१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बैंकिङ क्षेत्रमा पनि समस्याग्रस्त अर्थतन्त्रको असर

मुलुकको समस्याग्रस्त अर्थतन्त्रको असर बैंकको ‘ब्यालेन्स सिट’ मा परेको छ। अर्थतन्त्रमा देखिएका समस्याले उद्योग, व्यवसाय प्रभावित हुँदा उद्योगी, व्यवसायीले समयमा कर्जाको ब्याज तिर्न सकेका छैनन्।

कालोसूचीमा पर्नेको संख्या पनि बढिरहेको छ। बैंकहरूले ऋण तथा ब्याज उठाउन नसक्दा खराब कर्जा निरन्तर उकालो लागिरहेको छ। बैंकहरूको नाफामा ह्रास आउँदा लगानीकर्ताले बैंकिङ क्षेत्रमा लगानी गरेको खर्बौं लगानीबाट प्रतिफल पाउन सकेका छैनन्।

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो ६ महिना पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकको ब्यालेन्स सिटमा समस्याग्रस्त अर्थतन्त्रको प्रत्यक्ष असर देखिएको छ। वाणिज्य बैंकहरूको नाफा १० प्रतिशतले घटेको छ भने खराब कर्जा ४७ प्रतिशतले वृद्धि भएको छ।

अर्थतन्त्रका समस्याको बाछिटा बैंकिङ क्षेत्रमा परेको सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष प्रबलजंग पाण्डेले बताए। ‘बजारमा माग सिर्जना नहुँदा त्यसको असर व्यवसायमा पर्‍यो,’ पाण्डेले भने, ‘व्यवसाय प्रभावित भएपछि उद्योगी, व्यवसायीले ऋणको साँवा, ब्याज तिर्न सकेका छैनन्।’

आफूहरूले ब्याज घटाए अर्थतन्त्रको समस्या हट्ने बताउँदै आए पनि समाधान नभएको उनले बताए। माग र आपूर्ति कम हुँदा ऋणको आकारअनुसार व्यवसायीले ब्याज तिर्न नसकेको उनले बताए। गत आर्थिक वर्षमा अर्थतन्त्रका अन्य सूचकमा समस्या देखिए पनि बैंकिङ क्षेत्र मजबुत थियो।

बैंकको नाफा घट्दा लगानीकर्ताले प्रतिफल नपाए पनि खराब कर्जा बढ्नु चिन्ताको विषय हो। यसले आर्थिक क्षेत्र संकटमा रहेको देखिन्छ। बैंकहरूको नाफा घट्दा राजस्वसमेत प्रभावित हुने भएकाले त्यसको प्रत्यक्ष असर राज्य सञ्चालनमा पनि पर्छ। सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके विकास निर्माणका काम प्रभावित हुन्छन्।

आर्थिक क्षेत्र संकुचित भएकै कारण अधिकांश वाणिज्य बैंकको खुद नाफा घटेको छ। यो वर्षको पुससम्म २० वाणिज्य बैंकले २८ अर्ब ६८ करोड रूपैयाँ खुद नाफा गरेका छन्। पोहोरको तुलनामा यो करिब ८.४४ प्रतिशतले कमी हो। पोहोर वाणिज्य बैंकहरूको खुद नाफा ३१ अर्ब ३४ करोड रूपैयाँ थियो।

अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंकको ऋण असुलीमा कठिनाइ भएको र नाफासमेत घटेको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले बताए। ‘अर्थतन्त्र स्लोडाउन हुँदा उत्पादन, रोजगारी, आयात, पुनर्भुक्तानीमा असर परेको छ,’ उनले भने, ‘यसको असर बैंकिङ क्षेत्रमा देखियो।’

गत आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिना (पुससम्म) २० वटा वाणिज्य बैंकको खराब कर्जा औसत २.२२ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा करिब ४७ प्रतिशतले बढेर ३.२६ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा ३८७.२३ प्रतिशतसम्मले बढेको छ।

ऋणीहरूले बैंकबाट कर्जा लगेपछि तोकिएको समयमा नतिरेर करिब एक वर्ष भाका नाध्यो भने बैंकहरूले त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गरेका छन्। कुमारी बैंकको खराब कर्जा ४.९७ प्रतिशत पुगेको छ। एसबिआई बैंकको खराब कर्जा ३८७ प्रतिशतसम्मले बढेको बताइएको छ।

गत वर्षको दोस्रो त्रैमासमा ०.४७ प्रतिशत रहेको एसबिआई बैंकको खराब कर्जा ३८७.२३ प्रतिशतले बढेर २.२९ प्रतिशत पुगेको छ। एसबिआई मात्र होइन, सबै बैंकको खराब कर्जा बढेको छ।

बैंक वित्तीय संस्थाले निश्चित समयका लागि कुनै ऋणीलाई दिएको कर्जा समयमा नै उठ्न सकेन भने त्यसलाई खराब कर्जा भनिन्छ। यसलाई बैंकिङ भाषामा ‘नन पर्फमिङ लोन’ अर्थात् ‘एनपिएल’ पनि भनिन्छ। ऋणीले निर्धारित समयमा ऋण चुक्ता गर्न सकेन भने खराब कर्जा बढ्छ।

ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जामा राखिन्छ। उद्योगी, व्यवसायीले व्यवहार बिग्रिएर बैंकलाई तोकिएको समयमा ऋणको ब्याज तथा साँवा तिर्न नसकेपछि खराब कर्जा बढेको हो।

लक्ष्मी सनराइज बैंकको खराब कर्जा करिब २ सय प्रतिशतले बढेर ४.६७ प्रतिशत पुगेको छ। खराब कर्जा प्रभु बैंकको ४.९, हिमालयन बैंकको ४.९५, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४.७५, ग्लोबल आइएमई बैंकको ४.६८, नेपाल बैंकको ४.५, प्राइम बैंकको ४.०७, सिटिजन्स बैंकको ४.०७ र राष्ट्रिय वाणिज्य बैंकको ३.९५ प्रतिशत पुगेको छ। अन्य बैंकको खराब कर्जा तीन प्रतिशतभन्दा कम छ। कृषि विकास बैंक, सिद्धार्थ बैंक र नबिल बैंकले मात्र खराब कर्जा घटाएका छन्।

प्रकाशित: १४ माघ २०८० ००:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App