१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सुन नदीमा र्‍याफ्टिङ सुरु

सुन नदीमा पहिलोपटक व्यावसायिक र्‍याफ्टिङ गर्दै पर्यटकहरू। तस्बिर : नागरिक

उदयपुरका होटल व्यवसायीहरूले जल विहार (र्‍याफ्टिङ) सुरु गरेका छन्। उदयपयुर र खोटाङको सीमाना भएर बग्ने सुन नदीमा शनिबारदेखि व्यावसायिक रूपमा र्‍याफ्टिङ सञ्चालन गर्न थालिएको हो।

पहिलो दिन २० जना पर्यटकले जल विहार गरेको होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिट बस्नेतले बताए।

अध्यक्ष बस्नेतका अनुसार गाईघाटस्थित होटल यलम्बर ए–वानमा जम्मा भएका १८ पर्यटकलाई रौतामाई गाउँपालिका ५ फोक्सिन्टारसम्म पर्यटक गाडीमा राखेर लगिएको थियो। फोक्सिन्टारबाट डुंगा (बोट) चढेर ¥याफ्टिङ गर्दै त्रियुगा नगरपालिका १४ धाब्लाङसम्मको यात्रा पूरा गरेको उनले बताए।

बिहान ८ः०० बजे गाईघाटबाट हिँडेको टोली ११ः०० बजे फोक्सिन्टार पुगेको थियो। त्यहाँ खाजा खाएर सुन नदीमा र्‍याफ्टिङ थालेको टोली दुई घण्टा १५ मिनटमा नौ किलोमिटर यात्रा तय गर्दै धाब्लाङ आइपुगेको होटल तथा पर्यटन व्यवसायी संघका उपाध्यक्ष सुनिता राईले बताइन् ।

रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईले स्वागत गर्दै बिदाइ गरेको र्‍याफ्टिङ टोलीलाई गन्तव्यस्थल धादिङमा स्थानीय होटल व्यवसायीहरूले माला र अविरले स्वागत गरेका थिए।

पौने ३ बजे धाब्लाङ पुगेको टोली खाना खाएर ४ः३० बजे संघको पर्यटक गाडीमार्फत साँझ ६ः०० गाईघाट ल्याई पुर्‍याएको होटल संघका सचिव इश्वरमान राईले बताए। उनले पहिलो दिनको र्‍याफ्टिङ अत्यन्त उत्साहजनक र सफल भएको बताए।  

सुन नदीमा र्‍याफ्टिङ गर्न अत्यन्त आनन्द आएको सहभागीहरूले बताएका छन्। सुरुको चरण भएकाले पहिलो दिन पुरुष पर्यटकलाई मात्र सहभागी गराइएको अध्यक्ष बस्नेतले बताए।

जाडो जान बाँकी भएकाले पानी अलि चिसै रहेको अनुभव सुनाउँदै अध्यक्ष बस्नेतले अब नियमित रूपमा र्‍याफ्टिङ सञ्चालन गर्ने संघले योजना बनाएको बताए। ‘हामीले पहिलो दिनको र्‍याफ्टिङ एक किसिमले परीक्षणकै रूपमा ग¥यौं’ बस्नेतले भने ‘अब सिजन आएकाले नियमित रूपमा सञ्चालन गर्छौं।’

र्‍याफ्टिङ गर्न संघले निश्चित शूल्क निर्धारण गरेको छ। जम्मा तीन हजार पाँच सय रूपैयाँ शुल्क तिरेपछि गाईघाटदेखि फोक्सिन्टारसम्म खाजाको व्यवस्थासहित पर्यटक गाडीमा लगिनेछ । फोक्सिन्टारदेखि धाब्लाङसम्म र्‍याफ्टिङ गराएपछि त्यहीं रैथाने (अग्र्यानिक) खानेकुराको भोजन गराउने प्याकेज संघले बताएका छन्।

एउटा बोटमा आठजना मात्र चढाउने योजना भए पनि सुरुको दिनमा १० जनालाई र्‍याफ्टिङ गराइएको बस्नेतले बताए। सुन नदीमा र्‍याफ्टिङ सञ्चालन गर्ने गरी रौतामाई गाउँपालिकाले पाँच वर्षअघि नै सफल परीक्षण गरिसकेको थियो।

प्रदेशकै प्रसिद्ध पर्यटकीय तथा धार्मिस्थल रौतापोखरीसँग आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने गरी र्‍याफ्टिङसहितको योजना बनाएर गाउँपालिकाले परीक्षण सफल पारे पनि विश्व महामारी कोभिड १९ को लकडाउनले गर्दा रोकिन गएको थियो।

स्थानीय पर्यटनको विकास र प्रवर्र्धन गर्ने उद्देश्यले संघले र्‍याफ्टिङलाई व्यावसायीकरण गर्दै लाने योजना बनाएको जनाएको छ।

विश्व र्‍याफ्टिङ पर्यटन केन्द्र्रले सुन नदीलाई विश्वका महत्वपूर्ण १० वटा सेतो पानीयुक्त नदीमा सूचीकृत गरी ‘ह्वाईट रिभर र्‍याफ्टिङ’मा समेटेको संघले जनाएको छ। त्यसैले यो नदीमा र्‍याफ्टिङ गर्नु आनन्ददायक र जोखिमरहित प्रमाणित भएको पनि अध्यक्ष बस्नेतले बताएका छन्।

प्रकाशित: ७ फाल्गुन २०८० ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App