१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘पर्यटनले प्रदेश ५ लाई नमूना बनाउन सक्छ’

नेपाल रिपब्लिक मिडियाले अाइतबार बुटवलमा गरेकाे अन्तरक्रिया । तस्बिर : नागरिक

बुटवल – लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन पवद्र्धनका कार्यक्रम अघि बढाउन सके प्रदेश पाँच मुलुककै नमूना बन्ने यहाँका उद्योगी व्यवसायीले बताएका छन् । उनीहरुले पर्यटन विकासलाई प्राथमिकतामा राख्दै औद्योगिक क्षेत्रको स्थापना र विकासमा पनि उत्तिकै ध्यान दिएर अघि बढ्दा प्रशस्तै रोजगारी सिर्जना हुन सक्ने उनीहरुले बताए।

नेपाल रिपब्लिक मिडिया प्रालिले आइतबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा बोल्ने उद्योगी, व्यवसायीले चुनावपछि मुलुकमा राजनीतिक स्थिरताको सुरुवात भएकोले समृद्धिको मार्ग प्रशस्त भएको बताए । ‘अहिलेसम्म राजनीतिक लडाइँमै अल्झियौं, अब समृद्धिको बाटोमा अघि बढ्ने ढोका खुलेको छ,’ नेपाल उद्योग परिसंघका सदस्य एजाज आलमले भने । मुलुकमा लगानीको वातावरण तयार गर्न लगानीमैत्री औद्योगिक नीति बनाउन सरकारको ध्यान जान जरुरी भएको उनको भनाइ छ।

‘२०४६ सालपछि औद्योगिक क्षेत्र स्थापना हुन सकेन, लोडसेडिङ घटेको छ तर उद्योगलाई घटेको छैन, विद्युतको समस्या छ,’ आलमले भने ।
नेपाल चेम्बर अफ कमर्सका सदस्य टंक पोखरेलले लुम्बिनीको विकासले संसारभरका बौद्धमार्गीलाई आर्कषित गर्न सकिने भएकाले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न ध्यान दिनुपर्ने बताए । भैरहवामा निर्माणाधीन विमानस्थल सम्पन्न भएपछि पर्यटक आगमन बढ्ने भएकाले दक्ष पर्यटक गाइड तयार गर्न ध्यान दिनुपर्ने उनले बताए । ‘पर्यटकीय स्थलको भौतिक पूर्वाधारको विकासमात्रै नभएर लुम्बिनी सहित पर्यटकीय, ऐतिहासिक र सांस्कृतिक स्थलको महत्त्वबारे जानकारी दिने गाइडको व्यवस्था हुन आवश्यक छ,’ उनले भने।

नेपाल औषधि व्यवसायी महासंघका पूर्वअध्यक्ष बाबुराम भट्टराईले प्रदेश नम्बर ५ औद्योगिक, पर्यटन र कृषिको विकासको सम्भावना नै सम्भावनाको खानी भएको बताए । ‘पहाडमा जडीबुटीको व्यावसायिक खेती विस्तार गर्न सकिन्छ, तराईमा औद्योगिक र कृषिको व्यावसायिक विस्तार गर्न सके यो प्रदेश समृद्धिको प्रदेश बन्छ,’ उनले भने । उनले पश्चिम पहाडी क्षेत्रको जडीबुटी नेपालगन्ज नाका हुँदै भारततिर गइरहेको र त्यहाँबाट नेपालमा आउँदा महँगो मूल्यमा किन्न औषधि कम्पनीहरु बाध्य भएकाले भारत नपुगी नेपालमै किन्न सक्ने वातावरण बनाउन ध्यान दिनुपर्ने बताए ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना अघि बढाएर यो प्रदेशले लाभ लिन सक्ने बताए । ‘यो आयोजनाबाट हामीले विद्युत्, सिँचाइ र पर्यटन पवद्र्धनको काम गर्न सक्छौं,’ उनले भने।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारीले औद्योगिक विकासले उत्पादन बढाउने मात्र नभई रोजगारी सिर्जना गर्ने भएकाले राज्यले त्यसका लागि चाहिने आवश्यक वातावरण बनाउन ध्यान दिनुपर्ने बताए।

