१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बजेट अपुग हुँदा योजना अधुरा

पहिरो जाँदा बन्द दैलेख महावु हुँदै जुम्ला जाने महत्वाकांक्षी योजना । फाइल तस्विर : नागरिक

योजनामा सम्झौता गर्दा तोकिएभन्दा कम रकम आएपछि दैलेखमा विकास निर्माण योजना अधुरा भएका छन्। पूर्वाधार विकास कार्यालय दैलेखले रकम कम आउँदा लक्ष्यअनुसार निर्माण सम्पन्न नहुँदा योजना अधुरा भएका हुन्।

प्रायः ठुला योजनामा प्रदेश सरकारले बहुवर्षीय तथा स्रोत सुनिश्चितता भएका योजनाहरूमा अपुग रकम पठाउँदा आर्थिक वर्षभित्र सम्पन्न हुनुपर्ने योजना समस्यामा परेका हुन्।

दैलेख सदरमुकामदेखि नौमुले हुँदै जाजरकोटको जुनी जोड्ने सडकको २०७८ साउन २७ गते १९ करोड ९४ लाख १७ हजार रुपैयाँमा सम्झौता भयो। अहिलेसम्म निकासा ४ करोड भयो तर, यो योजनाको आर्थिक वर्षमा म्याद सकिन लाग्दा १३ करोड रुपैयाँ अपुग छ।  

माथिल्लो डुंगेश्वर दुल्लु हुँदै बेउली कालिकोट सडकको पनि ठेकेदारले सम्झौता गरेको म्याद जान थाल्यो तर, रकम अपुगले योजना अन्योल छ। १५ करोड ५८ लाख २५ हजार रुपैयाँमा सम्झौता भएकोमा अहिले रकम अभावमा काम गराउन कठिनाइ भएको कार्यालयले जनाएको छ।

यो योजनामा पनि यो वर्ष ४ करोड विनियोजन भएको छ। योजना सम्पन्न गर्न अपुग ५ करोड रहेको छ। केही योजनाको रकमसहित उदाहरण भए पनि दैलेखमा धेरै योजना बजेट अपुग हुँदा अलपत्र हुने अवस्थामा रहेको छ।

बहुवर्षीय योजनामा बजेट अपुग पठाइने सडकहरूमा रामाघाट–काटीकाँध–सिहासैन–पिपलकोट हुँदै कालिकोट जोड्ने सडक, सांगेतडा–विन्द्रासैनी–चामुण्डा सडक, नारायण नगरभित्र रिगरोड, कोप्ची–कट्टी–बेस्तडा–रुम–चौराठा–देउली सडक, ताराघाट–खरिगैरा गैंडावाज–रानीवन–टाकुरी–काँशीकाँध सडक, सान्ताडा–मेहलतोली–पातिहाल्ना–जाजरकोट सडक, माथिल्लो डुंगेश्वर–दुल्लु वेउली  सडक, श्रीस्थान–डाडीमाडी–चामुण्डा–राकम सडकमा पनि सम्झौता रकमभन्दा कम बजेट आउँदा योजना सम्पन्न गर्न नसकिएको जनाइएको छ।

बहुवर्षीय योजनामा दैलेखमा ५१ करोड, ५८ लाख ७ हजार रकम अपुग बजेट आउँदा समस्या भएको जनाइएको छ। अपुग बजेट हुँदा सम्झौता भएका योजनाहरूका काममा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रभाकर प्रसाद सिंहले बताए। धेरै योजनाको म्याद २०८० भदौं १३ गते सकिएको छ।

म्याद बाँकी रहेका योजनाको पनि रकम अपुग आउँदा सम्झौताअनुसार काम नहुने भएको छ। तीन वर्षका लागि रकम विनियोजन गरी कार्यान्वयनमा आएका बहुवर्षीय योजनाहरूको रकम न्यून पठाउँदा योजना पूर्ण नहुने गरेको प्राविधिक बताउँछन्।

प्रकाशित: १० फाल्गुन २०८० १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App