२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

शिवनाथमा पुग्यो बिजुली

शिवनाथ गाउँपालिकामा पहिलोपटक बिजुली पुगेको छ। विद्युत् प्राधिकरणले विद्युत् सेवा विस्तार गरेपछि गाउँपालिकासम्म बिजुली पुगेको हो।

गाउँमै बिजुली बल्न थालेपछि स्थानीयबासी खुसी भएका छन्। गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले विद्युत् प्रशारण लाइनको उद्घाटन गरे। बर्सौंदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका स्थानीय घरघरमा बिजुली बल्न थालेपछि स्थानीय हर्षित छन्।

भारतसँग सीमा जोडिएको शिवनाथका स्थानीय पारी (भारत) तिरको बत्ती हेर्दै रात काट्दै आएका थिए। सबैको सहयोगले गाउँपालिकासम्म विद्युत् पुगेको छ। अब सबै वडाका घरघरमा विस्तार गरिने अध्यक्ष साउदले बताए।

साँझमा धिपधिप बल्ने सोलार बत्ती। कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता थियो। साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ अब उज्यालो हुने स्थानीय बताउँछन्।

बिजुली पुगेपछि बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् भने गृहिणीलाई पनि घरधन्दा गर्न सहज हुने स्थानीय महामलसिंह साउदले बताए।

गाउँमा बत्ती नहुँदा शिवनाथ लगायत तल्लोस्वराड क्षेत्रमा केही वर्ष अघिदेखि चितुवाले आक्रमण गर्दै आएको छ। अँध्यारोको फाइदा उठाउँदै चितुवाले आक्रमण गर्दा कयौँले ज्यान गुमाउनुका साथै धेरै जना घाइते भएका छन्।

ससानो झाडी हुनु र बत्ती समेत नहुनेले जंगली जनावरलाई सजिलो भएको डिभिजन वन कार्यालयले जनाएको छ। गाउँसम्म बत्ती बल्ने भएपछि स्थानीयको जनजीवन सहज हुने बताइएको छ।

विद्युत्को पहुँचबाट टाढा रहेको जिल्लाकै विकट गाउँ शिवनाथमा विद्युत् सेवा विस्तार भएसँगै अन्य विकास निर्माण कार्यले पनि गति लिने अध्यक्ष साउदले जानकारी दिए।

 ‘गाउँमा बत्ती नभएर मोबाइल चार्ज गर्न पनि समस्या हुने गथ्र्यो’, स्थानीय गम्भीर दयालले भने, ‘अब घरघरमा बिजुली बल्ने आस जागेको छ।’

विद्युतीकरण भएसँगै शिवनाथ गाउँपालिकाका स्थानीयको जीवनस्तरमाथि उठने विद्युत् वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले बताए।

प्रकाशित: १८ माघ २०८० ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App