१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा भित्रिने पाहुनासँग बाटोमै मोलमोलाई

नाका कुर्दै पाहुना पछ्याउँदै

पर्यटकीय सहर पोखरा। पोखरा भित्रिएका पाहुनालाई नाकामा रोकेर जर्बजस्ती आफ्नो होटलमा लैजाने गरेको भन्दै यहाँका व्यावसायीले गुनासो गरेका छन। फाइल तस्बिरः नागरिक

तपाई गण्डकी भन्दा बाहिर ‘रजिष्टर्ड’ भएको सवारी चढेर पोखरा भित्रिँदै हुनुहुन्छ? ख्याल गर्नुस्, तपाईंलाई पोखरा प्रवेशको नाकामै रोक्न जो कोही आउन सक्छ। नाकामा रोक्ने मात्र नभई विभिन्न प्रलोभन पनि पार्न सक्छन्, सोधखोज गर्न सक्छन्। मूल्यमा बार्गेनिङ गर्न सक्छन् वा अनेक लोभलालच र डरत्रास देखाएर आफ्नो होटलमा लैजाने प्रयास गर्नेछन। उनीहरुले भनेको नमाने धम्की पनि खेप्नुपर्ने हुनसक्छ।

पर्यटन व्यावसायीका अनुसार पोखरा भित्रिने मूख्य नाकामा पछिल्लो समय केही युवाहरु सवारी सहित खटिने गरेका छन्। दुइ वा चारपांग्रे सवारीमा नाकामा खटिने ती युवाले नाका हुँदै भित्रिएका पाहुनाको पिछा गर्छन। गण्डकी भन्दा बहिर रजिष्टर्ड भएका सवारी कुरेर बस्ने उनीहरुले गाडीमा पाहुना देख्नासाथ पछ्याउने उनीहरुलाई जर्बजस्ती आफ्नो होटलमा लैजाने प्रयास गर्ने गरेका छन। जान नमान्नेलाई धम्क्याउने र भारतीय पाहुनालाई त झनै बढी तनाव दिने गरेको व्यावसायीले बताएका छन। कतिपयले त पाइने भन्दा बढी सुविधा दिने भन्दै पाहुनालाई लोभलालच पनि देखाउने गर्छन।  

पर्यटन व्यावसायीका अनुसार भित्रिएका पाहुनालाई नाकामै रोकेर सास्ती दिने क्रम पछिल्लो समय निकै नै बढेको छ। पोखरा प्रवेशको नाकामै पाहुनाले सास्ती खेप्नुपरेको गुनासो आएपछि व्यावसायीले प्रहरी गुहारेका छन। होटल संघ पोखरा र पृथ्वी होटल व्यवसायी समिति सम्वद्ध व्यवसायीले कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापालाई भेटेर पोखरा भित्रिने मुख्य नाकामा पाहुनाले खेपेको सास्तीबारे जानकारी दिलाएका छन।  

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखरा भित्रिने विभिन्न नाका कुरेर बसेका ती युवाले त्यहीबाट पर्यटक सवार सवारी पछ्याउँछन। गण्डकी भन्दा बाहिर रजिष्टर्ड भएका सवारी देखेपछि सवारी सहित नाका कुरेर बसेका ती युवाले पाहुना सवार गाडी पछ्याउँछन् र जर्बजस्ती रोक्न लगाउँछन। त्यसपछि सुरु गर्छन बार्गेनिङ।

‘पोखरा घुम्न आउने पाहुनालार्ई नाकामै तनाव दिने गरिएको छ। नाका कुरेर बसेका ती युवाले गण्डकी भन्दा बाहिरको सवारी देखेपछि पछ्याउँदै जर्बजस्ती आफ्नो होटलमा लैजाने प्रयास गर्छन,’ सुवेदीले भने, ‘अनेक सुविधा दिने भन्दै मूल्यमा पनि बार्गेनिङ गर्छ भने कतिपयले त भनेको ठाउँमा जान नमाने धम्याउने समेत गर्छन।’ 

अध्यक्ष सुवेदीका अनुसार नाकामा खटिने ती युवामध्ये केही स्वयं व्यावसायी हुन् भने केहीले कर्मचारीलाई खटाउँछन। कतिपयले भाडामा युवालाई परिचालन गरेर पाहुनालाई होटलमा ल्याउन दवाव लिने गरेका छन।  

‘होटल व्यावसायीबाटै यो काम भएको हो। कुनैपनि हालतमा पाहुना तान्नका लागि उनीहरु प्रयास गर्छन। तर, त्यसले पर्यटन क्षेत्रमा नराम्रो सन्देश दिएको छ। पोखरा भित्रिएका पाहुनालाई नाकामै सकस दिने गरिएको छ। पाहुनालाई धम्क्याउनेदेखि अनेक प्रलोभनमा पार्ने र जर्बजस्ती आफ्नो होटलमा जान दवाव दिने गरिएको छ,’ उनले भने। 

