१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चौधरी पक्राउको निजी क्षेत्रका उद्योगीद्वारा विरोध

निजी क्षेत्रका छाता संगठनले उद्योगी तथा व्यवसायी अरूण चौधरीलाई पक्राउ गरेकोमा चर्काे विरोध गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चौधरीलाई पक्राउ गरेसँगै निजी क्षेत्रका विभिन्न संघसंगठन बचाउमा उत्रिएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका निजी संघसंगठनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उद्योगी व्यवसायीलाई धरपडक गरेर मानमर्दन गर्ने काम गरेको दाबी गरेका छन्।

नेपाल उद्योग परिसंघले बिहीबार बेलुका पत्रकार सम्मेलन गरेर उद्योग/व्यवसाय गर्दै आएका उद्योगीलाई हठात् पक्राउ गरेर मानमर्दन गर्न खोजेको 
बताएको छ।

परिसंघका अध्यक्ष राजेश अग्रवालले प्रतिष्ठित व्यवसायीलाई सामान्य कानुनी प्रक्रियासमेत नपुर्‍याई पक्राउ गर्नु न्यायोचित नभएको दाबी गरे। ‘यो पक्राउ अघि न प्रहरीले कुनै सूचना दिएको थियो, न त अनुसन्धानका लागि बोलाएको थियो। अरूण चौधरी यो देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी हुनुहुन्छ, उहाँ देश छोडेर कतै जान लाग्नुभएको थिएन,’ अग्रवालले भने ‘तर आज राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजीक्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा पक्राउ गरेको छ। यसप्रति निजीक्षेत्रको घोर आपत्ति छ। यसले सम्पूर्ण उद्योगी/व्यवसायीको मानमर्दन भएको महसुस हामीले गरेका छौं।’

अग्रवालले सरकारले उद्योगी व्यवसायीलाई आफ्नो कुरा राख्ने अवसरसमेत नदिई पक्राउ गरेकोमा विरोध जनाएका छन्। परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक अपराध गरेको विषय प्रमाणित नभइकन हिरासतमा लिने प्रवृत्तिले उद्योगी/व्यवसायीको मनोबल हतोत्साही हुने बताए।

‘वित्तीय अपराध गरेको विषयमा जबसम्म कोही दोषी प्रमाणित हुँदैन। तबसम्म उनीहरूलाई पक्राउ गरेर हिरासतमा राख्नु पक्कै पनि राम्रो होइन्।’

नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले आर्थिक तथा वित्तीय अपराधमा जेल सजायभन्दा पनि आर्थिक सजाय उपयुक्त हुने बताए। ‘अन्य अपराध र आर्थिक अपराधलाई फरकफरक ढंगले हेर्नुपर्छ,’ उनले भने, ‘नेपालमा पहिला थुन्ने अनि मात्रै सुन्ने खालको डरलाग्दो प्रवृत्ति विकास भइरहेको छ। खासमा पहिला सुन्ने र पछि थुन्ने हुनुपर्ने हो।’

यस घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपादेयतालाई उपेक्षा गरेको हो कि भन्ने सोच्न हामीलाई बाध्य तुल्याएको छ। देशको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७७ प्रतिशत माथि छ।

‘सरकारले एकातिर ठूलो महत्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तर रूपमा उद्योगी व्यवसायीहरूमाथि धरपकडको डन्डा बर्साइरहने द्वैध व्यवहारले विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने प्रष्ट छ’ परिसंघको प्रेस वक्तव्यमा भनिएको छ, ‘यसले लगानीको वातावरण विथोल्नेबाहेक अरू केही गर्दैन।’ परिसंघले कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हाम्रो पनि विमति नभएको जनाएको छ।

पक्राउबारे महासंघको ध्यानाकर्षण

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर मुलुक आर्थिक समस्यासँग जुधिरहेको बेला उद्योगी व्यवसायीमाथि भइरहेको धरपडकको चर्काे विरोध जनाएको छ। महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको स्मरण गराएको छ।

‘पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

महासंघले यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ।

महासंघले केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ महासंघ, सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १९ माघ २०८० १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App