२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

राजधानी भित्रिने नागढुंगा–मलेखु सडक बेहाल

संघीय राजधानी काठमाडौं भित्रिने मुख्य लाइफ लाइनको रूपमा चिनिने नागढुंगा–नौबिसे–मलेखु सडक खण्डको प्रगति निकै दयनीय देखिएको छ।

सडकले विश्व बैंकसँगको ऋण साझेदारीमा अघि बढाएको ५६ किलोमिटर सडक स्तरोन्नतिको कामले द्रुत गति लिन नसक्दा सर्वसाधारणले निकै सास्ती खेप्दै आइरहेका छन्।

सरकारले नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडकलाई तीन खण्डमा बाँडेर ठेक्का अघि बढाएको छ। अहिलेसम्म तीनवटै खण्डको प्रगति भने निराशाजनक देखिएको छ।

नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्ड गजुरीका योजना प्रमुख ईश्वरबहादुर रिजालले नागढुंगा–नौबिसे र नौबिसे–मलेखु खण्डको सडकको प्रगति उत्साहजनक नभएको बताए।

 ‘नागढुंगा–नौबिसे सडक खण्डको ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ, यो खण्डको १२.२६ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘यो वर्ष कम्तिमा पनि ७÷८ किलोमिटर सडक कालोपत्र हुने आशा गरेका छौं।’ 

योजना प्रमुख रिजालले निर्माण कम्पनीले सबवेस तयार पार्र्ने काम गरिरहेकाले पनि यो आवमा नागढुंगा–नौबिसे सडक खण्ड स्तरोन्नतिको कामले गति लिने दाबी गरे। सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले नागढुंगा–नौबिसे सडक खण्डको ठेक्का व्यवस्थापनको काम अघि सारेको थियो।

महाशाखाका अनुसार नागढुंगा–नौबिसे खण्डको ठेक्का जियाङ्सुरसगुन जेभीले एक अर्ब ३१ करोड ८४ लाखमा पाएको थियो। योजना कार्यालयका अनुसार पहिलो खण्डको भौतिक प्रगति ४० प्रतिशत भएको छ भने यो सडक खण्डको ठेक्का सम्झौता अनुसार म्याद आगामी जेठ महिनामा सकिँदैछ। योजना प्रमुख रिजालले यो सडक खण्ड अर्काे आर्थिक वर्षसम्म सकिने दाबी गरे।

नौबिसे मलेखु सडक खण्डको काम सुस्त

सरकारले दोस्रो खण्डअन्तर्गत नौबिसे–मलेखु ४३.५४२ किलोमिटरको स्तरोन्नतिको काम अगाडि बढाएको छ। यो सडक खण्डको भौतिक प्रगति भने निकै सुस्त देखिन्छ। दोस्रो खण्ड नौबिसे–मलेखु खण्डको ठेक्का शर्मा/लामा /जिआइसिजी जेभीले पाएको थियो। जेभीले पाँच अर्ब ३३ करोड १९ लाख रूपैयाँमा उक्त खण्ड विस्तारको काम जिम्मा लिएको हो।

यो सडक खण्डको म्याद २०८२ जेठ महिनासम्म रहेको छ। योजना प्रमुख रिजालका अनुसार यो सडक खण्डको भौतिक प्रगति २० प्रतिशत मात्रै भएको छ। निर्माण कम्पनीले दोस्रो खण्डको ४३.५४२ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा ३२ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ।

‘अहिले निर्माण कम्पनीले सडक कालोपत्र गर्न सबवेस तयार पार्ने काम गरिरहेको छ,’ उनले भने, ‘निर्माण कम्पनीको सडकको दायाँबायाँ डे«नेज लगायतका संरचना तयार गरिसकेकाले पनि अब कालोपत्र गर्ने कामले निरन्तरता पाउने आशा गरेका छौं।’

योजना प्रमुख रिजालले निर्माण कम्पनीसँग पर्याप्त बजेट र निर्माण सामग्रीको अभावका कारणले पनि सडक निर्माणको काम केही ढिलासुस्ती हुँदै आइरहेको बताए।

‘निर्माण सामग्रीको चर्काे अभावको कारणले पनि सडक विस्तार कार्य प्रभावित हुँदै आइरहेको छ,’ उनले भने, ‘नागढुंगादेखि मुग्लिनसम्म २५ सय ६५ रुखको कटान आदेश नपाउँदा पनि सडक विस्तारको कार्यले गति लिन सकिरहेको छैन।’ योजना प्रमुख रिजालले निर्माण कम्पनीले पर्याप्त जनशक्ति खटाएर काम गर्न नसकेको पनि बताए।

‘निर्माण कम्पनीसँग बजेटको अभावका कारणले पनि सडक निर्माणको काम प्रभावित हुँदै आइरहेको छ,’ उनले भने, ‘हामीले बारम्बार ठेकदार कम्पनीलाई काम अघि बढाउन अनुरोध गर्दै आइरहेका छौं। ‘नौबिसे–मलेखु खण्ड तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको हो। नौबिसे–मलेखु खण्डको बजारक्षेत्रमा डेडिकेटेड चार र सर्भिस लेन दुई थप गरेर ६ लेनको हुनेछ। खानीखोला, महादेव बेंसी, धार्के बजार, गजुरी लगायतका ठाउँमा ६ लेनको हुनेछ। अरू ठाउँमा कतै तीन लेन हुनेछ। अप्ठेरो भूभागमा दुई लेनको मात्रै हुनेछ। नागढुंगा–मुग्लिन खण्डमा २६ वटा र नागढुंगा–नौबिसे खण्डमा दुईटा मात्रै पुल निर्माण गर्नुपर्नेछ।

त्यो खण्डमा खत्रीपौवा र नौबिसे बजारमा मात्रै पुल बनाउनुपर्छ। नौबिसे–मलेखु खण्डको बजारक्षेत्रमा डेडिकेटेड चार र सर्भिस लेन दुई थप गरेर ६ लेनको हुनेछ। खानीखोला, महादेव बेसी, धार्के बजार, गजुरी लगायत ६ लेनको हुनेछ। यो परियोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो।

योजनाले राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणको लागि नागढुंगा–मुग्लिन सडक खण्डको बजार क्षेत्रमा आकाशेपुल, ब्रेकर सुधारलगायत काम गर्ने जनाएको छ। बजारक्षेत्रमा करिब १९ वटा आकाशे पुल निर्माण गर्ने योजना छ।

योजनाले यो सडक बनेसँगै सवारी दुर्घटना पनि न्यूनीकरण हुने जनाएको छ। व्यापारिक मालसामान बोकेका सवारी साधनलाई उच्च प्रथामिकतामा राखेर हिँड्ने लेनको विकास गरिनेछ।

प्रकाशित: ८ फाल्गुन २०८० १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App