सुवेदीका अनुसार कतिपयले त बुकिङ गरेको होटल समेत रद्द गर्न लगाएर पाहुनालाई आफ्नोमा जान बाध्य पार्ने गरेका छन्। जान नमाने डर धम्की पनि दिने गरेको पाइएको छ । कतिपय पाहुना त्रासैत्रासले पनि उनीहरुसँगै जान बाध्य हुने गरेका छन। एउटै होटलले २÷३ जना मान्छेलाई एउटै नाकामा खटाउने गरेको उनले बताए।  

अध्यक्ष सुवेदीका अनुसार पोखरा भित्रिने मुख्य नाका छोरेपाटन, विरौटाचोक, पृथ्वीचोक सहित सिर्जनाचोक, जिरो किमि, जरेवर, हल्लनचोक, राष्ट्रबैंक चोक र मुख्य सडकमा होटलका कर्मचारी तथा संचालकले पाहुना सवार सवारी साधनलाई पछ्याउने गरेका छन। पाहुना कुर्दै नाकामा पर्खेका उनीहरुमध्ये केहीले त लेखनाथबाटै पछ्याउने गरेका छन र जर्बजस्ती सवारी रोक्न बाध्य पार्ने गरेका छन।  

‘पाहुनाले चाहेको होटलमा समेत जान नपाउने गरि उनीहरुले अवरोध गर्छन। बाहिरबाट भित्रिएको मान्छे भन्ने यकिन गरेपछि उनीहरुको पिछा सुरु हुन्छ,’ उनले भने, ‘गण्डकी भन्दा बाहिर रजिष्टर्ड भएको सवारी देखेपछि पछ्याउन थाल्छन। भारतीय सवारीलाई त झनै दुख दिने गरिएको छ।’ यतिसम्मकी तोकिएको होटलमा समेत जान नपाउने गरि पिछा गर्ने गरेको उनले सुनाए।  

होटल  संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पोखरा भित्रिएका पाहुनालाई गौडो कुरेर बसेका व्यावसायीबाट सकस थपिएको बताउँछन। ‘पोखराको पर्यटन क्षेत्रमा यो डरलाग्दो विकृति हो। पोखरा भित्रिने नाकामा बसेर भित्रिएका पाहुनाको पिछा गर्ने, उनीहरुलाई विभिन्न प्रलोभनमा पार्ने, मूल्यमा बार्गेनिङ गर्ने र पाहुनालाई जर्बजस्ती आफ्नो होटलमा लैजाने गर्दा पोखराबारे नराम्रो सन्देश प्रवाह भएको छ,’ पराजुलीले भने, ‘अझ बढी भारतीय पर्यटकलाई सकस छ। किनकी उनीहरुमा भाषाको पनि समस्या हुन्छ। जहाँ पायो त्यहाँ उजुरबाजुर गर्न पनि सक्दैनन। नयाँ ठाउँमा आएका ती पाहुनालाई सबै विवरण थाहा पनि हुँदैन।’  

उनका अनुसार ठूलो समूहमा भन्दा पनि पारिवारिक रुपमा भित्रिएका, निजी सवारीमा आएका र मोटरसाइकलमा सवार पाहुनालाई चोकचोकमा बसेका युवाले बढी जसो पछ्याउने गर्छन। ‘पाहुना सवार साधन कहाँको हो भन्ने नम्बर प्लेट हेरेर अनुमान गर्छन। गण्डकी बाहिरको सवारी भन्ने पक्का भएपछि सोधखोज र पछ्याउने काम सुरु हुन्छ,’ उनले भने।

पृथ्वी होटल व्यावसायी समितिका अध्यक्ष अम्बिका घिमिरे पोखरा भित्रिने पाहुनाको झोला तानेर जर्बजस्ती आफ्नो होटलमा लैजाने प्रयास गर्दा पर्यटन क्षेत्रबारे गलत सन्देश प्रवाह भएको बताउँछन। उनका अनुसार बसपार्क क्षेत्रमा पनि पाहुनाको झोला तान्न जाने अधिक हुन्छन। सार्वजनिक सवारीमा आएर पृथ्वीचोकमा ओर्लेका ती यात्रुको झोला तानेर जर्बजस्ती आफ्नो सवारीमा हालेर होटल लैजाने गरिएको पनि उनले बताए। बसपार्क क्षेत्रमा पर्यटकको झोला तान्ने लगायत र अन्य विकृतिजन्य कार्य विरुद्ध प्रहरी सचेत हुनुपर्ने घिमिरेको भनाई छ।  

व्यावसायीको गुनासो सुनेका कास्कीका प्रहरी प्रमुख एसपी थापाले बाटोमा पर्यटकलाई सताउनेलाई करावाहि गर्नका लागि प्रहरीको फरक टिम नै परिचालन गर्ने आश्वासन दिए। उनले भने, ‘कसैलाई पवनि जर्बजस्ती गर्न पाँइदैन। जर्बजस्ती आफ्नो होटलमा लैजानेगरि बाटो कुरेर बस्नेलाई कारवाहि गर्नेगरि प्रहरी परिचालन हुनेछ,’ उनले भने।  

प्रकाशित: १० फाल्गुन २०८० १६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App