२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रणय दिवस: गुलाफको माग साढे ३ लाख, कारोबार ५ करोड

गुलाफ फूलको अर्थतन्त्र

भ्यालेन्टाइन वीक (प्रणय दिवसको सप्ताहान्त) मात्रै नेपालभर करिब साढे तीन लाख गोटा गुलाफको फूल (डच रोज) को खपत हुने गरेको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार प्रणय दिवसको सप्ताहान्तमा मात्रै काठमाडौं उपत्यका र बाहिर गरेर करिब तीन लाख ५० हजार भन्दा धेरै गुलाफको फूल किनबेच हुँदा ३/५ करोड रुपैयाँको कारोबार हुने गर्छ। 

भ्यालेन्टाइन वीक फ्रेबु्रअरी ७ तारिखदेखि फ्रेब्रुअरी १४ तारिखसम्म मनाउने गरिनेछ। भ्यालेन्टाइन सप्ताहान्तको अवधिमा रातो रंगको स्टिम गुलाफ फूलको अत्यधिक माग हुने गर्छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) अध्यक्ष मिनबहादुर तामाङले नेपालमा प्रणय दिवसको सप्ताहान्तमा मात्रै तीन लाख ५० हजार गुलाफको फूल खपत हुने दाबी गर्छन्।

‘प्रणय दिवसको सप्ताहान्तको अवसरमा प्रेमी/प्रेमिकाले एक आपसमा गुलाफको फूल दिएर प्रेम साटासाट गर्ने संस्कारको विकास भइसक्यो,’ उनले भने,‘आजभोलि त जुनसुकै उमेर समूहका व्यक्तिले पनि गुलाफको फूल एक आपसमा सट्टा साट गरेर प्रेमको भाव झल्काउने गरेका छन्। त्यसैले पनि यो बेला गुलाफको फूलको अत्यधिक माग हुने गर्छ।’

फ्यानका अनुसार काठमाडौं उपत्यकामा भ्यालेन्टाइन वीक मात्र दुई लाख १० हजार स्टिम गुलाफ खपत हुने गर्छ भने नेपालका बाहिरका अन्य सहरहरूमा भने १ लाख ४० हजार स्टिम गुलाफ खपत हुने गर्छ।

फ्यानका अध्यक्ष तामाङले प्रणय दिवसको अवसरमा ९० प्रतिशत गुलाफको फूल भारतको दिल्ली र कोलकोत्ताबाट आयात गरेर बजारको माग थेग्ने बताउँछन्। 

‘प्रणय दिवसम्ममा मात्रै ३ लाख ५० हजार गोटा गुलाफको फूल आवश्यकता पर्ने गर्छ। सो मध्ये तीन लाख १५ हजार भारतबाट आयात गरिन्छ भने ३५ हजार गोटा भने स्वदेशमा नै उत्पादन हुने गर्छ।’ उनले भने।

फ्यानका अध्यक्ष तामाङले अन्य सिजनमा स्वदेशमा नै उत्पादन भएको गुलाफले बजारको माग थेग्ने भएपनि प्रणय दिवसको अवसरमा भने छिमेकी मुलुक भारतबाट आयात नगरीकनै सुखै नहुने बताउँछन्।

‘जाडो मौसमको कारणले पुसदेखि फागुनसम्मको अवधिमा नेपालमा प्रशस्त रुपमा गुलाफको फूल उत्पादन गर्न सकिदैंन,’ उनले भने ‘प्रणय दिवसमा ९० प्रतिशतभन्दा धेरै फूल भारतबाटै आयात गरेर चलाइने गर्छ। १० प्रतिशत मात्रै स्वदेशमा नै उत्पादन हुने गर्छ।’ 

अध्यक्ष तामाङले फूल व्यवसायीले भारतबाट प्रतिगोटा सरदरमा ६० देखि ८० रुपैयाँको हाराहारीमा मूल्य तिरेर आयात गर्ने बताउँछन्।

प्रेम दिवस अवधि भरिमा झण्डै ३/५ करोडसम्मको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ। फूलको गुणस्तर अनुसार प्रति स्टिम उपभोक्ता मूल्य ८० देखि १२० को हाराहारीमा पर्ने गर्छ। फ्यानका अनुसार गत वर्ष करिब तीन लाख ४८ हजार गोटा स्टिम गुलाबको कारोबार भएको थियो। 

नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन सरदर ८ देखि १० हजार स्टिम गुलाब फूलको माग हुने गर्छ। तर, कोभिड १९ का कारण विगतका वर्षमा उसको उत्पादन घटेको बताइन्छ। 

‘फेबु्रअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा जाडो सिजन नै रहने भएकोले गुलाब फूलको उत्पादन चिसो मौसमका कारण कमी हुने भएकोले अधिक मात्रामा अन्य मुलुकबाट आयात गरी बजार माग पुरा गर्नु पर्ने स्थिति छ,’ अध्यक्ष तामाङले भने ‘प्रेम दिवसको लागि हुने जम्मा बजार मागको झण्डै ६० प्रतिशत काठमाडौं उपत्यकामा मात्र खपत हुने गर्दछ भने बाँकी ४० प्रतिशत अन्य सहरहरूमा खपत हुने गर्दछ।’

नेपालमा विशेष गरी गुलाबको फूलको व्यावसायिक खेती हुने जिल्लाहरुमा विशेष गरी काठमाडौं उपत्यकाभित्रको तीन जिल्लाहरू जसमा काठमाडौं, भक्तपुर र ललितपुर पर्छन्।

त्यसैगरी उपत्यका बाहिरी जिल्लाहरुमा भने चितवन ,काभ्रेपलान्चोकमा हुने गरेको छ। पछिल्लो समय बिस्तारै अन्य जिल्लाहरुमा पनि गुलाब फूलको व्यवसायीक खेती बिस्तार हुने क्रममा रहेको छ।

नेपालमा मौसम अनुकूल हुँदा मात्रै गुलाफको उत्पादन हुने गर्छ भने जाडो सिजनमा भने गुलाफको उत्पादन निकै कम हुने गर्छ।

प्रकाशित: २ फाल्गुन २०८० १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App