१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

सुखानीस्थित सहिद सालिकमा माल्यार्पण गर्दै कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्। उनले आज जिल्लाको दक्षिणी क्षेत्रका माई र चुलाचुली गाउँपालिकाको हात्ती प्रभावित क्षेत्रमा पदयात्रा गर्ने कार्यतालिका छ।

यो पदयात्रा बुधबार झापाको मेचीनगर नगरपालिका– १ स्थित प्रसाद गौंडाबाट सुरु भएको थियो। त्यसपछि उनले आज बिहान माई नगरपालिकास्थित सुखानीमा रहेका सहिदको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे।

झापाको दोमुखा हुँदै रतुवामाई वृक्षरोपण आयोजना क्षेत्र हुँदै सताक्षीधाम पुग्नेछन्। इलामस्थित डिभिजन वन कार्यालयका अनुसार त्यसपछि उनी चुलाचुली आर्मी क्याम्प हुँदै चुलाचुली वन सब–डिभिजन र चाँजुखोला पुग्नेछन्।

प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले उनको पदयात्रा पुनः झापा, मोरङ, सुनसरी र उदयपुर हुँदै पुनः सुनसरीको खोर्सानेखाप पुगेर पदयात्रा टुंगिने जनाएको छ। पदयात्रामा प्रदेशका सरकारीलगायत विभिन्न निकायका प्रतिनिधि, संरक्षणकर्मी, सुरक्षाकर्मीलगायत स्थानीय सरोकारवालाको सहभागिता छ।

‘हात्तीको परम्परामा जैविक मार्गको पुनस्र्थापना तथा वासस्थान सुधार, संरक्षण गरी मानव–हाती द्वन्द्व न्यूनीकरण गर्न पनि यो पदयात्राले सघाउने छ, प्रदेशमा मानव–हात्ती सहअस्तित्व कायम राख्न मद्दत पुग्ने छ’, मन्त्रालयले भनेको छ। हात्तीका माध्यमबाट हुने पर्यापर्यटनको सम्भावना अध्ययन गर्नु पनि पदयात्राको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भारत र दक्षिण एसिया क्षेत्रमा रहेका हात्ती भारतीय सीमा क्षेत्र मेचीनगरबाट नेपाल छिरेर वर्षाैंदेखि झापा, सुनसरी, मोरङ हुँदै उदयपुरसम्म पुुगिरहेका छन्। पाँच दशकयता यी जिल्लामा जनसंख्या वृद्धिसँगै बढेको बासस्थानले हात्तीको जैविक मार्ग क्षयीकरण भइरहेको मन्त्रालयले जनाएको छ। यसैकारण हात्तीले मानवीय क्षतिसहित मान्छेका घर–गोठ, खेतबारी र अन्नबाली विनाश गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ।  

हात्तीप्रति प्रतिशोधजन्य व्यवहारबाट कतिपय हात्तीसमेत मर्ने गरेको भन्दै मन्त्रालयले हात्ती संरक्षणमा अहिलेसम्मका उपलब्धि समीक्षा गर्दै थप अभ्यासका लागि यो पदयात्राले आधार तयार गर्ने जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App