आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले मुख्यबजार क्षेत्रमा डिप बोरिङ जडान गरेको छ।
सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राख्दै महानगरले पूर्व तयारी थालेको हो।
आगो नियन्त्रणका लागि चाहिने पानी लिन आऊ/जाउमै बढी समय लाग्ने हुँद बढी क्षति नहोस् भन्नका लागि मुख्यबजार क्षेत्र नजिकै डिप बोरिङकाे काम थालेकाे महानगरले जनाएको छ।
शुक्रबार विराटनगर–१० स्थित संसारीमाई स्थानमा महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा डिप बोरिङ जडान गरिएको हो।
बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै दमकललाई पानी भर्न सहज होस् भनेर डिप बोरिङ जडान गरिएको प्रमुख कोइरालाले बताए।
बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न पुष्पलाल चोक जान/आउन केही समय कुर्नुपर्ने बाध्यता रहेको बताउँदै, प्रमुख कोइरालाले भने, ‘पुष्पलाल चोकबाट पानी भरेर आएको दमकलमा पानी सकिएपछि पुनः भर्न पुष्पलाल चोक नै पुग्नु पर्थ्यो। यसले गर्दा जाने आउने समयमा आगलागीबाट बढी क्षति हुने भएकाले बजार क्षेत्र र महानगरको दक्षिण क्षेत्रको मध्यम स्थान पहिचान गरेर बोरिङ गरेको हो। यहाँ बोरिङ गरेपछि आगलागी नियन्त्रण गर्न निकै सहज हुने अपेक्षा गरेका छौं।’
सनसारीमाई स्थानको डिप बोरिङबाट ५ हजार लिटर क्षमताको दमकलमा पानी भर्न २० मिनेट लाग्ने छ। पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकमल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको छ।
चाँडै विराटनगर–१४ मा अर्को डिप बोरिङ जडान गर्ने तयारी रहेकाे महानगरले जनाएको छ।
प्रकाशित: ४ फाल्गुन २०८० १८:५३ शुक्रबार