२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लमजुङमा यस वर्ष एक सय ४३ टन मह उत्पादन

लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले मह उत्पादन बढेको हो।

कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी विजय राज पौडेलका अनुसार यस वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट एक सय ४३ दशमलव तीन टन मह उत्पादन भएकाे छ।

गत वर्ष १० हजार २५ मौरीका घारबाट ३२ टन मात्र मह उत्पादन भएको थियो। उल्लेखित परिमाण गत वर्षको तुलनामा तीन गुनाले बढी हो।

यस वर्ष प्रतिकिलो मह नौ सयदेखि एक हजारसम्ममा बिक्री भएको छ। मह बिक्रीबाट नौ करोडभन्दा बढी आम्दानी भएकाे कृषि ज्ञान केन्द्रले जनाएको छ।

विसं २०७८ मा ११ हजार पाँच सय मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो। त्यस्तै २०७७ सालमा ११ हजार सय वटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो। विसं २०७६ मा नौ हजार पाँच सय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा पाँच हजार नौ सय मौरीका घारबाट ३२ टन मह उत्पादन भएको केन्द्रले जनाएको छ।

जिल्लामा उत्पादित मह काठमाडौँ, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै सहरबजारमा  खपत हुँदै आएको छ।

जिल्लाका कृषकले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन्। नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङको अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका छन्। 

शाखामा जिल्लाका तीन सय ८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध छन्। रासस

प्रकाशित: १४ माघ २०८० १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App