन भएका विकास योजनादेखि अहिलेसम्म तर्जुमा भएका नीति, नियमावली, ऐन, कार्यविधि कार्यन्वयनको अवस्था सन्तोषजनक छ।

मानव विकासका हरेक सुचकांकमा तिला कमजोर छ तर कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार क्षेत्र विकासमा अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए। उनका अनुसार १२ वटा योजना निर्माणका लागि ठेक्का प्रक्रियामा छन्।

१३औं गाउँसभाले १४ वटा विभिन्न नीति, कार्यविधि र निर्देशिका पारित गरेको छ। नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयन, सेवा प्रवाहमा चुस्तता, विकास निर्माणलाई गति दिन, कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध समधुर बनाउन र तिलालाई समग्र जिल्लाको अब्बल गाउँपालिका बनाउन लागिपरेको उनले बताए।

मानेचौरदेखि रिपीसम्म सडक निर्माण, कुडारी बजारदेखि डुंग्रीसम्म सडक स्तरोन्नति, सरस्वती माविको आठकोठे पक्की भवन निर्माण, ज्योति मावि पक्की भवन निर्माण, देउराली मावि आठकोठे पक्की भवन, दविदेउराली आवि ६ कोठे पक्की भवन, राँसोदेखि नदै गुफासम्म सडक निर्माण योजना निर्माणाधीन अवस्थामा छन्।

तुही हँुदै घोडेसीमसम्म कृषि ग्रामीण सडक निर्माण, तिलचौरदेखि लासीसम्म तटबन्धन निर्माण, ग्रामीण कृषि सडक सडक रारादेखि घोडे सुडी मानेचौर राँसा हुँदै खोप्री सडक स्तरोन्नति, रारादेखि पुरु जुम्लाकोट हुँदै मानेचौर सडक स्तरोन्नति र सिता मावि पक्की भवनलगायतका योजना ठेक्कामार्फत चालु आर्थिक वर्षमा निर्माण हुने छन्।

यस्तै विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, सडक आश्रित मानव उद्धार पुर्नस्थापना तथा व्यवस्थापन कार्यविधि, बालमैत्री आचारसंहिता कार्यविधि, बाल विवाहसम्बन्धी रणनीति योजना, बालबालिकासम्बन्धी पञ्चवर्षीय रणनीतिक योजना– २०८० पारित गरेको छ।

विपन्न नागरिक उपचार सहायता कार्यविधि– २०८०, भवन निर्माण मापदण्ड कार्यविधि, जग्गा वर्गीकरण कार्यविधि, तिला गाउँपालिका शिक्षा नियमावली, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना– २०८० र तिला गाउँपालिकाको अवकाश कोष कार्यविधि– २०८० सहितका नीति पारित भएका छन्।

हालसम्म २० वटा ऐन, ४ वटा नियमावली, १६ वटा कार्यविधि, २ वटा निर्देशिका र १ वटा नीति गरी कुल ४३ वटा कानुन निर्माण भई राजपत्रमा प्रकाशन भएर कार्यान्वयनमा छन्।

यता गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले कानुन निर्माणबिना विकास निर्माणदेखि सेवा प्रवाहमा कठिनाइ हुने भएकाले कानुन निर्माणमा पहिलो प्रथामिकता दिएको बताए। उनका अनुसार कानुन निर्माणपछि भौगोलिक रुपमा विकट तिलामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।

नागरिकको सेवा सन्तुष्टिलाई मुख्य प्रथामिकता राखेर काम गरिरहेको उनले जनाए। ‘मानव विकासका विभिन्न सूचकांकमा तिला कमजोर छ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका क्षेत्रमा सन्तोषजनक नतिजा ल्याउने गरी काम गर्नुपर्ने छ। सबैको निःस्वार्थ भूमिका हुनुपर्छ।’

गाउँपालिकाले चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरी कुल ५१ करोड २४ लाख ३७ हजार ७९७ रुपैयाँको विनियोजन गरेकोमा माघ समान्तसम्म १५ करोड ५२ लाख ४६ हजार ९२८ रुपैयाँ खर्च गरेको छ।

प्रकाशित: १२ फाल्गुन २०८० ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App