४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कटारी अस्पताललाई हेल्पिङ हर्टको सहयोग

सामग्री लिएपछि अध्यक्ष खानलाई मायाको चिनो प्रदान गर्दै मेयर श्रेष्ठ। तस्बिर : महेश्वर

कटारी अस्पताललाई २७ लाख बराबरको स्वास्थ्य सामग्री तथा औजार उपकरण प्राप्त भएको छ। ‘हेल्पिङ हर्ट फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले अस्पताललाई ती सामग्री प्रदान गरेको हो।

संस्थाले अस्पताललाई एनेस्थेसिया (अप्रेसन गर्नुपहिले बिरामीलाई बेहोस बनाउने) मेसिन, सुत्केरी गराउने डेलिभरी बेडलगायत सामान तथा उपकरण दिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. गौरव साहले बताए। उनका अनुसार अन्य आवश्यक स्वास्थ्य सामग्री पनि संस्थाले दिएको छ।

मङ्गलबार आयोजित एक कार्यक्रममा कटारी नगर प्रमुख तथा अस्पताल विकास समितिका संरक्षक राजेशचन्द्र श्रेष्ठलाई हेल्पिङ हर्टका अध्यक्ष जियाउदिन खान र महासचिव मिराज खानले हस्तान्तरण गरे। सामग्री हस्तान्तरण कार्यक्रममा उपमेयर गीता खड्का, कटारी ४ का वडाध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष भूपेश योञ्जनलगायतको  उपस्थिति थियो।

सामग्री ग्रहण गर्र्दैै मेयर श्रेष्ठले कटारी अस्पताललाई माया गरेकोमा संस्थालाई धन्यवाद दिए। श्रेष्ठले कटारी अस्पताललाई नम’ना स्वास्थ्य संस्थाका रुपमा विकास गर्न चाहेको भन्दै सुरुवाती चरणमा अस्पतालको विकास र भविष्यलाई हेरेर सहयोग गर्ने हेल्पिङ हर्ट र अध्यक्ष तथा महासचिवप्रति आभार व्यक्त गरे।

अस्पताललाई चाँडै स्तरोन्नति गरेर कटारी नगरबासी बिरामी हुँदा उपचार गर्न अन्यत्र कतै जान’ नपर्ने अवस्था सिर्जना गर्ने उद्देश्य लिएको मेयर श्रेष्ठले बताए। प्राप्त सामग्री उपयोग गर्दै जनतालाई सहज र प्रभावकारी उपचार सेवा दिइने पनि मेयर श्रेष्ठले बताए।

अस्पताल प्रमुख डा. साहका अनुसार अन्य सामग्री पनि सहयोग गर्ने हेल्पिङ हर्टले प्रतिबद्धता जनाएको छ। उनका अनुसार आगामी डिसेम्बरमा संस्थाले थप उपकरण सहयोग गर्ने अध्यक्ष र महासचिवको प्रतिबद्धता आएको छ।

संस्थाले दिएका सामग्री तथा उपकरणले अस्पतालको सेवा प्रवाहमा सहयोग पुग्ने पनि उनले बताए। यस्ता सामग्रीले बिरामीलाई उपचार सेवामा महत्वपूर्ण टेवा पुग्ने भन्दै डा. साहले संस्थाप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित: २० वैशाख २०८१ ११:३५ बिहीबार

स्वास्थ्य सामग्री तथा औजार उपकरण कटारी अस्पताल हेल्पिङ हर्ट फर रिलिफ एन्ड डेभलपमेन्ट