२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पालुङ्ग साग बेचेर तीन महिनामा तीन लाख

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– ७ का लक्ष्मी महतोका दम्पतीले पालुङ्गे साग खेती गरेर मासिक लाख रुपैयाँ कमाए। विगत दुई वर्षदेखि व्यावसायिक रूपमा पालुङ्गे साग खेती गर्दै आएका महतो दम्पतीले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गरेका छन्।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मंसिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताइन्। केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनले बताइन्।

‘चैते धानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौं अरू केही गर्नु पर्दैन’, उनले भनिन्, ‘चैते धानभन्दा यो साग खेतीले जीविकोपार्जनमा राहत पुर्‍याएको छ।’

महतो दम्पती साग बिक्री गरेर यामअनुसार तीन महिनामा तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन्। माघमा मात्र पहिलो लट काटिएको सागबाट ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताइन्।

मंसिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ। खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले जानकारी दिइन्।

‘यो सागलाई उपभोक्ताले अत्यधिक रूपमा मन पराएर दैनिक रूपमा माग बढ्दै गएको छ’, उनले भनिन्, ‘पालुङ्गे सागको माग फागुन–चैतमा अझै धेरे हुने गर्दछ।’ गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ।

एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने अनि लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन्। पूर्णरूपमा अर्गानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताए।  

‘यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन। मल विषादी प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अर्गानिक हुन्छ। यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ’, उनले भने। खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुङ्गे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन्।

छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोलेसाग पनि भन्ने गरिएको किसान थारूले बताए। ‘कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ’, उनले भने।

पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ। यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन्। –रासस

प्रकाशित: ६ फाल्गुन २०८० ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App