उद्योगी व्यवसायीले उद्योग स्थापना गर्न सहज वातावरण खोजेकोले समस्याको पहिचान गरी समाधान गर्न सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।
सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष सिपी श्रेष्ठले लगानीकर्तालाई आकर्षित  गर्ने खालको आर्थिक नीति भए मुलुकले विकासमा फड्को मार्ने बताए । राज्यको नीति पर्यटन पर्वद्धन गर्ने खालको नभएकोले मुलुकमा पर्यटन विकास अपेक्षित हुन नसकेको उनको भनाइ छ। 

होटल व्यवसायी किशोर जोशीले लुम्बिनीलाई केन्द्रमा राखेर यो क्षेत्रको एकीकृत पर्यटन पवद्र्धन कार्यक्रम अघि सार्नुपर्ने बताए । ‘एकीकृत कार्यक्रम अघि सार्दा पर्यटकीय विकास गर्न सकिन्छ,’ उनले भने।

रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहराले लुम्बिनीलाई पर्यटकीय हब बनाउन सके प्रदेशलाई मात्रै नभएर मुलुकलाई नै समृद्ध बनाउन सघाउ पुर्याउने बताए । राज्यका नीति दीर्घकालीन हुन सके मात्रै लगानीकर्ता आकर्षित गर्न सकिने उनको भनाइ छ।

‘पहिले धमाधम लुम्बिनी करिडोरमा उद्योग खोल्न दिइयो, अब सार्ने वातावरण  बनाइँदैछ । पहिले यहाँ उद्योग खोल्न नदिएको भए उद्योगी, व्यवसायीलाई समस्या हुने थिएन,’ उनले भने, ‘लुम्बिनीको पर्यटकीय विकासमा ध्यान दिएको भए लुम्बिनीले फड्को मार्न सक्थ्यो।’

अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धब कार्कीले यो प्रदेशमा सिमेन्ट उद्योगको प्रचूर सम्भावना भएकाले त्यसका लागि आवश्यक वातावरण बनाउन आग्रह गरे । अहिले मुलुक सिमेन्टमा आत्मनिर्भरताको दिशामा अघि बढेको र दुई वर्षभित्र सिमेन्टको कच्चा पदार्थ क्लिंकरमा पनि आत्मनिर्भर बन्ने उनको भनाइ छ।

सर्वोत्तम सिमेन्टका म्यानेजर नेत्रप्रसाद घिमिरेले उद्योग खोल्न राज्यले पर्याप्त वातावरण नबनाउँदा समस्यामा परेको बताए । उद्योगका लागि भौतिक पूर्वाधार बनाउने ग्यारेन्टी गरी लगानीकर्तालाई उत्साहित बनाउनुपर्ने उनको भनाइ छ।

गोयन्का स्टिलका अमित  गोयन्काले उद्योगीले धेरै खालका सरकारी झन्झट बेहोर्नुपरेको बताउँदै ती झन्झट हटाएर सरकारी निकाय व्यवसायीको सहयोगी बन्नुपर्ने सुझाए ।
नेपाल निर्माण सम्बद्ध व्यवसायी संघका अध्यक्ष बालाराम भट्टराईले औद्योगिक विकासका लािग व्यवस्थित व्यापार पवद्र्धन जरुरी भएको बताए । ‘पूर्वाधार  विकासमा विनियोजन भएको बजेट समयमै खर्च गर्न सक्नुपर्छ, विकास आयोजना तोकिएको लागतमा समयमै सक्नुपर्छ । त्यसो गर्दा मुलुकले समृद्धिको बाटो समात्छ,’ उनले भने।

एशोदा फुड्स प्रालिका बजार प्रबन्धक छवि शर्माले प्रक्रिया पु¥याएर खोलिएका चाउचाउ उद्योगलाई मारमा पार्ने गरी राज्यले चाउचाउलाई जंक फुड्सको व्याख्या गरेर समस्यामा पारेको बताए ।
व्यवसायी गौतम भुसालले स्थानीय करको रुपमा विज्ञापन कर लिने गरेको बताउँदै यो अवैज्ञानिक भएकाले मनपरी लिइएको विज्ञापन कर खारेज गर्न माग गरे। 

पुस्तक व्यवसायी नारायण पौडेलले खुला सीमालाई व्यवस्थित नगर्दा नेपाली उद्योगी, व्यवसायी मारमा परेको बताए । ‘सीमा नाकालाई व्यवस्थित गर्नुपर्छ, त्यसो गर्दा मात्रै मुलुकले सही औद्योगिक विकासको बाटो समात्छ,’ उनले भने ।

प्रकाशित: २८ फाल्गुन २०७४ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App